शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • गाउँबाट डाक्टर बन्न हिँडेका विद्यार्थी कसरी तयार भए नक्कली परीक्षार्थी बन्न?

गाउँबाट डाक्टर बन्न हिँडेका विद्यार्थी कसरी तयार भए नक्कली परीक्षार्थी बन्न?

डाक्टर बनाउन पठाएको छोरालाई प्रहरी खोरमा भेटेपछि चिन्तित उनीहरुका अभिभावक अहिले प्रहरी अधिकृतलाई फोन गरी–गरी सोधिरहेका छन्, ‘अब के हुन्छ सर, छुट्छन् कि जेल जान्छन्?’
 |  सोमबार, चैत २१, २०७८

अनिल यादव

अनिल यादव

सोमबार, चैत २१, २०७८

काठमाडौं– महोत्तरीस्थित साम्सी गाउँपालिकाका २२ वर्षिय अमर पण्डित गाउँबाट डाक्टर बन्ने लक्ष्य लिएर काठमाडौं आएका थिए। पढाइमा सधैं अब्बल थिए उनी। त्यसैले आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि उनलाई उनका बुबाले एमबीबीएस नै पढाउने निधो गरेका थिए दुई कठ्ठा जमिन बेचेर।

triton college

किस्ट कलेजमा एमबीबीएस पहिलो वर्ष अध्ययनरत उनको पढाइ पनि राम्रै चलिरहेको थियो। उता उनका दाइ पोखरामा सिभिल इन्जिनियरिङ पढिरहेका थिए। बुबाले ऋण काढेर दुवै छोरालाई पढाइरहेका थिए। 

चैत १८ गते लोकसेवा आयोगमा अधिकृत तहको परीक्षा दिन अमरका दाइ पनि त्यसको अघिल्लो दिन पोखराबाट काठमाडौं आएका थिए। परीक्षा दिए पनि। तर, जब परीक्षा दिएर कोठा फर्किए, भाइ अमर प्रहरी खोरमा पुगेको खबरले झस्किए।

कारण, त्यही दिन अमर चिकित्सक शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी जनकपुरका वृकेश यादवको नाममा परीक्षा दिन बालकुमारीस्थित सिसिआरसी कलेज पुगेका थिए। प्रहरीले उनलाई त्यहीँबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ गरेको थियो। 

‘बैंकमा बुबाको ७–८ लाख ऋण थियो, यता कसैको केही कमाइ थिएन, त्यसैले कलेजकै सिनियर दाइहरुको प्रलोभनमा परेर भाइले अर्कैको परीक्षा दिन गयो भन्ने सुनेँ, साह्रै चिन्तामा छौं,’ अमरका दाइले नेपाल समयसँग भने। 

Metro Mart
vianet

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसको प्रवेश परीक्षामा केही नक्कली परीक्षार्थी सहभागी हुँदैछन् भन्ने सूचना पाएपछि अघिल्लो साता महानगरीय प्रहरी अपराध महाशाखाको इन्टेलिजेन्स ब्युरोको टोली त्यसकै अनुसन्धानमा जुटेको थियो।

‘अपरेसन इको’ नाम दिएर अनुसन्धानमा जुटेको प्रहरीले शुक्रबार तीन फरक–फरक कलेजमा पुगेर परीक्षा हलबाटै चार जना नक्कली परीक्षार्थाी पक्राउ गर्यो। जसमध्ये तीन जना किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी छन् भने अर्का एक जना भारतीय नागरिक। उनीहरुसँगै नक्कलीलाई परीक्षा दिन पठाउने एक सक्कली परीक्षार्थी पनि पक्राउ परे। 

पक्राउ परेका किस्ट कलेजमा अध्ययनरत तीन विद्यार्थीमध्ये एक हुन्, अमर पण्डित। बाँकी दुई छन्, सर्लाही चक्रघट्टाका अनिकेत चौधरी (२२) जो धनुषाका आजिवकुमार यादवको नाममा परीक्षा दिन गएका थिए। त्यस्तै अर्का २६ वर्षिय राम आशिष यादव भने पण्डित र चौधरीभन्दा सिनियर ब्याचका छन्। एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत उनी रुपन्देहीका स्मित सिंह नामको प्रवेशपत्र बोकेर ग्रामर स्कुल कोटेश्वरमा परीक्षा दिन पुगेका थिए। 

