शनिबार, असार १, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बालक बोकेर अनशनरत निहारिकाबारे अदालतको फैसला भन्छ- उनको बलात्कार होइन, बिहे भएको थियो

बालक बोकेर अनशनरत निहारिकाबारे अदालतको फैसला भन्छ- उनको बलात्कार होइन, बिहे भएको थियो

‘यो जाहेरी पर्नुपूर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन ११ गते ‘हक-अधिकार दिलाई पाउँ’ भनी दिएको देखिन्छ,’ फैसलामा भनिएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

अनिल यादव

अनिल यादव

सोमबार, जेठ ३०, २०७९

काठमाडौं-  काखमा २१ महिनाको दूधे बालक च्यापेर चार दिनयता बसन्तरपुरमा अनशनरत छिन्, महोत्तरीकी निहारिका राजपुत। आफूलाई साथीकै दाइले नशालु पदार्थ पिलाएर बलात्कार गरेको तर जिल्ला अदालत धनुषाले अभियुक्तलाई सफाइ दिएको दाबी गरिरहेकी छन्। 

triton college

उच्च अदालत जनकपुरमा पुनरावेदन चढाएको चार महिना बढी हुँदा पनि पेसी नतोकिएपछि न्यायका लागि अनशन बस्न बाध्य भएको उनको तर्क छ। आफ्नो बच्चाको डीएनएन परीक्षण गर्नुपर्ने, बलात्कारीलाई पुनः पक्राउ गरेर अनुसन्धान गरिनुपर्नेलगायत ५ बुँदे माग उनले राखेकी छिन्। 

निहारिकाले बलात्कार आरोप लगाएका प्रतिवादी हुन्, धनुषा श्रीरेश्वरनाथ नगरपालिका–३ का २३ वर्षीय शिवराज श्रेष्ठ। निहारिका न्यायका लागि भौँतारिरहँदा के आधारमा जिल्ला अदालतले उनलाई सफाइ दिएको हो? 

हामीले फैसलाको पूर्णपाठ  केलाउँदा  पीडितकै निवेदनलाई न्यायाधीशले फैसलाको प्रमुख आधार बनाएको देखिएको छ। धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईले ०७८ माघ २४ मा गरेको फैसलाअनुसार पीडितले जर्बजस्ती करणीको जाहेरी पर्नुपूर्व जिल्ला प्रहरी कार्यालय धनुषामा दुई पटक निवेदन चढाएको देखिन्छ। दुवै निवेदनमा पीडितले आरोपीसँगको आफ्नो सम्बन्धलाई ‘श्रीमान्-श्रीमती’ भनेर उल्लेख गरेकी छिन्।

 ‘यो जोहरी पर्नुपुर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन ११ गते ‘हक-अधिकार दिलाई पाउँ’ भनी दिएको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘सो निवेदनमा जाहेरवाली र प्रतिवादी श्रीमान्-श्रीमती हो भनिएको छ। जाहेरी पर्नुपूर्व दिइएका यी निवेदनमा जबर्जस्ती करणी भएको भन्ने विषयमा केही पनि उल्लेख गर्नुभएको देखिँदैन। हस्पिटलमा प्रग्नेन्सी टेस्ट (गर्भ परीक्षण) गराउँदा पनि श्रीमान्-श्रीमती लेखाएको देखिन्छ भने निजले शारीरिक परीक्षण गराउँदा पनि प्रतिवादीसँग म ७-८ महिनादेखि शारीरिक सम्पर्कमा रहेको भनी उल्लेख गरेको पाइन्छ। पीडितको जाहेरी र अदालतमा भएको निजको बकपत्रमा समेत जबर्जस्ती करणी गरेको हो भनी व्यक्त गरेको भएपनि जाहेरीमा उल्लेखित व्यहोरा र अदालतमा भएको बकपत्रको व्यहोरा नमिली परस्परमा बाझिएको र जाहेरीमा उल्लेख गरेभन्दा बढी कुरा अदालतमा लेखाएको पाइन्छ।’

corrent noodles
Metro Mart
‘यो जोहरी पर्नुपुर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाउँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन ११ गते ‘हक-अधिकार दिलाई पाउँ’ भनी दिएको देखिन्छ,’ फैसलामा भनिएको छ।

अदालतको फैसला हेर्दा जाहेरी दिनुअघि पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदनमा आपसी सहमतिमा बिहे गरेको व्यहोरा उल्लेख छ। ‘म निवेदिका स्वतन्त्र भएर आफ्नो कामकाज गरी आएकी कालान्तरमा जनकपुरमा बस्दाका बखत विपक्षी शिवराज श्रेष्ठसँग परिचय भई आपसमा सहमति भएपछि हामी विवाह गरी श्रीमान्-श्रीमती भै बसी काठमाडौंमा बस्न लाग्यौं,’ उनले दिएको त्यो निवेदनमा लेखिएको थियो, ‘काठमाडौंमा बस्दाका बखत संयोगवश म निवेदिका गर्भवती भएपछि विपक्षीले मलाई गर्भपतन गर्न दबाब दिने गर्दथ्यो। मैले इन्कार गरेपछि उसले मलाई छाडी अलपत्र पारेर भाग्यो। निजको मोबाइलमा फोन गर्दा पनि नउठेपछि हाल म आफ्नो मामाघरमा आई बस्न लागेकी हुँ। समय पुगेपछि बच्चा पनि जन्मिने भएको र अब उप्रान्त मैले विपक्षीलाई छाडी बस्न सक्ने अवस्था छैन। त्यसैले म अन्यायमा परेकाले निज विपक्षीलाई यस कार्यालयबाट पक्राउ गरी उसको घरमा बस्न पाउने व्यवस्था मिलाई न्याय प्रदान गरी पाउँ भनी यो निवेदन दिएकी छुँ।’

