टेस्ला र स्पेस एक्स विश्ववजारका ठूला कम्पनीहरूको सूचीको अग्रपङ्क्तिमै आउँछन्। दुवैका पछाडि एकै व्यक्ति छन्- एलन मस्क। 'सामान्य व्यक्तिको सोच्ने क्षमता जहाँ अन्त्य हुन्छ, एलनको सोच त्यहीँबाट सुरु हुन्छ' यो निकै प्रचलित उक्ति पनि हो। यस्तै अद्भुत कल्पनाशक्तिका धनी एलन दिनहुँ 'अझ मोडर्न' भविष्यको कल्पनामा तल्लिन रहन्छन्। प्रत्येक घडी सफलताको नयाँ शिखर चढिरहेका एलन हाल विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। अमेजनका जेफ बेजोसलाई पछाडि पार्दै गत वर्ष एलन विश्वका सबैभन्दा धनी व्यक्ति भएका हुन्।
उमेरले बल्ल ५० पुगेका एलन पृथ्वीकै पहिलो 'ट्रिलियनायर' बन्ने आकलन गरिएको छ। अबका २ वर्षभित्रै एलन ट्रिलियनायर बन्न सक्ने टिपाल्टी अप्रुभले सार्वजनिक गरेको रिपोर्टमा लेखिएको छ।
पछिल्ला केही वर्षयता एलनको सम्पत्ति द्रुतगतिमा बढिरहेको छ। विश्वका दोस्रा धनी व्यक्ति जेफ बेजोसभन्दा ८ खर्ब बढी सम्पत्ति भएका एलनको सम्पत्तिको मुख्य स्रोत टेस्ला हो। यसमा टेस्लासँगै स्पेस एक्सको पनि ठूलो भूमिका छ।
को हुन् एलन?
सन् १९७१ जुन २८ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मेका 'एलन मस्क'को पूरा नाम 'एलन रिभ मस्क एफआरएस' हो। उनका बुवा दक्षिण अफ्रिकी मूलका थिए भने आमा क्यानडेली मूलकी हुन्। सानो उमेरदेखि नै कम्प्युटरप्रति रुचि राख्ने मस्कले १२ वर्षको उमेरमै भिडियो गेम बनाएर बेचेका थिए। सन् १९८८मा क्यानडेली पासपोर्ट पाएपछि मस्कले दक्षिण अफ्रिका छोडेर अवसरको खोजीमा अमेरिका प्रवेश गरे। अन्टारियोको क्विन्स युनिभर्सिटीबाट सन् १९९२ मा युनिभर्सिटी अफ पेन्सिलभेनिया गएका मस्कले सन् १९९७ मा त्यहीँबाट भौतिकशास्त्र र अर्थशास्त्रमा स्नातक हासिल गरे।
एलन अमेरिकाको क्यालिफर्नियास्थित प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएका थिए। त्यतिबेला इन्टरनेटको विकास भइरहेको थियो। भौतिकशास्त्र भन्दा इन्टरनेट ठूलो सम्भाव्यता बोकेको क्षेत्र भएको भन्दै दुई दिनमै उनले स्ट्यानफोर्ड छोडे।
मस्कको उदयमा पे-पल र स्पेस एक्सको भूमिका
सन् १९९५ मा एलनले पहिलो पटक कम्पनी स्थापना गरेका थिए। जीप-२ नामक उक्त कम्पनीले अनलाइन पत्रिकाहरूलाई नक्सा तथा निर्देशिका प्रदान गर्दथ्यो। सन् १९९९ मा जीप-२ लाई कम्प्युटर उत्पादन गर्ने अर्को कम्पनी 'कम्प्याक'ले करिब ३५ अर्ब रुपैयाँमा खरिद गरेपछि एलन अर्बपति भएका हुन्। अर्बपति भएपछि मस्कले 'एक्स डट कम' नामक अर्को कम्पनी सुरु गरे। सो कम्पनीले इन्टरनेटमार्फत वित्तीय सेवा प्रदान गर्दथ्यो। पछि 'पेपल'मा बदलिएको कम्पनीलाई सन् २००२ मा ईबेले किन्यो। पेपाललाई ईबेले मस्कसँग डेढ अर्ब डलरमा किनेको थियो।
