काठमाडौं- गत शुक्रबार साँझसम्म कलाकार पल शाह र नाबालिग गायिकाको प्रकरणले सामाजिक सञ्जाल तातिएको थियो। तर जब गायक प्रकाश सपुतले आफ्नै युट्युब च्यानलबाट गीति भिडियो ‘पिर’ सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल नयाँ बहसतिर मोडिएको छ।
माओवादी सशस्त्र द्वन्द्वमा होमिएका पूर्व लडाकुको कथामाथि बनेको यो भिडियोलाई लिएर यतिबेला पक्ष-विपक्षमा बहस भइरहेको छ। कतिपय माओवादी नेताहरु प्रकाशको गीतले जनयुद्ध र त्यसमा होमिएका लडाकुको अपमान गरेको भन्दै गीत हटाउन माग गरिरहेका छन् भने कतिपय यथार्थपरक भन्दै तारिफ गरिरहेका छन्।
त्यसो त प्रचण्डहरु चिल्लो गाडीमा चढेर सिंहदरबार छिरिरहँदा उनीसँगै क्रान्तिका लागि होमिएका थुप्रै छापामारहरु सडकमै नछाडिएका होइनन्। कतिपय त त्यतिबेला लागेको गोलीका छर्राहरु शरीरबाट अझै निकाल्न नसकेका अवस्थामा छन्। कतिपय विदेशिन बाध्य छन् भने कतिपय त्यतै अलपत्र परेर फर्कन नसकेका कथा पनि हामीले नपढेका होइनौं।
तर, प्रकाशको यो नयाँ गीतमाथि अहिले उठिरहेको एउटा गम्भीर प्रश्न हो- ‘के साँच्चै पूर्व महिला छापामारहरुले जीवन चलाउनका लागि वेश्यावृति नै गर्नुपर्ने अवस्था आएको हो?’
या, गायक सपुतले सस्तो चर्चाकै लागि यो दृश्यलाई फिक्सनको रुपमा प्रस्तुत गरेका हुन्? बहस हुँदै गर्ला। तर, यो गीतलाई पूर्व महिला छापामारहरु स्वयंले कसरी हेरिरहेका छन्?
एक महिला बटालियन कमान्डरको कथा:
१० वर्षे लामो शसस्त्र संघर्षको एउटा ऐतिहासिक घटना लिस्ने भिडन्त (०५८)बारे त तपाईंहरुले सुन्नुभएकै होला। जुन भिडन्त भूमिगत भएर शसस्त्र संघर्ष गरिरहेको माओवादी (विद्रोही पक्ष) र राज्य सत्ता (सरकारी पक्ष)बीच भएको थियो।
हो, त्यही भिडन्तबाट घर फर्किरहेकी थिइन् महिला छापामार कमाण्डर होलिका केसी। र भिडन्त सकाएर घर फर्किनेहरुको भीडमै थिए गायक मोहित श्रेष्ठ पनि।
पदीय रुपमा होलिका बटालियन कमाण्डर थिइन्। उनकै नेतृत्वमा हजारौँ महिला छापामारहरुले लिस्ने भिडन्तमा लोभलाग्दो साहस देखाए। क्रान्तिको सपना पूरा गर्न आफैंलाई ज्वालामुखि बनाए। आफै विस्फोट भए।
फर्किनेहरुकै भीडमा पहिलो पटक भेट भएका थिए, होलिका र मोहित। तर उनीहरुको आँखाले भने वर्षौअघि नै क्रान्तिको सपनामा भेट भइसकेका संकेत गरिरहेका थिए।
‘जनताको आँशु र रगतलाई माफिया र दलालहरुसँग बेचेको देख्दा घिन लाग्छ। परिवर्तन भएका कमरेडहरुले केही गर्न नसके पनि कम्तिमा हाम्रो युद्ध इतिहासलाई सुरक्षित राखिदिउन्,’ उनको आक्रोश अझै शान्त भएको छैन।
