काठमाडौं– साढे दुई वर्ष जेल बसेर निर्दोष सावित भएका पूर्वसैनिक अमल्दार लवकुमार गुरुङले आफूलाई यातना दिने चार सैनिक अधिकृतविरुद्ध दिएको जाहेरीबारे अहिलेसम्म सैनिक मुख्यालय बेखबर रहेको पाइएको छ।
आफू कार्यरत रहेको कालिबहादुर गणको कोतबाट हतियार चोरेको झुटो अभियोगमा जेल सजाय भोगेका गुरुङले गत फागुन १५ गते जिल्ला सरकारी वकिलको कार्यालय चितवन पुगेर जाहेरी दर्ता गराएका थिए। न्यायका लागि एड्भोकेसी फोरमका अधिवक्ता कुमार थपलियासँगै सुरुमा उनी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका थिए।
तर, प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी लिन नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए। त्यसपछि सरकारी वकिलको कार्यालयले उक्त जाहेरी दर्ता गरेर चितवनमै रहेको सम्बन्धित घटना भएको ब्यारेक कालिबहादुर गणमा पठाएको थियो। ‘सेना–सेनाबीचको मुद्दा भएकाले हामीले आफैँले हेर्न मिलेन। त्यसैले आवश्यक कारवाहीका लागि उक्त जाहेरी गणमा पठाएका थियौं। त्यसपछि के हुँदैछ, थाहा छैन,’ सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने।
आफू कार्यरत रहेको कालिबहादुर गणको कोतबाट हतियार चोरेको झुटो अभियोगमा जेल सजाय भोगेका गुरुङले गत फागुन १५ गते जिल्ला सरकारी वकिलको कार्यालय चितवन पुगेर जाहेरी दर्ता गराएका थिए।
यता जाहेरी दिएको १५ दिन बितिसक्दा सेनाले यसमाथि कुनै पनि छानबिन प्रक्रिया अघि नबढाएको पाइएको छ। ‘अहिलेसम्म त्यस्तो कुनै पनि जाहेरी हेडक्वार्टर आइपुगेको छैन,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘चेन अफ कमान्डमार्फत आउँदै होला। आएपछि आवश्यक अध्ययन गरेर, कानुनी राय लिएर आवश्यक प्रक्रिया अघि बढाइनेछ।’
पूर्वसैनिक गुरूङले दिएको जाहेरीमा चार सैनिक अधिकृतहरु महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराई प्रतिवादी छन्। आफूलाई गन चोरेको अभियोगमा फसाउन, बयान कबुल गराउन र चरम यातना दिने कार्यमा उनीहरुको संलग्नता रहेको आरोप गुरुङको जाहेरीमा उल्लेख छ।
घटना के हो?
०७५ पुस ५ गते चितवनस्थित नेपाली सेनाको कालिबहादुर गणमा ‘केआर १००७९३’ नम्बरको एसएमजी गन हराएको थियो। गन हराएको अभियोगमा त्यही दिनदेखि सोही ब्यारेकको क्वाटरगार्डमा रहेका लवकुमार र सिपाही सरोज तामाङविरुद्ध यातनाको श्रृंखला सुरु भएको थियो। करिब चार महिना सैनिक हिरासतमा चरम यातना पाएपछि सेनाको कोर्ट मार्सलले दोषी ठहर गर्दै लवकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्षको जेल सजाय सुनाएको थियो।