एलनले पहिलेदेखि नै मानवताको रक्षाका लागि मानव बहुग्रहीय प्रजाति बन्नु पर्छ भन्ने विश्वास राख्थे। पहिलेदेखि नै रकेट उडाउने सपना बोकेका मस्कसँग विभिन्न कम्पनीको खरिदबिक्रीबाट पर्याप्त साधन जुटिसकेका थिए। यसरी,सन् २००२ मा मस्कले स्पेस एक्स (स्पेस एक्सप्लोरेसन टेकनोलोजी)सुरु गरे। स्पेस एक्सको प्रमुख लक्ष्य भनेको कम खर्चमा रकेट उत्पादन गर्नु थियो। स्पेस एक्सले सन् २००६ मा आफ्नो पहिलो रकेट 'फाल्कन-१' अन्तरिक्षयान उडायो। 'फाल्कन-१' पछि दोस्रो रकेट 'फाल्कन-९' सन् २०१० मा उडाइएको थियो।
पहिलो पटक सन् २०१८ मा प्रक्षेपण गरिएको स्पेस एक्सको तेस्रो रकेट झनै 'फाल्कन-हेभी' अझ बढी आधुनिक र सस्तो भएको बताइएको छ। प्रतिस्पर्धी बोइङको डेल्टा-४ भन्दा दोब्बर क्षमता भएको फाल्कन हेभीको लागत पनि डेल्टा-४ को एकतिहाई मात्र छ।
मस्कको अबको योजना भनेको चन्द्रमा र मंगल ग्रहमा 'बेस'को स्थापना गर्नु हो। स्पेस एक्सद्वारा निर्मित फाल्कन रकेट, ड्रागन तथा ग्रासहोपरका लागि एलन मस्क नै प्रमुख डिजाइनर हुन्।
मस्क र टेस्ला
लामो समयदेखि बिजुलीबाट चल्ने गाडीको सम्भावना केलाउँदै आइरहेका एलनले सन् २००४ मा टेस्लामा प्रवेश गर्ने निधो गरे। एबरहार्ड र टार्पेनिङले सुरु गरेको टेस्ला मोटर्समा एलनले सन् २००४ मा करिब तीन अर्ब रुपैँया लगानी गरेका थिए।
पुराना, अल्छीलाग्दा र अप्रभावकारी बिजुली गाडीहरुलाई पछाडि धकेल्दै टेस्लाले सन् २००६ मा पहिलो पटक गाडी उत्पादन गर्यो। 'रोडस्टर' नाम दिइएको उक्त गाडी तत्कालीन समयका बिजुली गाडीमध्ये सबैभन्दा किफायती थियो। एक पटक चार्ज गरेपछि लगभग ४ सय किलोमिटर दौडन सक्ने क्षमता रोडस्टारमा थियो। करिब ४ सेकेन्डमै ० देखि ९७ किलोमिटर प्रतिघण्टाको गति पक्रन सक्ने 'स्पोर्टी लुक्स'वाला रोडस्टर आकर्षक कार मानिन्छ।
सन् २००७ मा एबरहार्ड र सन् २००८ मा टार्पेनिङले कम्पनी छोडेपछि सन् २०१० मा एलन मस्क टेस्लाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) भएका छन्।
लोकप्रिय भएपनि सन् २०१२ मा रोडस्टरको उत्पादन बन्द गरियो। मोडल-एस,मोडल-३ र मोडल-वाईको उत्पादनमा असर पर्न सक्ने भन्दै रोडस्टरको उत्पादन बन्द गरिएको हो। यी तीनै मोडल रोडस्टरभन्दा क्षमतावान छन्। सन् २०१४ देखि मोडल-एसलगायतका सबै मोडलमा टेस्लाले 'अटो-पाइलट' सुविधा पनि थप गरेको छ। अटोपाइलट भएका गाडी स्वचालित हुन्छन्।
मस्कले आफै पनि एक ट्वीटमार्फत टेस्ला चाँडै 'ट्रिलियनायर' कम्पनी बन्ने संकेत दिएका थिए।
फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टअनुसार अहिले एलन मस्कसँग अहिले २६० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ।
