काठमाडौं- आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं। भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।
काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी? र कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ।
हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ। शहरमा शिक्षित मानिसको बसोवास रहे पनि नैतिकता भनेकै देखिन्छ। शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ। जनचेतना भएर पनि प्रयोगात्मकरूपमा कमजोर छन् शिक्षित शहरका मानिसहरू।
यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकाका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ। देशको संघीय राजधानी हो काठमाडौं। मल्लकालीन सभ्यता र कलाको नगरीकारूपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो। तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ।
काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन। करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ।
खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरू अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ।
पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ। राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ।
यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन्। हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौं यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ। राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन्।
‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई सुहाउँ, चरितार्थ हुन्छ। किनभने राजनीतिक दलका नेताहरूडाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरूलाई बिर्सिएर अझ भनौं आफैंमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन्।
अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ ।
तसर्थ पनि इतिहास बोकेका सैरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ। किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरूक हुनुपर्छ। प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ। मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ । हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ।
त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ । भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ। साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।
सबै तस्बिरहरू- न्यूज एजेन्सी नेपाल