त्यसपछि सफाइ पाउने झिनो आशाका बीच उनीहरु अढाई वर्षदेखि चितवन कारागारमा सजाय काटिरहेका थिए। यही हतियार चोरेको अभियोगमा लवकुमारकी जेठी सासु तारा तामाङ र भाइ पवन गुरुङले सम्म यातना पाएका थिए। ९ महिना पुर्पक्षका लागि थुनामा बसेपछिमात्रै जिल्ला अदालतले उनीहरुलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो। यद्यपि लवकुमार र सरोज कारागारमै थिए, अनि उनीहरुले चढाएको पुनरावेदनचाहिँ सैनिक विशेष अदालतमा सुनुवाइ नै नभएको अवस्थामा थियो।
यहीबीच गत साउन ७ गते चितवनमा दि फेमस महेन्द्र दल गणमा कार्यरत नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। प्रहरी अनुसन्धानका क्रममा सोही गणका सिपाही गंगाधर ढकाल समातिए। हत्यामा उनको संलग्नता त देखियो नै, सँगसँगै हत्याका लागि उनले प्रयोग गरेको हतियारको बडी नम्बर अढाई वर्षअघि कालिबहादुर गणबाट हराएकोसँग मिल्यो। गंगाधर स्वयम्ले यो हतियार कालिबहादुर गणबाट अढाई वर्षअघि चोरेको बयान दिएपछि घटनामा ‘नयाँ ट्विस्ट’ आयो।
अनुसन्धानका क्रममा खुल्यो– जुन गन चोरेको अभियोगमा दुई जना अढाई वर्षदेखि जेल सजाय काटिरहेका थिए, त्यो गन त अर्कैले पो चोरेको रहेछ। नेपाल समयले जेलमा रहेका दुई निर्दोष सैनिकको विषयमा ‘गनले अन्याय, गनले न्याय’ नाम दिएर श्रृंखलाबद्ध रिपोर्टिङ नै गरेको थियो।
त्यसपछि प्रायजसो इजलास नै नबस्ने सैनिक विशेष अदालतले यो मुद्दा फास्ट ट्र्याकमा हेर्यो। अदालतले हतियार चोरीमा उनीहरुको संलग्नता नदेखिएको भन्दै निर्दोष ठहर गर्दै उनीहरुलाई जागिरमा पुनर्वहाली गर्ने फैसला नै गर्यो। ०७८ भदौ १८ गते भरतपुर कारागारबाट उनीहरु रिहा भएका थिए। उता हत्या आरोपमा पक्राउ परेका सिपाही गंगाधर भने २५ वर्षको जेल सजाय तोकिएपछि कारागारमै छन्।
अनुसन्धानका क्रममा खुल्यो– जुन गन चोरेको अभियोगमा दुई जना अढाई वर्षदेखि जेल सजाय काटिरहेका थिए, त्यो गन त अर्कैले पो चोरेको रहेछ। नेपाल समयले जेलमा रहेका दुई निर्दोष सैनिकको विषयमा ‘गनले अन्याय, गनले न्याय’ नाम दिएर श्रृंखलाबद्ध रिपोर्टिङ नै गरेको थियो।
सिपाही सरोज तामाङ अझै जागिरमै छन्। उनको पोस्टिङ अहिले पनि आफूले यातना पाएको कालिबहादुर गणमै छ। तर लवकुमारले भने सेनाको जागिरबाट स्वेच्छिक अवकाश लिइसकेका छन्। जेलमुक्त भएको केही महिनामै पेन्सन पाकेपछि उनले थप जागिर गर्ने सोच बनाएनन्, बरु आफूलाई फसाउने सैनिक अधिकृतलाई कारवाही गराउन न्यायिक लडाइँ लड्ने निर्णयमा पुगे। ‘जागिरमा पुनर्बहाली त भएँ तर पहिलेजस्तो तन्दुरुस्त हुन सकिनँ,’ केही समयअघि लवकुमारले आफ्नो यातनाको विस्तृत कथा सुनाउने क्रममा नेपाल समयसँग भनेका थिए, ‘पहिलेजस्तो दौडन सकेँ, न परेड हान्न नै सकेँ। घाइते हुँदाहुँदै पेन्सन पाक्यो। अनि जागिर छाड्ने निर्णयमा पुगेँ। आफ्नै संगठनबाट यति कठोर यातना पाएपछि बस्न मन कसलाई पो लाग्दो हो!’
जाहेरीमा के छ?
