मंगलबार, असार १७, २०८२

‘६ दिन लाइन लाग्दा पनि ई पासपोर्ट पाइनँ’ [भिडियो सहित]

‘आफ्ना कुरा सुनाउन हाकिम भेट्नै पाइँदैन। बाहिरबाटै प्रहरीले लछापछार पार्छन्। उस्तै परे डन्डा लगाएर लखेट्छन्? एउटा राहदानी लिन यस्तो यातना सहनुपर्छ।’
 |  बिहीबार, पुस २९, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, पुस २९, २०७८

vianetvianet

काठमाडौं– जन्मभूमि छाड्दा र परिवारबाट टाढिनु पर्दाको पीडा त छँदैछ। बेराेजगार युवा जब वैदेशिक रोजगारीमा जाने प्रक्रिया थाल्छन्, त्यसपछि सुरु हुन थाल्छन् उसका दुःखका दिन, त्यो पनि सरकारी निकायबाटै। अचेल त्रिपुरेश्वरस्थित राहदानी विभागबाट युवाले यस्तै सास्ती पाइरहेका छन्। रातको दुई बजेदेखि लाम लाग्दा पनि समयमै काम नहुँदा उनीहरूले पोख्ने आक्रोशले सरकारी सेवा प्रवाह कति गैरजिम्मेवार रहेको प्रस्ट हुन्छ। 

यस्तै सास्ती पाउनेमध्येका एक हुन् उदयपुर गाईघाटका श्यामराज पोखरेल। उनी वैदेशिक रोजगारीका लागि साउदी उड्न तीन दिनअघि काठमाडौं आए। पासपोर्टको म्याद पाँच महिना मात्रै बाँकी भएकाले उनले नवीकरणका लागि ई–पासपोर्ट बनाउनैपर्ने भयो। 

भिसा अवधि जनवरी १७ तारिखमा सकिँदै छ। उनलाई तत्काल ई–पासपोर्ट बनाइहाल्नुपर्ने बाध्यता छ। तर राहदानी विभागले दुई दिनदेखि धाएका उनलाई ई–पासपोर्ट होइन, टोकन थमाएको छ २३ तारिखका लागि। उनी १६ तारिखभित्रमा जुनसुकै हालतमा साउदी पुग्नैपर्नेछ। साउदी जान दुई लाख खर्च भइसकेको छ। पासपोर्टकै कारण अड्किएका उनलाई राहदानी विभागले फाराम बुझाउन २३ तारिखमा बोलाएपछि उनी निराश मात्रै छैनन् विभागको कार्यशैलीका कारण आक्रोशित पनि छन्।

‘आफ्ना कुरा सुनाउन हाकिम भेट्नै पाइँदैन। बाहिरबाटै प्रहरीले लछापछार पार्छन्। उस्तै परे डन्डा लगाएर लखेट्छन्? एउटा राहदानी लिन यस्तो यातना सहनुपर्छ।’ 

कम्पनीले १६ तारिखसम्म आइपुग भनेको छ। तर, यहाँ ई–पासपोर्टका नाममा उनी रोकिएका छन्। ‘अब म कहाँ जाऊँ? कसलाई भनौं? मलाई राहदानी विभागले बरबाद बनाउँदै छ भनेर कसलाई सुनाऊँ?’ उनले दुःखेसो पोखे, ‘आफ्ना कुरा सुनाउन हाकिम भेट्नै पाइँदैन। बाहिरबाटै प्रहरीले लछापछार पार्छन्। उस्तै परे डन्डा लगाएर लखेट्छन्?एउटा राहदानी लिन यस्तो यातना सहनुपर्छ।’ 

निन्याउरो मुख लगाएर कार्यालय क्षेत्रबाट बाहिरिँदै गरेका पोखरेल फर्किफर्की विभागको आलिसान महल हेरिरहेका थिए। करोडौं खर्चेर बनाएको भवन जति भव्य छ, सेवाग्राहीलाई दिने सेवा उति नै झुर। पोखरेल मात्रै होइन अधिकांश सेवाग्राहीले राहदानी विभागप्रति बनाएको धारणा यही हो। उनीहरु भन्छन्– ‘यहाँ काम कम, सास्ती ज्यादा पाइन्छ। सहजीकरण कम, दुःख ज्यादा दिइन्छ।’ 

