काठमाडौं– जुद्धशमशेरले नेपाली उद्योग क्षेत्रमा क्रान्ति मात्र ल्याएनन्, काठमाडौँमा न्यूरोड र भूगोल पार्क पनि बनाए। वि.सं. १९९० सालको भूकम्पमा मृत्यु भएका मानिसहरुको सम्झनामा बनेको भूगोल पार्क बसन्तपुर दरबार क्षेत्रमा अझै पनि इतिहासको साक्षी बनेर बसेको छ।
यही पार्कमा ढाकाटोपी र कालो स्टकोट लगाएका एक वृद्ध पिपलको बोटमुनि बसेका सधै देखिन्छन्। ती हुन्, उमेरले ७३ पुगेका खड्क बहादुर लामा। विगत सात वर्ष देखि उनी भूगोल पार्कको रेखदेख गरिरहेका छन्। संकटा क्लबले उनको मासिक तलबको व्यवस्था गरेको छ।
बिहानै मानिसहरुको चहलपहल सुरु हुनुअघि नै पूरै पार्क सफा गर्छन् उनी। रेडक्रसले हरेक दिन भूगोल पार्कमा चलाउने रक्तदान अभियानको फर्निचर थन्क्याउने र मिलाएर राख्ने काम पनि उनले नै गर्छन्।
‘पार्क र रेडक्रसको काम गर्दा मासिक पच्चिस हजार कमाइ हुन्छ। सबै तलब गाउँमा श्रीमतीलाई पठाइदिन्छु,’ उनले सुनाए।
गाँउ जानलाई छुट्टी मिल्दैन उनको। त्यसैले दशैँमा तीन दिनको बिदा लिएर गाँउमा पुग्छन् परिवार भेट्न। बाँकी समय भूगोल पार्क भित्र नै बित्छ। पार्कभित्र बनेको सानो कोठामा नै उनको बसाइ छ।
पार्कभित्र शौचालय पनि छ। त्यहाँ अरुले शौच गरेबापत दिने पैसाले नै आफ्नो खानपिन र बाँकी खर्च पुर्याउँछन् उनी। बिहानको र बेलुकीको आठ बजे उनको खाना खाने समय हो। ‘बाहिरको खाना खान मन लाग्दैन। यहीँ एक पाउ मासु ल्याउँछु र खाना बनाउँछु। दिउँसो पार्कमा मानिस धेरै हुने भएर आठ बजे खाना खाइसक्छु,’ उनले भने।
पार्कमा कसैले फोहोर गरेको उनलाई मन पर्दैन, गाली गरिहाल्छन्। हातमा पाइप बोकका हुन्छन् सधैँ, नियम नमान्नेलाई तर्साउन। ‘फोहोर गर्न हुँदैन भनेर बोर्ड राख्दा पनि फोहोर गर्छन् मान्छे। पढेलेखेका भएपनि वातावरण सफा राख्नुपर्छ भन्ने आजकालका मान्छेलाई ज्ञान नै छैन,’ यस्ता देख्दा साह्रै रिस उठ्छ उनलाई।
संकटाको अफिसबाट हरेक दिन बिहानै ‘गोरखापत्र’ र ‘द राइजिङ नेपाल’ पत्रिका ल्याउँछन्। शौचालय गएबापतको पैसा उठाउन बस्दा त्यही पत्रिका पढ्छन् उनी। र, साँझ परेपछि स–सम्मान फिर्ता लगिदिन्छन्। ‘अङ्ग्रेजी पत्रिका पनि पढ्ने बानी लागिसक्यो। पढ्ने बानी लागेपछि धेरै नबुझेपनि पढ्न मन लाग्ने रहेछ,’ उनले भने।
उमेरले सत्तरी कटिसक्दा पनि कुनै युवाको भन्दा कम जोश छैन उनीसित। पहिलोपटक भेट्दा उनको रिसाहा देखिने बानीले जो कोहीलाई पनि नजिक पर्न सङ्कोच पर्छ। बाहिरबाट कठोर देखिए पनि उनी मिलनशार र सहयोगी स्वभावका छन्। चिनेजानेकासँग हाँसखेल र ठट्टा गर्न खुब मन पराउँछन्।
-1654344140.jpg?p=480X320&s=cbb7b9567d07170ab52f4eca5676d412)
पार्कमा सँधै आउने मानिस उनीसँग गफगाफ गर्न आउँछन्। बुढेसकालमा पनि फुर्तिलो शरीर र युवाको जस्तो जोश देखेर उनको प्रशंसा गर्ने धेरै छन्। यो उमेरमा कालो कपाल र स्वस्थ जीवन देखेर मानिसहरु दंग पर्छन्।
‘पहिले हाम्रो जस्तो खानपिन अहिलेको मान्छको भए पो त!,’ उनी भन्दै थिए,‘गाँउघरको ढिँडोले जस्तो भातले तागत दिँदैन। गाउँमा मेरो १०४ वर्ष पुगेका बुबा र १०२ वर्षको आमा अझैपनि तगडा हुनुन्छ।’
हक्की स्वभावका खड्क बहादुर पूर्वसैनिक पनि हुन्। रामेछापको गुन्सी भदौरेमा जन्मेका उनी १७ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भए। ‘गाउँ गाउँमा गएर सेनाको लागि भर्ती गराँउथे। छनोटमा म पनि परेँ र पहिलोपटक काठमाडौँ आएँ,’ उनले भने।