जाहेरीमा प्रतिवादी बनाएका चार सैनिकमध्ये महासेनानी गिरी त्यतिबेला हराएको गनको छानबिन गर्न आएको ‘कोर्ट अफ इन्क्वायरी’का प्रमुख थिए। त्यस्तै सेनानी श्रेष्ठ, सहसेनानीद्वय विष्ट र भट्टराई भने सोही गणमा कार्यरत थिए। यी चार जना अधिकृतले त्यतिबेला हतियार चोरेको कबुल गराउन चरम यातना दिएको आरोप गुरुङको छ, जसका खत र असरहरु शरीरमा अहिले पनि बोकेर हिँड्नुपरेको छ। जाहेरीको आरोपअनुसार त्यतिबेला उनलाई सैनिक हिरासतमा राखेर हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको थियो।
आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरेको, कुटीकुटी बेहोस बनाएर झ्यालको डण्डीमा भुन्ड्याएको प्रसंग पनि उनले किटानी जाहेरीमा उल्लेख गरेका छन्।
‘०७५ पुस १२ गतेतिर हुनुपर्छ, महासेनानी राजेन्द्रमणि गिरीको अध्यक्षतामा गठन भएको कोर्ट अफ इन्क्वायरीको टोली गण आइपुगेको थियो,’ नेपाल समयसँग यातनाको समय सम्झँदै लवकुमारले भने, ‘यता हामीलाई कुट्ने, यातना दिने, कबुल गराउन खोज्नेमा मेजर दीपेन्द्र श्रेष्ठदेखि क्याप्टेनहरु विज्ञान विष्ट र गणेश भट्टराई हात धोएर लागेका थिए।
आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरेको, कुटीकुटी बेहोस बनाएर झ्यालको डण्डीमा भुन्ड्याएको प्रसंग पनि उनले किटानी जाहेरीमा उल्लेख गरेका छन्।
सायद यूएन मिसनबाट फर्किएपछि कोसेली बुझाउने बेलामा मैले दिन्न भन्दा भएको भनाभन पनि मेजर श्रेष्ठको मनमा इख बनेर बसेको थियो। त्यसैले यी सबै हाकिमहरुले कोर्ट अफ इन्क्वायरीको टोलीसँग हतियार हामीहरुले नै लगेको छ भन्दै ब्रिफिङ गरे। महासेनानी गिरीसँग अहिलेसम्म चोरेको कबुल गरेका छैनन् तर कबुल गराएरै छाड्छौं, हजुर तनाव नलिनुस् भन्दै रिपोर्ट गरिरहे। अनि, कोर्ट अफ इन्क्वायरीले त्यही पत्याएर हामीविरुद्ध नै प्रतिवेदन बनायो। आफैँ अनुसन्धान गर्न आवश्यक ठानेन।’
सैनिक हिरासतमा करिब ५७ दिन यातना दिएपछि आफूले हतियार चोरेको कबुल गर्न बाध्य भएको उनले बताए। ‘असह्य पीडा र यातना खेपेपछि मान्छे साँच्चै निरीह हुँदोरहेछ उसले जिन्दगीमा नगरेको काम पनि गरेको हो भनेर कबुल गर्न बाध्य हुँदोरहेछ। यो मैले त्यतिबेलै महसुस गरेँ,’ यातना सम्झिँदा आज पनि उनका आँखा आँशुले भरिन्छन्।
‘हिरासतभित्र हामीलाई पिट्न मुखमा मास्क लगाएर आउँथे कमान्डोहरु,’ उनले सम्झिए, ‘मुख छाड्दै आउँथे अनि यति कुट्थे कि हामी बेहोस नै हुन्थ्यौं। कुटपिटले मःमको किमाजस्तै बनेको थियो मेरो शरीर। लगभग मलाई नांगै पारिन्थ्यो। दुइटै हात पछाडि डोरीले बाँधिएको हुन्थ्यो। अनि कुर्सीमा सर्लक्कै सुताएर शरीरका भागहरुमा जथाभावी हानिन्थ्यो। जतिपटक चोरेको छैन भन्यो, त्यति धेरै यातना दिइन्थ्यो। अति भएपछि म भन्थेँ, ‘मलाई अनावश्यक टर्चर नदे, तिमीहरुलाई जे गर्न मन छ गर, बरु मार्दे।’
आफू जेलमुक्त भए पनि आफूलाई चरम यातना दिएर फसाउने सैनिक अधिकृतउपर कुनै कारवाही नहुँदा निराश छन्, लवकुमार। आफूले दिएको जाहेरीउपर के हुँदैछ, कतैबाट कुनै खबर छैन उनलाई। तर, न्याय पाउनेमा आशावादी हुन छाडेका छैनन्। ‘जुन दिन ती सैनिक अधिकृतहरुमाथि संगठनले कारवाही गर्छ, त्यही दिन मैले पूर्ण न्याय पाएको महसुस गर्नेछु। त्यसैले मेरो न्यायको लडाइँ बाँकी नै छ,’ उनले भने।