त्यो पहिलो भेटलाई होलिका सम्झन्छन्, ‘साँच्चिकै क्या सुन्दर थियो, त्यो भेट। पहिलो पटक भेटे पनि हाम्रो सपनाहरु चाहीँ पहिल्यैदेखि परिचित छन् जस्तो लाग्ने।’
पहिलो भेटमै होलिका र मोहितबीच ‘मिराकल’ भयो। त्यो पनि प्रेमिल ‘मिराकल’। एकअर्कालाई हेरिरहे। शब्दमा बोलेनन्। प्रेम गर्नलाई अभिव्यक्ति आवश्यकता नहुने भन्दै उनले थप सुनाइन्, ‘उहाँ गायक हो, तर त्यो भिडन्तमा स्वयंसेवक बनेर आउनु भएको रहेछ। पहिलो भेटमै माया बसेकोजस्तो भो, तर अभिव्यक्त गरेनौँ।’
त्यो भेटपश्चात मोहित र होलिकाले कयौँ उकाली-ओरालीहरु सँगै हिँडे। खोँच र खोल्साहरु सँगै पार परे। लुङ्ग्री र माडी नदीका बगरहरुमा सँगै भौतारिए। जलजलाको सेतो गुराँस सँगै टिपे। थवाङका स्याउहरु सँगै टोके।
उनीहरुलाई जनताको सपना पूरा गर्नु त थियो नै, त्यसमा पनि अब उनीहरुलाई उदाहरणीय योद्धा बन्नु थियो।
अन्ततः ०६० जेठ १० गते एउटा निर्णय भयो, बिहे गर्ने। तर दमाह थिएन, जन्ती थिएनन्, माइती थिएनन्। वश् थिए आफ्ना सहयोद्धाहरु। र थिए बन्दुक र राइफलहरु।
मेहितको घर रोल्पाको जंकोट। होलिकाको चाँही प्युठानको मरमाथान। तर बिहे भयो रोल्पाको गैरिगाउँस्थित तिलामा। जहाँ उनीहरु पछिल्लो समय सैन्य अभ्यासको नयाँ तरिका प्रयोग गर्दै थिए।
सहिद कलाकार खुशीराम प्राखिन त्यहीँ थिए, साक्षी। उनकै अघि होलिका र मोहितले मुठ्ठी दरीलो रुपमा कसेर लालसलाम ठोक्दै आफ्नो जीवन एकअर्कालाई समर्पित गरे। र, सम्पन्न भयो एउटा जनवादी बिहे।
होलिका अहिले पनि सम्झन्छन्, ‘बुबाआमालाई बोलाउन सम्भव थिएन, यात्राको क्रममा जहाँ थियौँ, त्यही बिहे गर्यौँ।’
बिहे गर्दा उनी बटालियन कमाण्डर थिइन्। त्यसअघि ०५५ साल चैतदेखि सेना हुँदै महिला सेक्सनको सहकमान्डर, सेक्सन कमान्डर, प्लाटन भिसी, प्लाटन कमान्डर, कम्पनी भिसी, कम्पनी कमान्डर, बटालियन भिसीको महत्वपूर्ण जिम्मेवारीहरु पूरा गरिसकेकी थिइन्। वास्तवमा होलिका पार्टी पंक्तिभित्र सबैको लागि विश्वासिलो र साहसिक पात्र थिइन्। फलतः बिहे गरेको केही वर्षमै फेरि ब्रिगेड भिसी पनि बनिन्।
०६३ सालमा विस्तृत शान्ति सम्झौतापछि भने माओवादीले सार्वजनिक र शान्तिपूर्ण वातावरणमा आफ्नो अभ्यास जारी राख्यो। सम्झौताका बुँदाहरुमा उल्लेख गरिएका एजेण्डाहरुलाई समातेर पार्टी नेतृत्वका कमान्डरहरु राजधानी छिरे।
होलिका सुनाउछन्, ‘हाम्रा कमान्डरहरु राजधानी छिर्नु राम्रै कुरा हो, तर दु:खद आफैँ हिँडेको गोरेटोहरु बिर्सिनु हो।’
