काठमाडौंस्थित गणेशमान सिंह फाउन्डेसनको कार्यालयमा गफिन पुगेका हामीलाई स्मृतिमग्न हुँदै सिर्जना सिंहले सबैभन्दा पहिला एउटा ‘कार्ड’को कथा सुनाइन्। सदस्यता कार्डको।
‘मेरो रुमालभित्र राखिएको कार्डले एउटा राजनीतिक प्रतिबद्धताको खुशी मात्र दिन्थेन। त्यही कार्डका कारण प्रहरी प्रशासनको भय पनि त्यत्तिकै थियो,' काठमाडौंबाट कांग्रेसले मेयरका लागि सिफारिसको सूचीमा परेकी सिंहले २०३३ सालमा पहिलो पटक कांग्रेस सदस्यताको कार्ड पाएकी रहेछिन्। जतिबेला उनी ९ कक्षामा पढ्दै थिइन्।
सिंहका अनुसार त्यसबेला श्याम कुमार श्रेष्ठ गोरखा (माइती जिल्ला) कै सक्रिय कांग्रेस नेता थिए। कांग्रेसको सदस्यता बाँड्ने क्रममा उनै कुमारले सिंहलाई पनि कार्ड सुम्पिए। खासमा राजावादीहरुले राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको सदस्यताको बिस्कुन लगाएकाले त्यसको ‘काउन्टर’मा कांग्रेसले पनि सदस्यता वितरणलाई तीव्र बनाएको थियो।
नेपाली कांग्रेसको सदस्यता लिँदै गर्दा सिंहलगायतका विद्यार्थीमा एकखाले ‘डर’ पसिसकेको थियो। कारण, ‘सदस्यता लिएपछि घरमा अवरोध आउन सक्छ। घरको मान्छेलाई पनि प्रहरीले पक्रन सक्छ। त्यसैले यो सदस्यता कार्ड गोप्य रुपमा राख्नू,’ भन्दै विद्यार्थीलाई प्रशिक्षित गरिएको थियो।
त्यसपछि सिंहले उक्त कार्ड लुकाएरै राखिन्। तीनचार ओटा रुमालको पोकोभित्र उनले त्यो कार्ड लुकाएकी थिइन्। एसएलसी दिएपछि ०३४ सालमा उनी काठमाडौं आइन्। काठमाडौं आउँदा उनमा राजनीतीको रस मज्जैले पसिसकेको थियो। त्यसैले कक्षा ९ मा पाएको त्यो कार्ड पनि काठमाडौं ल्याइन्।