'सन् २०१७ देखि मस्कको औषत वार्षिक आय प्रतिवर्ष १२९ प्रतिशतले वृद्धि भइरहेको छ। यसै दरमा उनको सम्पत्ति वृद्धि भइरहेमा मात्र २ वर्षमा मस्क 'ट्रिलियनायर' बन्नेछन्,' टिपाल्टी अप्रुभले सार्वजनिक गरेको रिपोर्टमा लेखिएको छ।
अन्य धनाढ्यहरु पनि 'ट्रिलियनायर'को बन्न सक्ने सम्भावित सूचीमा छन्। यद्यपि सबैभन्दा पहिलो पालो मस्ककै आउने प्रक्षेपण रिपोर्टले गरेको हो। टिकटकका संस्थापक झाङ यिमिङ सन् २०२६ मा ४२ वर्षको उमेरमा'ट्रिलियन डलर क्लब'मा प्रवेश गर्दै कान्छा 'ट्रिलियनायर' बन्न सक्ने पनि उक्त रिपोर्टले दाबी गरेको छ। यद्यपि यो तथ्यांक भने हाल भइरहेको धनाढ्यहरूको सम्पत्ति वृद्धिदरको आधारमा तयार पारिएको हो। सम्पत्ति वृद्धिदर फरक परे उनीहरू ट्रियनायर बन्न सक्ने तिथिमिति अघिपछि सर्न सक्छ।
एलनको जीवनशैली
एलन दिनको १८-२० घण्टा काममा व्यस्त हुन्छन्। सातामा एक दिन बिदा लिने मस्कका आँखा प्रायजसो बिहान ७ बजे खुलिसकेका हुन्छन्। उनका अनुसार नुहाइरहेका बेला उनलाई 'बेस्ट आइडिया' फुर्छन्। कसरत गर्न ठूलो रुचि नभएका मस्क वेट लिफ्टिङ,रनिङ गर्नुका साथै ताइक्वान्दो,कराते र जुडो पनि खेल्छन्। तर, कहिलेकाहीँ मात्र। दिनको समय एलन कि टेस्लामा व्यस्त हुन्छन्, कि स्पेस एक्समा। दुवै कम्पनीहरलाई लगभग बराबर समय दिन्छन् उनी। तर,पक्षपात नगर्न खोज्दाखोज्दै पनि एलनले औषतमा टेस्लालाई प्रतिसाता ४२ घण्टा अनि स्पेस एक्सलाई ४० घण्टा मात्र समय दिने गरेको बताइन्छ।
मस्कको रूचिमा बैठक पर्दैन। तर,बैठकका समय नै उनले खाजा खान पाउने फुर्सदको समय हो। प्रायजसो बैठक गरिरहेका बेला उनी खाजामा व्यस्त हुन्छन्। बैठक र खाजा खाने समय उनका लागि परिपूरक जस्ता हुन्।
मस्कको रातीको भोजन 'भारी' हुने गर्छ। आफूलाई मनपर्ने 'टेलिभिजन सो' हेर्न पनि उनलाई रातकै समय ठिक लाग्छ। एलन जापानी 'एनिमी'का पनि 'फ्यान' हुन् उनी। 'डेथनोट' उनको सबैभन्दा मनपर्ने 'एनिमी' हो। यसका अतिरिक्त, उनी किताब पढ्न पनि रुचाउँछन्।

जो रोगनसँगको 'पोडकास्ट' अन्तर्वातामा गाँजा तान्दै एलन मस्क। उनको व्यक्तित्व बुझ्न निकै कठिन छ भन्ने कुरा जो रोगनसँगको अन्तर्वाताका माझ उनले गाँजा तानेको कुराले पनि प्रस्ट्याउँछ।
000
हप्तामा १२० घण्टा काममा व्यस्त हुने एलनको प्रत्येक दिनको औसत आय नै करिब ४६ अर्ब रुपैँया हुने गरेको छ। एलन जति धनी छन्, त्यति नै सरल उनको जीवनस्तर छ। एलनका दुई सन्तानकी आमा, उनकी पूर्वप्रेमिका ग्रीम्सका अनुसार अथाह धनका बाबजुद पनि एलनले कयौँ पटक 'गरिबीका रेखामुनि' भएका मानिसको जस्तो जीवनशैली अपनाएका छन्। एकपटक ओछ्याउनेमा प्वाल परेपछि ग्रीम्सले प्रश्न उठाएकी थीइन्। तर एलनले नयाँ किन्नुको साटो घरबाट ल्याउन ग्रीम्सलाई सुझाव दिएका थिए। यो कुरा उनले भ्यानिटी फेयर https://www.vanityfair.com/style/2022/03/grimes-cover-story-on-music-and-mars सँग सेयर गरेकी छन्।