कक्षा ३ सम्म अध्ययन गरेर पनि उनले सेनामा भर्ति भएर देशको सेवा गर्न पाए। ‘अहिलेको जस्तो मापदण्ड थिएन त्यतिबेला। गाउँमा सेनाको लागि छनोट गर्न जानेले शरीरको तलदेखि माथिसम्म हेर्थे। स्वस्थ र निरोगी देखेपछि भर्ती गराइदिन्थे।’
अहिले सरकारी जागिर खानलाई पनि धेरै प्रतिस्पर्धा रहेको उनलाई थाहा छ। ‘तर, म जागिर खान्छु भन्ने सोच्ने र मेहनत गर्नेलाई सरकारी जागिर पनि धेरै मुस्किल होइन,’ उनले भने।
पार्कमा ढाकाटोपी र कालो स्टकोट लगाएका एक वृद्ध पिपलको बोटमुनि बसेका सधै देखिन्छन्। ती हुन्, उमेरले ७३ पुगेका खड्क बहादुर लामा। विगत सात वर्ष देखि उनी भूगोल पार्कको रेखदेख गरिरहेका छन्। संकटा क्लबले उनको मासिक तलबको व्यवस्था गरेको छ।
२०२३ सालमा सेनामा भर्ति भएर उनले १६ वर्ष काम गरे। तालिमका लागि बाहेक उनको अधिकतम समय काठमाडौंमा नै बित्यो। सेना भएर काम गर्दा तालिम लिन पोखरा, झापासम्म पुगेका थिए। तर उनले देश विदेश घुम्ने अवसर र समय पाएनन्। १७ वर्षको उमेरमा काठमाडौं पसेदेखि आजसम्म यही उनको कर्मथलो बनेको छ।
पेन्सन पाकेपछि उनले सेनाबाट जागिर छाडे। ‘हरेक महिना आउने पेन्सनको पैसा खातामै बचत भएर बस्छ। आफूलाई पुग्ने र घरमा पठाउने खर्च त अझै कमाइरहेको छु,’ उनले भने।
नेपाली सेनाबाट निवृत्त भएपछि उनले नगरपालिकामा काम गरे। नगरपालिकामा काम गर्दा काठमाडौंको गल्ली र बजारहरु धेरै घुमेको उनी बताउँछन्। उनले त्यहाँ २० वर्षभन्दा बढी काम गरे। नगरपालिकाबाट अवकास हुँदा उपदानमा पच्चीस लाख पाएँ।
पेन्सन नेपाली सेना भएबापत नै पाउने भएकाले नगरपालिकाबाट उनले पाएनन्। नगरपालिकामा जागिर छाड्दा पाएको पैसाले उनले बूढानिलकण्ठमा घडेरी किने। दुई पटक जागिर खाएर सेवामुक्त भइसक्दा समेत उनलाई काम गर्ने जोश चलिरहेकै थियो। नगरपालिकामा काम छाडेपछि उनले भूगोल पार्कको रेखदेख गर्ने काम गरेका हुन्।
अब भदौसम्म यो काम गर्ने विचारमा छन्। ‘अब बूढेसकाल लाग्यो। परिवारको साथमा राम्रोसित बस्ने मौका कहिल्यै मिलेन। अब घर गएर आराम गर्ने दिन आउन लाग्यो मेरो,’ चाँडै श्रीमती र सन्तानसित बस्न पाउने कुरा सम्झेर फुरुङ्ग पर्छन् उनी।
काठमाडौंमै आफ्नो युवावस्था बिताएका खड्क बाँकी समय पनि यतै बिताउने सोचमा छन्। ‘भएको घडेरीमा सानो घर बनाएर काठमाडौं सर्ने सोचेको छु। अब दुःख गर्न सकिँदैन, आराम गर्नुपर्छ,’ आफ्नो भावी योजना सुनाए उनले। तर, किशोरावस्था देखि नै जागिर खान निस्केका उनलाई घरमा बस्ने बानी पार्न समय लाग्छ भन्ने लागेको छ।
पचास वर्षभन्दा अगाडि काठमाडौं छिरेका खड्क पहिले र अहिलेको काठमाडौंमा आकाश र जमिनको अन्तर पाउँछन्। ‘पहिले काठमाडौंमा जङ्गल हुन्थ्यो। पुरानो बसपार्क छेउमा त राति स्याल पनि कराउँथ्यो। विष्णुमती र बागमती सङ्लो बगेका हुन्थे। अहिलेको जस्तो टाढैबाट नाक थुन्नुपर्ने हुँदैनथ्यो,’ उनी पुरानो दिनहरु सम्झन्छन्।
ठूला–ठूला घर भनेका दुईतले हुन्थ्यो। धरहरा देख्दा आकाश छुने घर जस्तो लाग्थ्यो उनलाई। तर अहिले धरहरा भन्दा ठूला भवनहरु ठडिएका छन्। पहिले त जङ्गल वरिपरि हुने भएकाले चोर र डाका लाग्ने डर पनि हुन्थ्यो रे! ‘अहिले एउटा रुख भेट्टाउन पनि गाह्रो छ काठमाडौंमा, जङ्गल त एकादेशको कथा भइसक्यो,’ उनले भने।
खड्कका अनुसार पहिले चार हजारमा एक रोपनी जग्गा आउँथ्यो, अहिले एउटै घडेरीको करोडौं पर्छ। ‘त्यो बेलामा जङ्गलमा पैसा हालेर खेर फाल्नु हुन्न भन्थे सबैजना। सबैलाई आफ्नै गाउँ प्यारो हुन्थ्यो,’ उनी समयसँगै भएकोमा परिवर्तन देखेर दंग पर्छन्।