विभागको सेवा प्रवाहबाट दुःख पाउने अर्का हुन् बर्दिया बासबाडीका धनबहादुर सार्की। उनी ई–पासपोर्ट बनाउन कार्यालय धाउन थालेको चार दिन बित्यो। राहदानी विभागमा झेलेको समस्या उनले यसरी सुनाए, ‘पहिलो दिन बिहान १० बजेतिर आएको थिएँ। टोकन पाइएन। बिहानै आए मात्रै टोकन पाइन्छ भन्ने सुनेपछि अरु साथीसँग सल्लाह गरेर राति साढे २ बजे आएँ। तर, पनि टोकन पाइएन। हिजो बल्ल टोकन पाएको छु। पासपोर्ट कहिले पाउँछु थाहा छैन।’ 

विभागमा बिहान २ बजे टोकन लिन लागि लामो लाइन लागिसकेको हुन्छ। दुई सय वटा मात्रै टोकन बाँडिने भएकाले टोकन पाउनु युद्ध जित्नुजस्तै हुन्छ सेवाग्राहीका लागि। चिसोमा कठ्याङ्ग्रिँदै बिहान २ बजेदेखि लाइन बसेका धनबहादुर दिउँसो २ बजेसम्म केही खान पाएका थिएनन्। 

कार्यालयमा सामान्य हेल्प डेक्स पनि छैन। ‘यति भ्रदगोल कार्यालय सायद कहीं हुँदैन होला, जनतालाई यति सास्ती दिने सरकार सायद कुनै देशमा छैन। राज्य कर बुझाएर पासपोर्ट लिन्छु भन्दा पनि यस्तो बिजोग!’उनले आक्रोश मिश्रित प्रश्न गरे। दुई दिनका लागि भनेर खर्च बोकेर आएका उनी चार दिनसम्म पनि काम नभएपछि अहिले बेखर्ची भएका छन्। 

‘होटेलमा बस्दै आएको थिएँ, अहिले पैसा नभएपछि आफन्तकहाँ शरण माग्न थालेको छु। अझै कति दिनमा राहदानी बन्ने हो थाहा छैन’, उनले आफ्नो समस्या सुनाए। राहदानी बनाउनकै लागि उनले ४५ हजार रुपैयाँ सकिसकेका छन्। 

पाल्पाबाट ई–पासपोर्ट बनाउन काठमाडौं आएकी लक्ष्मी नेपालीको व्यथा पनि उस्तै छ। पछिल्लो ६ दिनदेखि बिहान २ बजेदेखि नै लाइन लागेर बसे पनि ई–पासपोर्ट बनाउन पाएकी छैनन्। ‘कर्मचारी मेरो समस्या सुन्नै  चाहँदैनन्। मसँग भएको एमआरपीको नम्बर किन रिड भएन? यसको जबाफ कोही दिँदैन।’ ई–पासपोर्ट बनाउनका लागि सबै कागजपत्र ल्याए पनि कहाँ पेस गर्ने? कुन कोठाबाट सेवा प्रवाह हुन्छ भन्ने बारेमा कार्यालयमा कसैले नबताउने उनको गुनासो छ।

उनी भन्छन्, ‘डकुमेन्ट ल्याएको छु, कहाँ पेस गर्नुपर्छ भनेर सोध्दा भनिदिने कोही छैनन्। यताबाट उता, उताबाट यता कुदाउने काम मात्रै गरिरन्छन्। विभागका कर्मचारीलाई आफ्नो समस्या सुनाउँदा हाकाहाकी आफ्नो मान्छेको काम त भ्याएको छैन्, के को तेरो काम भनेर गाली गर्छन्।’ विभागको वेबसाइटमा भने जसले छिटो फराम भरेर बुकिङ गऱ्यो उसको पालो पहिले आउने उल्लखे छ। यसमा सोर्सफोर्स भनसुन केही नचल्ने दाबी विभागका अधिकारीहरु गर्छन्। 

राहदानी विभागको भद्रगोल यतिमा मात्रै सीमित छैन। ई–पासपोर्ट बनाउन के के चाहिन्छ? टोकन कतिखेर बाँडिन्छ? एक दिनमा कति जनालाई पासपोर्ट बाँडिन्छ भन्ने सामान्य जानकारी सेवाग्राहीले देख्ने गरी राखिएको पाइँदैन। 
राहदानी विभागको भद्रगोल यतिमा मात्रै सीमित छैन। ई–पासपोर्ट बनाउन के के चाहिन्छ? टोकन कतिखेर बाँडिन्छ? एक दिनमा कति जनालाई पासपोर्ट बाँडिन्छ भन्ने सामान्य जानकारी सेवाग्राहीले देख्ने गरी राखिएको पाइँदैन। 

हेटौंडाका नारायण खतिवडा राहादानी विभागको भद्रगोल हेरेर भन्दै थिए–‘संघीयता आए पनि जे आए पनि एउटा पासपोर्ट लिन राजधानी नै त्यो पनि एउटै कार्यालयमा हप्तौं लाइन लाग्नुपरेपछि के अर्थ छ? सेवा लिन आएका नागरिकलाई भेडाबाख्रा जसरी लखेट्ने र यातना दिएको देख्दा मन रुन्छ।’ 