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसको प्रवेश परीक्षामा केही नक्कली परीक्षार्थी सहभागी हुँदैछन् भन्ने सूचना पाएपछि अघिल्लो साता महानगरीय प्रहरी अपराध महाशाखाको इन्टेलिजेन्स ब्युरोको टोली त्यसकै अनुसन्धानमा जुटेको थियो।

अर्का दुईजना छन्, महोत्तरी साम्सीका सन्नीकुमार साह र भारतस्थित औरङ्गवादका इस्तियाख अहमद। ‘सन्नीचाहिँ सक्कली परीक्षार्थी हुन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘मध्य बानेश्वरको एम्बिसन कलेजमा पुग्दा त्यहाँ इस्तियाख अहमदले सन्नीको नाममा परीक्षा दिइरहेको भेटियो। सुरुमा शंका लागेर सोध्दा उनले आफूलाई सन्नी नै भनिरहे। घर पनि नेपाल नै भने। तर ठेगाना भन्ने क्रममा अकमकिएपछि हामीले ठम्याउन समय लागेन।’

उता प्रहरीले परीक्षा चलिरहेकै बेला सन्नीको नम्बर पत्ता लगाएर फोन लोकेसन ट्र्याक गर्दा उनलाई पशुपतिनाथ परिसरमा इस्तियाखलाई कुरेर बसिरहेको अवस्थामा भेट्यो। ‘जब इस्तियाखको अगाडि सन्नीलाई ल्याएर उभ्यायौं, त्यसपछि उसले सत्य स्वीकार्यो,’ एसपी कोइरालाले भने। 

सन्नी प्लस टु सकेपछि पढ्नका लागि भारतको पटना पुगेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा भारतीय विद्यार्थीसँग उनको सम्पर्क सूत्र त्यही क्रममा बनेको खुलेको छ। ‘सन्नीको रवि कुमार भन्ने अर्को एकजना भारतीयसँग चिनजान रहेछ, उसैले इस्तियाखसँग सम्पर्क गराइदिएको रहेछ। हामी रवि लगायत अन्य फरार तीन जनालाई पनि खोजिरहेका छौं,’ एसपी कोइरालाले भने। 

जसको परीक्षा दिए, उसलाई भेटेकै थिएनन्

पक्राउ परेका केही नक्कली परीक्षार्थीले जसको नाममा परीक्षा दिए, ती सक्कली परीक्षार्थीलाई अहिलेसम्म नेभेटको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ‘नक्कली परीक्षार्थी प्रकरणमा ठ्याक्कै गिरोह नै छन् भन्ने अवस्थामा त पुगिसकेका छैनौं, तर जोजो पक्राउ परे उनीहरुसँगको सोधपुछबाट उनीहरुभन्दा सिनियर ब्याचका विद्यार्थीहरुकै उक्साहट र लहैलहैमा यस्तो काम गर्न पुगेको देखियो,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले भने, ‘कतिपय सिनियर विद्यार्थी जसले हिजो त्यसरी नक्कली परीक्षार्थीको रुपमा परीक्षा दिँदै आइरहेका थिए, तिनैले ‘केही समस्या हुँदैन’ भन्दै आर्थिक प्रलोभन देखाएर काममा लगाउने गरेको देखिन्छ। हामी विचौलियाको काम गर्ने ती विद्यार्थीहरुलाई पनि खोजिरहेका छौं।’

पक्राउ परेका केही नक्कली परीक्षार्थीले जसको नाममा परीक्षा दिए, ती सक्कली परीक्षार्थीलाई अहिलेसम्म नेभेटको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

नक्कली परीक्षार्थीका रुपमा काम गरेका अमर पण्डितले पनि प्रहरीसँगको प्रारम्भिक सोधपुछमा सक्कली प्रशिक्षार्थी वृकेश यादवलाई आफूले अहिलेसम्म नदेखेको र नभेटेको नै बताए। ‘सिनियर दाइहरुको पछि लागेर यस्तो गरेको भनिरहेका छन्, हामी अझै अनुसन्धानकै चरणमा छौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। 