'उनी खर्बपति जसरी जिउँदैनन्। उनी कयौँ पटक गरिबीको रेखामुनि भएजसरि बाँचिरहेका हुन्छन्। अनि म लगातार ८ दिन पिनट र बटर खान बाध्य भएकी छु,' भ्यानिटी फेयरसँगको अन्तरवार्तामा ग्रीम्सले भनेकी छन्।
टाइम वर्षव्यक्ति र आलोचना

तस्बिर : एपी
तर टाइम म्यागजिनको उक्त निर्णयमाथि आलोचना पनि उतिकै भयो। एलनको करप्रतिको मनोवृत्ति, युनियनको विरोध अनि कोभिडका जोखिमको लापरबाहीको आरोप लगाउँदै टाइम र एलनको आलोचना भयो।
टाइमले आफूले 'राम्रो वा नराम्रो नभनी वर्षभरका घटनामा धेरै प्रभाव पारेका व्यक्तित्वलाई वर्षव्यक्तिको उक्त 'पदवी' दिइएको कुरालाई जोड दियो। यसका साथै, पत्रिकाले राम्रा व्यक्तिका साथै स्टालिन र हिटलरलाई पनि सो उपनाम दिएको उदाहरण थपेको थियो। प्रशंसासँगै आएको आलोचनाका साथ करप्रतिको धारणाले अमेरिकामा मस्कलाई विवादित बनायो।
अन्य धनाढ्यहरुका साथै मस्कले पनि सन् २०१४ देखि २०१८ का बिच आफ्नो कूल सम्पत्तिमा उल्लेख्य वृद्धिका बाबजुद थोरै मात्र कर तिरेको प्रोपब्लिकाको अनुसन्धानले खुलासा गरेको थियो। अर्बपतिहरुको सम्पत्तिमा जति नै वृद्धि भएपनि ज्यालामा काम गर्ने मजदुर बराबर नै कर तिरेका घटनाले अमेरिकी कर प्रणालीमाथि पनि प्रश्न उठाउँदै आलोचना भएको थियो। मस्कले आफ्ना कर्मचारी 'युनियन'सँग संलग्न भए गैरकानूनी हुने गरी धम्कीसमेत दिएका थिए।
अमेरिकी राष्ट्रपति बिल क्लिन्टन प्रशासनमा श्रम सचिवका रुपमा काम गरेका रोबर्ट रेचले टाइमको सो घोषणासँगै पुराना कुरा सम्झाउने सही समय आएको भन्दै व्यंग्य प्रहार गरेका थिए। यसका साथै सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका विषय पनि जोडेर मस्कको आलोचना गरिएको थियो। उनले कोरोना भाइरसबारे छलफल गर्नु नै मुर्खता भएको भनेका थिए। सुरुवाती दिनमा कोभिडका खतरालाई मध्यनजर गर्दै सरकारले लिएका निर्णयविरुद्ध मस्कले उत्तरी क्यालिफोर्नियाको कारखाना चालु राखेका थिए। पछि, स्थिति जटिल बन्दै गएपछि मात्र कारखानाबाट उत्पादन बन्द गरिएको थियो।
चारै तिर कोभिडका कारण मानिसको मृत्यु भइरहँदा मस्क भने ट्विटरमा 'डर दिमागको हत्यारा हो' जस्ता अभिव्यक्ति दिन व्यस्त थिए। स्पेस एक्सका कर्मचारीहरु माझ, 'तिमीहरुको कोभिडका कारण भन्दा कार दुर्घटनाका कारण मृत्यु हुने सम्भावना बढी छ' भन्न समेत पछि हटेका थिएनन्, एलन मस्क।
ट्विटरमा मस्कका करोडौँ 'फलोअर' छन्। एलनका ट्विट बारम्बार विवादित बन्ने गरेका छन्। 'स्टक' बजारका नियामकले सन् २०१८ मा टेस्लाको निजीकरणका विषयमा एलनविरुद्ध मुद्दा हालेका थिए।
(विभिन्न एजेन्सीहरूको सहयोगमा यो सामग्री विनायक कार्कीले तयार पारेका हुन्।)