शनिबार, भदौ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आर्मी बन्न चाहन्थिन्, नियतिले हातमा टेम्पोको स्टेरिङ थमाइदियो

आर्मी बन्न चाहन्थिन्, नियतिले हातमा टेम्पोको स्टेरिङ थमाइदियो

रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

शुक्रबार, वैशाख २३, २०७९

हरेक दिन गौशालादेखि रत्नपार्कसम्मको बाटो आठ पटक राउन्ड लगाउँछिन्, दिलमाया तामाङ। हरेक दिन करिब बाह्र घण्टासम्म उनको हात टेम्पोको स्टेरिङमा हुन्छ। अफिस, कलेज पुगेका यात्रुदेखि कामबाट घर फर्कंदै गरेका यात्रुलाई उनी हरेक दिन गन्तव्यस्थलसम्म पुर्याउँछिन्। 

विगत छ वर्षदेखि यो उनको दैनिकी हो। जीवनको २६ औँ वसन्त पार गरेकी दिलमाया श्रीमान् र छोरासहित काँडाघारीमा बस्छिन्। बिहान सबेरै उठेर घरको काम भ्याउँछिन्। छोरालाई स्कुलका लागि तयार गर्छिन्, खाना खान्छिन् अनि निस्किन्छन् आफ्नो नियमित कर्ममा।

आठ बजेसम्म ग्यारेजबाट टेम्पो निकालेर ‘क्यु’मा पनि राखिसकेकी हुन्छिन्। भाडामा लिएर टेम्पो चलाइरहेकी उनले गौशाला–रत्नपार्क एक चक्कर लगाएबापत साहुलाई ३५० रुपैयाँ बुझाउनुपर्छ। भन्छिन्, ‘यसरी दिनभरी टेम्पो चलाएबापत साहुलाई पच्चिस सयदेखि चार हजारसम्म तिर्नुपर्छ, त्यसपछि बच्ने १ हजार देखि १२ सय रकम मेरो कमाइ हो।’ 

रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्। ‘घरबाट त विद्यालय जान रोक थिएन तर गाउँमा बुहारी भएर पनि पढ्न गएको भनेर कुरा काट्न थालेपछि पढाइ छाडिदिएँ,’ उनले सुनाइन्। 

हुन त कक्षाकी जेहेनदार छात्रामा पर्ने उनलाई पढेर सरकारी जागिर खाने रहर थियो। तर, पढाइ बीचमै छोड्नुपरेपछि नियतिले उनलाई टेम्पोको स्टेरिङ थमाइदियो। ‘सानैदेखि आर्मी बन्ने सपना थियो। तर सानो छँदै दुईवटै हात भाँच्चियो। यी बाङ्गा हातले कसरी नेपाली सेना बन्नु! त्यसपछि त सपना सपनामै सीमित भयो,’ आफ्ना हात देखाउँदै उनले भनिन्। 

हुन त घरमा बुबाआमालाई लाग्थ्यो, ‘छोरीले पढेर केही हुँदैन। तर दिदीहरुले आफूले पढ्न नपाएको भए पनि उनलाई विद्यालय जान सहयोग गरेका थिए। ‘बाख्राको गोठालो जाने जिम्मा घरमा मलाई दिइएको थियो। दिदीहरुले मेलापात भ्याएर बाख्रा पनि हेरिदिनुहुन्थ्यो। त्यही भएर मैले पढ्न जान पाएकी थिएँ,’ उनले दिदीहरुको साथ सम्झिइन्।  

रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्।

दिलमायाको विवाहको किस्सा पनि रोचक छ। रामेछापको तामाङ समुदायमा जन्मिएकी दिलमाया २०६९ सालमा कक्षा आठमा पढ्दै थिइन्। त्यसबेला उनी अठार वर्षकी थिइन्। एकदिन गाउँकै चिनजानको परिवार उनको घरमा आए। विद्यालयबाट भर्खरै फर्किएकी दिलमाया घर धन्दामा व्यस्त भएकाले पाहुनाहरुको कुरामा खासै ध्यान दिइनन्। ‘जेठी दिदीको विवाह भएको थियो तर मभन्दा ठूला दुई दिदीको हुन बाँकी नै थियो,’ उनले सम्झिइन्, ‘हामी तीन दिदबिहिनी उत्रै थियौं। केटाले मलाई मन पराएकाले मेरो विवाह पक्का भयो। हाम्रो समुदायमा विवाह पक्का भएकै दिन केटासँगै छोरी पठाउने चलन छ। केटा पक्षबाट माग्न आएकै दिन मेरो विवाह भयो।’ 

जब उनको विवाह भयो, त्यसबेला उनको रुची के थियो, परिवारमा कसैलाई चासो थिएन। बुबाआमाले एक्कासी उनको जीवनको लागि लिएको निर्णय चुपचाप स्विकारिन्। 

यो एक दशकमा समाज र सोचमा धेरै परिवर्तन भएको महसुस गरेकी छिन् उनले। उनको बहिनीेले आफ्नो मर्जीको साथीसँग परिवारको अनुमति लिएरै विवाह गरिन्। बहिनीले चाहना अनुसारको जीवनसाथी पाउनु पनि परम्परागत सोचाइमा आएको ठूलो परिवर्तन मान्छिन् उनी।  

विवाह भएको दुई वर्षपछि दिलमाया पतिसँग काठमाडौं आइन्। आत्मनिर्भर बनेरमात्र आत्मसम्मान प्राप्त गर्न सकिने कुरा महसुस गरेकी थिइन्। त्यसैले उनले ढाकाको पछ्यौरा बनाउन सिकिन्। तर राम्रो आम्दानी नहुने देखेपछि अर्को उपाय खोज्न थालिन्। किराना पसल खोलेर केही समय त्यही पसलमा काम गरिन् तर महँगो भाडाले गर्दा चित्तबुझ्दो आम्दानी हुन सकेन। 

दाइले गाडी चलाउने पेशा गर्थे। उनकी दिदीले पनि टेम्पो चलाउथिन्। दिदीले हरेक दिन आम्दानी गरेको पैसा बेलुका गनेको देख्दा उनलाई पनि टेम्पो चलाउने रहर जाग्यो। उनले ड्राइभिङ सेन्टरमा गएर टेम्पो चलाउन सिकिन्। टेम्पो चलाउन पोख्त हुँदासम्म आत्मनिर्भर हुने जोश र जाँगर जागिसकेको थियो। 

तर भर्खरै टेम्पो चलाउन सिकेको भएर पहिलो पटक टेम्पो पाउन मुस्किल भयो। नयाँ चालकलाई साहुले विश्वास गरिहाल्न मानेनन्। दुई दिनसम्म ग्यारेजमा जाँदा पनि उनले टेम्पो चलाउन पाइनन्। उनी सुनाउँछिन्, ‘तेस्रो दिन प्रायः चालक छुट्टीमा रहेछन्। टेम्पो खाली भएपछि एकजना साहुले चलाउन सक्नुहुन्छ भनेर सोधे। मैले सक्छु भन्दै मुन्टो हल्लाएँ। त्यसपछि ग्यारेजबाट डराइ–डराइ टेम्पो निकालेँ। शान्तिनगरको रुट परेको थियो। जाँदा त बाटो चिनेँ तर फर्कंदा बाटो पत्ता लगाउन सकिनँ।’

आफू हराएको थाहा पाएपछि यात्रुलाई बाटो नचिनेको कुरा बताइन्। एकजना यात्रुले उनलाई बाटो देखाइदिए। त्यस दिनयता उनले आजसम्म कुनै पनि बाटो भुलेकी छैनन्। 

त्यस दिन उनले पाँच राउण्ड टेम्पो चलाइन्। पहिलो दिन कमाइ भयो, सात सय पचास रुपैयाँ। हिजोसम्म दिदीले साँझ–साँझ पैसा गनेको हेर्नुपर्थ्यो, आजबाट आफैँ गन्न पाउने भइन्। ‘त्यो पहिलो कमाइले दिदीसँग सापटी लिएको पैसा फिर्ता गरिदिएँ,’ उनले सम्झिइन्।