प्रहरीका अनुसार पक्राउ परेका सबै नक्कली परीक्षार्थीले प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर अर्कैको नामको परीक्षा दिन गएका थिए। ‘अनलाइनबाट फर्म भरेर परीक्षा दिन पाइने व्यवस्था रहेछ,’ एसपी कोइरालाले भने, ‘त्यतिबेलै सक्कली परीक्षार्थीको विवरण भरेर नक्कली परीक्षार्थीको फोटो प्रयोग गर्ने गरिने रहेछ। कतिपय अवस्थामा त सक्कली परीक्षार्थीको नागरिकता विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपि उल्लेख गरी नक्कली नागरिकता समेत बनाएको पाइयो।’

टार्गेटमा विपन्न परिवारका विद्यार्थी, प्रलोभन १८ लाखसम्मको 

एमबीबीएस प्रवेश परीक्षामा पास हुन चाहने सक्कली परीक्षार्थीले विचौलियाको सहयोगमा नक्कली परीक्षार्थी खोज्ने गरेको खुलेको छ। अनि, अपराध महाशाखाको यही पक्राउ प्रकरणमा नक्कली परीक्षार्थीको पारिवारिक पृष्ठभूमि केलाउँदा विचौलियाको टार्गेट नै आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थी हुने गरेको देखिन्छ। 

‘नक्कली परीक्षार्थीका लागि तयार हुनेमा केही ऋण काढेर एमबीबीएस पढिरहेका त केही स्कलरसिपमा पढिरहेका विपन्न परिवारका विद्यार्थी छन्,’ अपराध महाशाखाका एसएसपी कुँवरले भने, ‘उनीहरुलाई तीन तहको वर्गीकरणका आधारमा आर्थिक प्रलोभन देखाइएको पाइयो। फ्रि स्कलरसिपमा नाम निकालिदिए १८ लाख, पेइङमा नाम निकाले १० लाखसम्म र जस्ट पासमा निकाले २ लाखदेखि ५ लाखसम्म दिने आश्वासन रहेछ। अनि परीक्षा दिनुअघि नै ५० हजारदेखि २ लाखसम्म एड्भान्स बुझाएका रहेछन्।’

एमबीबीएस प्रवेश परीक्षामा पास हुन चाहने सक्कली परीक्षार्थीले विचौलियाको सहयोगमा नक्कली परीक्षार्थी खोज्ने गरेको खुलेको छ।

हामीले आफ्नो नामको परीक्षा भारतीय विद्यार्थीलाई दिन पठाएका सन्निकुमार शाहका बुबासँग पनि सम्पर्क गर्यौं। डाक्टर बनाउन पठाएका छोरालाई हिरासतमा भेटेर गाउँ फर्किंदै गरेका उनी भन्दै थिए, ‘म आयुर्वेदको डाक्टर हुँ। पैसाको केही कमी थिएन। जति माग्यो, त्यति पठाइदिन्थेँ। खोइ किन त्यस्तो गर्यो, कसरी भयो, केही थाहा छैन। यो खबर सुनेर हामी तनावमा छौं,’ उनी धेरै बोल्न चाहेनन्। 

सर्लाहीका अनिकेत चौधरी पनि आर्थिक अवस्था कमजोर भएको परिवारबाट आएका हुन्। पढाइमा ट्यालेन्ट उनले स्कलरशिपमा नाम निकालेका हुन्। ‘उनको पनि घरको अवस्था नाजुक रहेछ, यस्तै काम गर्दै आएका सिनियर दाइहरुले ‘केही हुँदैन, कसैले थाहा पाउँदैन, राम्रो पैसा पनि आउँछ’ भन्दै लोभ देखाएपछि परीक्षा दिन तयार भएछन्। अहिले पछुताइरहेका छन्,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने। 

डाक्टर बनाउन पठाएको छोरालाई प्रहरी खोरमा भेटेपछि चिन्तित उनीहरुका अभिभावक अहिले प्रहरी अधिकृतलाई फोन गरी–गरी सोधिरहेका छन्, ‘अब के हुन्छ सर, छुट्छन् कि जेल जान्छन्?’

प्रकाशित: Apr 04, 2022| 17:51 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्