२०७० सालको हिउँद याम। जाडोको मौसममा न्यायो प्रेममा थिए रंगकर्मी जीवन भट्टराई। त्यो न्यानो प्रेमको ओत लगाइदिएकी थिइन् रंगकर्मी लक्ष्मी बर्देवाले। ०७० सालमै जीवनका दाइ चिरञ्जीवी भट्टराई जापानबाट काठमाडौं ओर्लिएका थिए। लामो समयपछि दाजुभाइले त्यो साँझ सँगै कटाए।
त्यही दिन चिरञ्जीवीलाई थाहा भयो, जीवन र लक्ष्मीबीच प्रेम अंकुराइरहेको रहेछ। तर, चिरञ्जीवीले जीवनलाई केही भनेनन्। भाइको प्रेम सम्बन्धप्रति मौन रहे।
केही दिनपछि दाजुभाइ हेटौँडा पुगे, जहाँ उनीहरुको स्थायी घर थियो। त्यहाँ स्थायी घर मात्रै थिएन, त्यहाँ उनीहरुको बाल्यकालीन समयका अवयव पनि सँगै थिए। वर्षौंपछि भेट भएका दाजुभाइ स्मृतिहरुमा रङमङिदै गए। तर, काठमाडौंमा मौन रहेका चिरञ्जीवीको घर पुगेपछि मुख खुल्यो, ‘कान्छो त यस्तो–यस्तो केटीको प्रेममा छ है।’
अचानक दाइको मुखबाट निस्किएको वाक्यले जीवनको अनुहार धमिलो बनायो, मन अमिलो बनायो। उनको मुटुले रफ्तार लियो। ढुकढुकीको रफ्तार पनि बढ्यो। एकै सवाल थियो जीवनसँग, ‘अब परिवारले के भन्ला?’
जीवनसँग सवाल मात्रै थियो, जवाफ थिएन। बुवाले चिरञ्जीवीको कुरा पत्याएनन्। पत्याउने आधार पनि थिएन, बाआमाका लागि जीवन सोझो र भलादमी छोरा पनि थिए। गुणी र विश्वासिला थिए।
आमाको प्रतिक्रिया थियो, ‘यस्तो गर्न पाउँदैनस् है। नहुने कुरामा जोड गर्ने होइन। तैंले हाम्रो नाक काट्ने काम नगरेस्। गाउँ, समाज, इज्जत, प्रतिष्ठा बिर्सिन पाउँदैनस्।’
आमाको बोलीले जीवनको मनमा बज्र हान्यो। त्यही बज्रको घाउ बोकेर काठमाडौं फिरे। तर, बज्रको घाउभन्दा धेरै विशाल प्रेमको सागरमा डुबिसकेका थिए जीवन। पहिलोपटक सहर छिर्दा कसै न कसैको पहिलो साथी बन्छ कोही। जसले सहरको गल्ली र चोकहरुसँग परिचित मात्रै गराउँदैन, सहरलाई चिहाउने आँखीझ्यालसम्म पनि पुर्याइदिन्छ। लक्ष्मी जीवनका लागि त्यही साथी थिइन्। अनामनगरदेखि धोवीखोलाका छेवैछेउ लक्ष्मीलाई घरसम्म पुर्याउँथे। लक्ष्मीलाई घरसम्मै पुर्याएपछि छुट्टिन गाह्रो हुन्थ्यो। दुवै त्यतै कतै चिया–कफी पिएर बस्थे र बल्लतल्ल आफैंलाई सम्झाएर गह्रौं मन लिएर फिर्थे।
त्यसबेला उनीहरुलाई कसैले चिन्थ्यो भने मैतीदेवी मन्दिरले मात्रै चिन्थ्यो। अन्जान भीडमा निस्फिक्री हिँड्थे। नयाँ कविताको पहिलो पाठक, स्रोता बन्थे। रंगमञ्चको छेउछाउमा हुने जीवनको संघर्षमा दुवैको हात र साथ सँगै हुन्थ्यो।
आमाको बोली र लक्ष्मीको माया सँगसँगै बोकेर काठमाडौं फिरेका जीवनको आँखामा सबै घटनाहरु सरसर्ती घुमे। तर, लक्ष्मीको प्रेमले जित्यो। आमाको बोलीले बनाएको घाउमा लक्ष्मीको एक मुस्कानले मलमपट्टी गरिदियो।
अन्ततः परिवारले थाहै नपाई लक्ष्मीसँग लगनगाँठो कसिदिए। जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिष्करणमा परे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन त बोलाउनुहुन्छ बाआमाले।’
000
लक्ष्मीसँगको प्रेमलाई विवाहमा परिणत गरेको दुई वर्षसम्म घरमा फिटिक्क कुराकानी भएन। पछिल्लो एक वर्षदेखि त उनले फोन पनि गरेका छैनन्। अचेल उनको फोन बजिरहँदा लाग्छ, ‘पक्कै घरबाटै आयो फोन।’ तर, उनको आशाको दियो एकैछिनमा झ्याप्पै निभ्छ। हतारिएर मोबाइलको स्क्रिन हेर्छन्। फोन कल घरको होइन, अरु कसैको हुन्छ। अन्ततः निराशाको गहिरो खाडलमा पर्छन्। भन्छन्, ‘बुवाआमाले हामी दुवैलाई घरमा बोलाउनका लागि कल गर्नुभएको हो कि भन्ने मनमा अनायसै आइरहन्छ।’
स्वाभावैले कम बोल्छन् जीवन। बाल्यकालदेखि कविता कोर्थे। स्कुले जीवनमा पनि सरल र सिधा विद्यार्थी थिए। कान्छो छोरो सोझो छ भनेर आमालाई चिन्ता हुन्थो। त्यही छोरोले एकदिन दलित युवतीसँग विवाह गरेर आमाबाको चित्त दुखाइदिए।
जीवनको कलिलो आँखाले छरछिमेकमा छुवाछुत देखेको थियो। तर, आफ्नो परिवारले विभेद गरेको भने कहिल्यै देखेनन्। बुवा नेपाली सेनाका जागिरे थिए। तर, आमाको पूजापाठ र धर्मकर्मप्रतिको चासोले गैरदलित हुनुको छनक भने उनलाई महसुस भइरह्यो।
त्यसैले पनि बुवाको भन्दा आमाले ज्यादा चित्त दुखाइन्। ‘ममीले साह्रै चित्त दुखाउनु भएको छ,’ दाइले सधैं जीवनलाई भन्छन्।