त्यसो त बिर्सनेहरुसँग कुनै गुनासो छैन, होलिकालाई। तर हजारौं छापामारले बगाएको रगत र बलिदानको अपमान भयो भने चाहीँ सह्य हुन्न उनलाई।
होलिकाले खै के सोचिन्, ०६५ सालमा स्वच्छिक अवकाश लिने निर्णय गरिन्। अवकाश लिँदै गर्दाको अनुभव सुनाइन्, ‘म त कमाण्डर थिएँ, केही न केही गरेर पेट पाल्न सकिहाल्छु भन्ने लाग्थ्यो, तर अन्य सामान्य छापामार महिलाहरु पो कसरी बाँच्लान? कसरी पेट पाल्लान्? चिन्ता लागिरह्यो।’
होलिकाको ‘पीर’ र प्रकाश सपुतको ‘पिर’
त्यसो त होलिका अहिले सामान्य जीवन बाँचिरहेकी छन्। गुजारा चलाउन कपडा सिउने टेलर चलाउछिन्। र, यसमा उनको कुनै गुनासो पनि छैन।
न आफूलाई कसैले केही दिओस् भन्ने चाहना नै छ। बरु आग्रह छ- ‘शसस्त्र संघर्षको बेला अंगभंग भएका ती साथीहरुको सरकारले उपचार गरिदियोस्।’ भन्छिन्, ‘सरकारले युद्धमा बेपत्ता भएकाहरुको खोजी गरोस्, सहिदका सन्तानहरुको भविष्य सुनिश्चित गरोस्, अपांग भएकाहरुको नि:शुल्क उपचार गरिदियोस्। यत्ति हो मेरो चाहना।’
राजधानी छिरेका शीर्ष कमाण्डरहरुको परिवर्तित विचारले भने होलिकालाई बेलाबेला रिस उठ्छ। ‘जनताको आँशु र रगतलाई माफिया र दलालहरुसँग बेचेको देख्दा घिन लाग्छ। परिवर्तन भएका कमरेडहरुले केही गर्न नसके पनि कम्तिमा हाम्रो युद्ध इतिहासलाई सुरक्षित राखिदिउन्,’ उनको आक्रोश अझै शान्त भएको छैन।
प्रकाशको पछिल्लो गीत होलिकाले दोर्याइतेहर्याइ हेरिन्। तर, उनलाई यो गीतले माओवादीको १० वर्षे शसस्त्र संघर्षको इतिहासलाई न्याय गरेको महसुस भएको छैन। बरु गलत भाष्य स्थापित गर्न खोजेको उनलाई लागेको छ।
‘बाटो बिराएका कमरेडहरुलाई झक्झक्याउन गायकले गरेको प्रयासप्रति मेरो कुनै असन्तुष्टि छैन,’ उनी भन्छिन्, ‘तर, पैसाकै लागि वेश्यावृति गर्दै आएको कथन भने हामी पूर्व महिला छापामारहरुलाई सह्य छैन। योचाँही साँच्चै हामीमाथि अपमान हो। क्रान्तिको लागि जीवन समर्पण गर्ने हामी, आँखै अगाडि आफन्ती गुमाउने हामी, गोली खाने हामी अनि हाम्रै आँशु र रगतलाई यौन व्यापारसँग जोडेर गीत निकाल्ने? अहँ, मलाई त यो पचेन।’
प्रकाशको गीतले एकथरीबाट व्यापक चर्चा र प्रशंसा पाइरहेका बेला उनी भने यो गीतले निर्माण गर्न खोजेको भाष्यसँग असहमत छन्। ‘मलाई लाग्दैन, त्यो भिडियो हेरेर हामीजस्ता द्वन्द्वमा होमिएका महिला छापामार खुशी होलान्,’ उनी भन्छिन्, ‘बरु हाम्रा महिला कमरेडहरु भोकै मर्लान् तर पैसाका लागि शरीर बेचिरहेका छैनन्। मेरै हकमा भनौं, माओवादी नेतृत्वसँग मेरा धेरै गुनासाहरु छन्। तर, क्रान्तिमा कालो पोत्ने कुरा सह्य हुन सक्दैन।’