यत्तिकैमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका श्रीमान् कोरोनाका कारण नेपाल फर्किए। फेरि पनि विदेश जाने तयारीमा नै छन्। अहिले दिलमायाको एक्लो कमाइले परिवार चलेको छ। ‘श्रीमान् घरमै बस्नु भन्नुहुन्छ, तर मलाई परिवार चलाउने जिम्मा पुरुषको मात्रै हो भन्ने लाग्दैन। हाम्रो पनि उत्तिकै जिम्मेवारी हो,’ दिलमाया भन्छिन्।

त्यस दिन उनले पाँच राउण्ड टेम्पो चलाइन्। पहिलो दिन कमाइ भयो, सात सय पचास रुपैयाँ। हिजोसम्म दिदीले साँझ–साँझ पैसा गनेको हेर्नुपर्थ्यो, आजबाट आफैँ गन्न पाउने भइन्। ‘त्यो पहिलो कमाइले दिदीसँग सापटी लिएको पैसा फिर्ता गरिदिएँ,’ उनले सम्झिइन्।

पढाइमा वर्षौंको लगानी गरेर विवाहपछि घरमै थन्किएका कैयौं महिला देखेकी छिन् उनले। तर, आफूले मनले केही गर्न चाहेमा कसैले पनि रोक्न नसक्ने उनको बुझाइ छ। उनले गर्भावस्थामा पनि आफ्नो कामलाई निरन्तरता दिइन्। आठ महिनाको गर्भ हुँदासम्म उनले टेम्पो चलाइन्। ‘दिनभरि काम गर्दा खासै केही असहज हुँदैनथ्यो तर राति सुत्नलाई अप्ठेरो हुन्थ्यो,’ उनले सुनाइन्, ‘तर पनि आठ महिनासम्म टेम्पो चलाएँ।’ 

उनले शल्यक्रिया गरेर छोरा जन्माउनुपर्यो। कहिले टाँका फुस्कने त कहिले घाउ पाकेर उनको सुत्केरी अवस्था झन् पीडादायी बन्यो। प्रसव पीडा सम्झँदा आज पनि उनका आँखा रसाउँछन्। छोरा १० महिनाको भएपछि उनी काममा फर्किइन्। दिनको ३–४ राउण्ड टेम्पो चलाएपछि उनी डेरा फर्किन्थिन्। श्रीमान् विदेशमा हुँदा दिदीसँग बच्चा राखेर काम गरेकी उनले अहिले दिनको बाह्र घण्टा भन्दा बढी समय टेम्पो चलाउनमा बिताउँछिन्। अर्को सन्तानको चाहना छैन उनलाई। भएको एउटा सन्तानलार्ई नै राम्रोसँग हुर्काउन–पढाउन मन छ। 

अहिले साहुको टेम्पो चलाइरहेकी दिलमायालाई आफ्नै टेम्पो किन्न मन छ। भन्छिन्, ‘टेम्पो किन्नलाई नै २० लाख लाग्छ। ऋण गरेर भए पनि आफ्नै किनेर चलाउने सोचमा छु। हेरौं के हुन्छ।’

चाडबाडको समयमा गाडी नपाएर सार्वजनिक बसमा कोचिएर घर जाँदा उनलाई आफ्नै गाडी चलाएर घरसम्म कहिले जानु जस्तो लाग्छ। दिलमायाको त सरकारी जागिर खाने सपना पूरा हुन सकेन। तर उनको चाहना छ, ‘छोराको सपनाचाहिँ उनको जस्तै अधुरो नहोस्।’ भन्छिन्, ‘बरु यसको लागि जिन्दगीभर यो स्टेरिङ समाउँदै गौशाला–रत्नपार्क चक्कर लगाउनु किन नपरोस्, म लगाइदिन्छु।’

प्रकाशित: May 06, 2022| 08:01 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्