शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • तत्काल स्थानीय चुनावको मिति तोक्न आयोगको आग्रह, नेपालमा घटेन भ्रष्टाचार [२०७८-१०-११]

तत्काल स्थानीय चुनावको मिति तोक्न आयोगको आग्रह, नेपालमा घटेन भ्रष्टाचार [२०७८-१०-११]

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेकका प्रदेशका मतदान प्रक्रियामा नै सहभागी नहुने निर्णय गरेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

triton college

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। 

उनका अनुसार केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ। निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ। 

चुनावका लागि आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । 

corrent noodles
Metro Mart

मल कारकाखाना खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन्। 

सरकारले सबै प्रकारका उद्योगधन्दा खोल्ने कुरालाई प्रोत्साहन गर्ने प्रधानमन्त्री देउवाको भनाइ छ। उनले खोप अभियानप्रति जनताको चासो कम भएको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए। 

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताऐ । कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि प्रधानमन्त्रीको आग्रह छ। 

आयोगको आग्रह

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ।

मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । 

प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा वैशाखभित्रै  निर्वाचन गर्न आयोग तयार रहेको पनि उल्लेख गरिएको छ ।

प्रदेश १ मा मात्रै मतदान गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेकका प्रदेशका मतदान प्रक्रियामा नै सहभागी नहुने निर्णय गरेको छ। 

राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई मत दिन पार्टीका मतदातालाई निर्देशन गरेको छ । 

अरु प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले बताएका छन् । 

राप्रपाका बागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् । कर्णालीमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।

भ्रष्टाचारमा नेपाल यथावत

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ। आज मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा छ । 

भ्रष्टाचार नियन्त्रणमा नेपाल १०० मा ३३ अंक पाएर ११७औं स्थानमा छ। अघिल्लो वर्ष (सन् २०२०) मा पनि नेपाल सोही स्थानमा थियो। अघिल्लो र गत वर्ष पनि नेपाल सोही स्थानमा रहनुको अर्थ भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थानमा, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थानमा छन्। पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन्। 

चीन ४५ अंक प्राप्त गरी ६६ औं स्थानमा छ। दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकाभन्दा पछि  नेपाल छ ।

भन्सारमा अनलाइन

सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । 

सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताएका छन् । उनले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताए ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताएका छन् । 

यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने उल्लेख  गरेका छन् । भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नु पर्ने बताए । 

अध्यक्ष श्रेष्ठले भन्सार कार्यालयमा सरकारले अनलाइन प्रणाली सुरुवात गरे पनि बैंकिङ कारोबार डिजिटल नभएको स्मरण गराए । 

१२ हजार ८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

सोमबार देशभर १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। सोमबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको थियो।

हाल नेपालमा ८८ हजार ९३४ जना सक्रिय कोरोना संक्रमित छन्।

त्रिवि परीक्षा प्रणालीप्रति शिक्षामन्त्री असन्तुष्ट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको परीक्षा प्रणाली बदल्नुपर्ने बताएका छन्। 

त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भईरहेको गुनासो आईरहेका बेला मन्त्री पौडेलले बाँकी सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए । 

मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भएको जवाफ मन्त्री पौडेललाई दिएका छन्  । 

त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए । 

मंगलबार पनि सेयर बजार ओरालो

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ । 

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । 

मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ । जीवन बीमा सबै उपसमूहको सूचकमा गिरावट आएको छ । 

युक्रेनका कर्मचारीलाई स्वदेश फर्कन अमेरिकाको निर्देशन

अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ। युक्रेनस्थित किभ दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन सोमबार अमेरिकाले निर्देशन दिएको हो । 

पछिल्ला दिनमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको समाचारमाध्यमहरुले जनाएका छन्।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ। त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ । रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ ।

५ पटकको विजेता सेमिफाइनल पनि पुगेन

पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबले पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार दिउँसो पोखरा रंगशालामा सम्पन्न खेलमा आर्मीले थ्रिस्टारलाई १–० गोलले हराएको हो । आर्मीलाई जित दिलाउने क्रममा राजीव गुरुङले खेलको ७०औं मिनेटमा गोल गरे। थ्रिस्टारले अट्याकको प्रयास गरिहेको समयमा गोल खोसेर आर्मीले गोल गरेको थियो। यससँगै आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

थ्रिस्टार क्लबले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा आयोजना भएको प्रतियोगिताको उपाधि जितेको थियो। आर्मीले भने अहिलेसम्म उपाधि जितेको छैन। 

आजको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ। अब आर्मीले दोस्रो सेमिफाइनल खेल मनाङ मस्याङ्दी क्लबसँग खेल्नेछ। मनाङ र आर्मीको खेल माघ १३ गते हुनेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले सहिद स्मारक ए डिभिजन लिगको लिगलिडर मछिन्द्र क्लबसँग भिड्नेछ।

प्रकाशित: Jan 25, 2022| 19:23 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।