राहदानी लिन विभागमा पुगेका हेटौंडाका नारायण खतिवडा। 

राहादानी विभागका अधिकारी भने विभागमा सेवाग्राहीको चाप रहेकाले केही अप्ठ्यारो निम्तिएको बताउँछन्। विभागबाट दैनिक एक हजार जनाले ई–पासपोर्ट लिइरहेका छन्। डकुमेन्ट बुझाउन आउने हजार जना, पासपोर्ट लिन आउने अर्को एक हजार र सोधपुछलगायत विभिन्न कामका लागि गरेर दैनिक विभागमा २५ सय सेवाग्राहीले सेवा लिँदै आएका छन्। 

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल विभागमा सेवाग्राहीको अत्यधिक चापका कारण सेवा व्यवस्थित नभएको बताउँछन्। विभागबाट दैनिक करिब ११ सय जनाले ई–पासपोर्ट लिइरहेको जानकारी उनले दिए। उनले भने, ‘डकुमेन्ट बुझाउन आउने हजार जना, पासपोर्ट लिन आउने अर्को एक हजार र सोधपुछलगायत विभिन्न कामका लागि गरेर दैनिक विभागमा २५ सय सेवाग्राही आउँछन्। त्यसैले व्यवस्थापन गर्न कठिन भइरहेको छ।’ 

उनका अनुसार पहिला एमआपी पासपोर्ट अन्य जिल्लामा पुग्न एक महिना १५ दिनदेखि २ महिना लाग्थ्यो। अहिले उपत्यका बाहिर महेन्द्रमार्ग, हवाई सेवासुविधा भएका जिल्लामा दुई हप्ताभित्र राहदानी उपलब्ध हुन उनको भनाइ छ।  पछिल्लो समय विभिन्न २२ वटा जिल्ला प्रशासन तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट दिन थालिएको छ।  हालसम्म ११ हजार ई –पासपोर्ट भइसकेको छ। 

सरकारले म‌ंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई पासपोर्ट) कार्यान्वयनमा ल्याएको हो। लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई पासपोर्ट प्रयोगमा ल्याएको हो। 

विभागका अनुसार प्रत्येक ५र१० वर्षमा राहदानीमा सुरक्षाका प्रावधान अद्यावधिक गर्नुपर्ने भन्ने हुन्छ। एमआरपीको तुलनामा ई पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको विभागका अधिकारी बताउँछन्।

विभागका प्रवक्ता शरदराज आरण भन्छन्, ‘नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को पब्लिक की डिरेक्ट्री (पीकेडी) को सदस्य भएकाले सदस्य राष्ट्रहरूमा सेयर हुन्छ। अध्यागमन कार्यालयहरूमा व्यक्तिले बोकेको आधिकारिक हो कि होइन भनेर जाँच गर्न सकिने भएकोले यो बढी सुरक्षित छ।’

एमआरपी भएका व्यक्तिले हाल विद्युतीय राहदानी लिन आवश्यक विभागका अधिकारी बताउँछन्। समयावधि रहेसम्म उनीहरूले एमआरपीकै प्रयोग गर्न पाउने र नयाँ बनाउँदा विद्युतीयमा जानुपर्नेछ। 

एमआरपी बनाउन जस्तै ई(पासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने विभागले जनाएको छ। विभागको वेबसाइटअनुसार नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरणका लागि कति दिन भित्र बनाउने हो त्यो अनुसार शुल्क तोकिएको छ। तीन दिनमा राहदानी लिनका लागि विभागले १०,००० रुपैयाँ तोकेको छ भने दुई दिनमा राहदानी लिनका लागि १२,००० र एक दिनमा राहदानी लिनका लागि १५,००० रुपैयाँ लाग्ने जनाएको छ।

ई पासपोर्टका लागि निवेदन कसरी दिने?

निवेदन दिँदा अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नुपर्दछ। छिटो बुकिङ गर्नेको पालो पहिले आउँछ। विभागको वेबसाइटमा गएर लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुपर्छ। 

पुरानो मेसिन रिडेबल राहदानी हुनेहरुले नवीकरण र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ भन्ने अप्सन  छानेर फाराम भर्नुपर्ने विभागको वेबसाइटमा उल्लेख छ।

ठाउँ छनोट गर्दा राहदानी विभाग  वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिनेछ।

यस्तै राष्ट्रिय परिचयपत्र एक्टिभेट भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर यकिन गरिसकेपछि मात्र लाइभ इनरोलमेन्टका लागि आउन विभागले आग्रह गरेको छ।

यस्तै एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी नहुने विभागले जनाएको छ। विद्युतीय राहदानीका लागि फाराम भर्न यो लिंकमा जानुपर्नेछ।

ई पासपोर्ट के हो?

हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन। यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानीमध्येमा पर्ने विभागको दाबी छ। 

राहदानी विभागमा ई पासपोर्ट लिनेको भीड।

आईकाओ पीकेडीमार्फत सूचना रुजु हुने भएकाले विभिन्न मुलुकका अध्यागमन कार्यालयमा निकै सहज र छिटो हुन्छ। विद्युतीय गेटहरु भएका ठाउँमा स्वतस् खुल्ने व्यवस्थासमेत गरिएको हुन्छ।

ई पासपोर्टका विशेषता

नेपालले जारी गरेको पोलिकार्बोनेटसहितको विद्युतीय राहदानी हो। पोलिकार्बोनेटसहितको डाटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिँदैन। यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो। साधारण राहदानीको रङ चकलेटी खैरो हुन्छ। साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन्।अहिले विभागले कूटनीतिक,  विशेष,  सर्भिस,  अस्थायी,  साधारण (३४ र ६६ पृष्ठ) र सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका राहदानी जारी गर्दै आएको छ। सिम्यान्स अभिलेख किताब जारी गर्नका लागि भने आन्तरिक तयारीको कारणले केही बढी समय लाग्ने विभागका अधिकारी बताउँछन्।

ई पासपोर्टका लागि कुनकुन जिल्लाबाट निवेदन लिइँदै छ?

पुस १४ गतेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरु, उपत्यकाबाहिर कास्की, चितवन, मकवानपुर, कपिलबस्तु, रुपन्देही, सुर्खेत, नवलपरासी, बुटवल, झापा, मोरङ्ग, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर आदि जिल्लामा विद्युतीय राहदानीका लागि निवेदन लिन अर्थात लाइभ इनरोलमेन्ट गर्न बुकिङ खुलिसकेको छ। अन्य जिल्लामा पनि दैनिक रुपमा स्टेसन  स्थापना हुने विभागले जनाएको छ।

 ई पासपोर्ट पाउन कति समय लाग्छ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा करिब १ हप्ताभित्र राहदानी उपलब्ध हुनेछ। काठमाडौंबाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिनभित्र राहदानी उपलब्ध हुने विभागको वेबसाइटमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनका लागि मोबाइलमा एसएमएस आउनेछ।

 निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने?

निवेदन अस्वीकृत भएको मेसेज आएमा मुख्य प्रतीक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्न विभागले सेवाग्राहीलाई आग्रह गरेको छ। रिजेक्सनको कारण थाहा भएमा तोकेअनुसारको कार्य गरेर फेरि निवेदन दिनुपर्छ। सुरक्षाका कारण एक पटक पेस भइसकेको फाराम पुनः संशोधन हुन नसक्ने भएकाले होसियारीसाथ फाराम भर्न विगागले आग्रह गरेको छ। 

 ई पासपोर्ट जारी भएपछि उपलब्ध हुने अरु सुविधा के के छन्?

विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरुले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ। मेसिन रिडेबल राहदानीको जस्तै भौतिक रुपमा फाराम भरेर तस्बिर टाँसेर पठाउनु पर्दैन। यसले गर्दा हाल लाग्ने गरेको समयभन्दा कम्तीमा पनि आधा समयमा नै विदेशस्थित कूटनीतिक नियोगहरु र जिल्ला प्रशासन कार्यालयहरुले राहदानी प्राप्त गर्न सक्छन्। 

मेसिन रिडेबल राहदानीका लागि आईसीआर फाराम स्क्यान गर्दा धेरै त्रुटि हुने सम्भावना हुन्छ। तर विद्युतीय राहदानीमा डिजिटल रुपमा फर्म भर्नुपर्ने हुनाले त्रुटि हुने सम्भावना पनि कम हुन्छ। समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो हुन्छ। 

 राष्ट्रिय परिचयपत्र कसरी लिने?

नेपालबाट विद्युतीय राहदानी बनाउनेहरुको हकमा राष्ट्रिय परिचय पत्र वा सो को नम्बर आवश्यक पर्ने हुनाले यथा समयमा नै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिनुपर्ने विभागको वेबसाइटमा उल्लेख छ। राष्ट्रिय परिचपपत्र पाउन समय लागे पनि त्यसको नम्बर भने तुरुन्त पाउन सकिने हुनाले कुनै समस्या हुँदैन। 

प्रकाशित: Jan 13, 2022| 15:17 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्