 

तर, पछि उनले सोही प्रहरी कार्यालयमा दिएको जाहेरीमा भने यस्तो उल्लेख छैन। पीडितको जाहेरीअनुसार आरोपी श्रेष्ठ जनकपुरधाम-४ मा जयनारायण शाहको घरमा कोठा भाडामा बस्दै आएका थिए। पीडित र उनीबीच त्यहीँ चिनजान भएको हो। निहारिकाको जोहरीमा ०७६ कार्तिक ६ गते साँझ ६ बजेतिर कोठामा कोही नभएको मौकामा ललाईफकाई डर, धाकधम्की देखाई, बन्धक बनाएर पटकपटक जबरजस्ती करणी गरेको व्यहोरा उल्लेख छ। निवेदन दिँदा श्रीमान्-श्रीमती लेखेकी उनले जाहेरीमा मन्जुरी बेगर करणी गरेर गर्भवती बनाएको आरोप लगाएकी छन्। त्यसपछि आरोपीको परिवारले गर्भपतनका लागि दबाब र धम्की दिएको प्रसंग पनि जाहेरीमा उल्लेख थियो।  

मुद्दा चलिरहेकै बेला ०७७ भदौ ०५ गते निहारिकाले छोरालाई जन्म दिएको देखिन्छ।

आरोपितको बयान- ट्याटु मेटाउन पैसा नदिँदा यस्तो रिसइबी 
अदालतमा आरोपित श्रेष्ठले इन्कारी बयान दिएका छन्। उनले बकपत्रका क्रममा पीडितलाई आफ्नो डेरामा नलगेको र जबरजस्ती करणी पनि नगरेको भनेका छन्।

‘निज पीडित राजर्षि कलेजमा पढ्छिन् भने म मोडल कलेजमा पढ्दैछु। निजले आफ्नो जाहेरीमा आफू गर्भवती रहेको कुरा उल्लेख गरेकी छिन्, त्यो सम्बन्धमा मलाई केही थाहा छैन। निज पीडितलाई मैले चिनेको छु र मेरो साथी भएको कारणले निजले आफ्नो ट्याटु मेटाउनका लागि मसँग पैसा मागिन्। मैले निजलाई म विद्यार्थी मान्छे भएकाले मसँग पैसा छैन भनेकोमा निजले सोही कुराको रिसइबीले म उपर झुठो व्योहोरा लेखाई जाहेरी दिएको हो,’ उनले अदालतमा दिएको बयानमा उल्लेख छ। 

यद्यपि ०७८ भदौ १३ गते जिल्लाको थुनछेक आदेशबाट भने पुर्पक्षका लागि थुनामा पठाइएका थिए। 

पीडितको बयान  : पटकपटक काठमाडौं लगेर बलात्कार गरियो
यता पीडित निहारिकाले भने आरोपित श्रेष्ठलाई साथीको माध्यमबाट चिनेको बताएकी छिन्। अदालतमा बकपत्रका क्रममा उनले ०७४ सालदेखि नै उनलाई चिनेको उल्लेख गरेकी छिन्। ‘म पढ्ने क्याम्पसमा मेरो पछिपछि आउँथ्यो। मसँग कुरा गर्न विभिन्न धाकधम्की दिन्थ्यो। म तिमीलाई माया गर्छु भन्दै विभिन्न प्रलोभन देखाएर मसँग कुरा गर्दै साथी बनायो। त्यसपछि आफू बसेको जनकपुरको कोठामा लगी जबरजस्ती करणी गर्‍यो,’ उनले बयानमा भनेकी छिन्। 

‘जबरजस्ती करणी कार्य गर्दा पीडित र प्रतिवादीको उमेर अवस्था शारीरिक अवस्था समेतलाई हेर्दा प्रतिवादी एक्लैले पीडितको मुख थुन्ने बोल्न कराउन नदिने, हातखुट्टा चलाउनै नसक्ने गरी अचेटी राख्ने र प्रतिवादीले नै पीडितको सुरुवाल तथा पेन्टीसमेत खोल्ने कार्य गरेको भन्ने पीडितको भनाई स्वभाविक देखिँदैन। पीडितको सहमति विना उल्लेखित कार्य प्रतिवादी एक्लैले एकैपटकमा गर्न सक्ने अवस्था देखिदैन।’

यति मात्रै होइन, उनले बयानका क्रममा आरोपी श्रेष्ठले आफूलाई ‘करणीपछि विभिन्न फोटोहरू तथा भिडियोहरु खिचेको छु भनी धाकधम्की दिएको र पटकपटक काठमाडौं लगेर समेत जबरजस्ती करणी गरेर गर्भवती बनाएको’ आरोप लगाएकी छिन्। त्यसपछि गर्भपतन गराउन दबाब दिएको र नमान्दा ‘तिम्रो पेटमा भएको बच्चा मेरो होइन, अर्कैको हो’ भनेर जवाफ फर्काएको बयानमा उल्लेख छ। ‘मैले निज प्रतिवादीको आमाबुबालाई फोनमार्फत् भन्दा निजको आमाबुबाले पनि मलाई 'गर्भपतन गराऊ, अनि म आफ्नो छोरासँग तिम्रो विवाह गराईदिन्छु' भन्दा मैले नमानी गर्भमा रहेको बच्चालाई जन्म दिन्छु भनी जिप्रका धनुषामा जाहेरी दिएकी हुँ,’ उनको बकपत्रमा लेखिएको छ। 

प्रकाशित: Jun 13, 2022| 15:35 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्