सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • नारायणहिटीमा बतासलाई ठाउँ दिन मिलेमतो, चुनाव नगर्न गठबन्धन लागिपरेको एमालेको आरोप [२०७८-९-२६]

नारायणहिटीमा बतासलाई ठाउँ दिन मिलेमतो, चुनाव नगर्न गठबन्धन लागिपरेको एमालेको आरोप [२०७८-९-२६]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
 |  सोमबार, पुस २६, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

sagarmatha cement

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्नेमा सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको आरोप लगाएका हुन्। सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी गरे। ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गरे। 

एमाले अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे। दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाइ थियो। 

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको दाबी गरे। कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे। 

कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए। 

गणतन्त्रप्रति पूर्वराजाको घुमाउरो असन्तुष्टि

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै गणतान्त्रिक शासन व्यवस्थाप्रति घुमाउरो असन्तोष प्रकट गरेका छन्।

जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखे पनि त्यो निरर्थक हुने उनको भनाइ छ। सन्देशमा पूर्वराजाले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन्। प्रणाली केवल साधन मात्र भएको र साधन परिवर्तनलाई नै महान उपलब्धीका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै पूर्वराजाले असन्तोष व्यक्त गरेका छन्।  पूर्वराजा शाहले नेपालीलाई स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपालीको वैभव पृथ्वीनारायण शाहबाट प्राप्त भएको उल्लेख गरेका छन्। 

पृथ्वीनारायण शाहको राष्ट्रभक्ति, साहस र नेपालीको आँट र आकांक्षाबाट नै नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उल्लेख गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र पृथ्वीनारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको पूर्वराजा शाहले उल्लेख गरेका छन्।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्।

सोमवार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताए। मन्त्री आलेले नेपालीहरुले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताए। 

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए। 

नारायणहिटीमा मिलेमतो

नारायणहिटी दरबार संग्रहालयको मूल गेटनजिकको जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। 

छानबिन समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो। बतास समूहले मनपरी संरचना बनाएको बाहिरिएपछि मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।  

नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ। विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  १४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ।

यसैबिच, पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा एक्सन लिन आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा समर्थन गरेको उनको भनाइ छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा बतास समूहलाई दिने कार्य खेदजनक रहेको टिप्पणी गरे। यसमा कारवाही गर्न आफूलाई कसैको रोक्न नसक्ने बताए।

सीसीएमसीको सिफारिस सदर

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने जानकारी दिए। 

हिजो आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो। बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सीसीएमसीसीले सिफारिस गरिएको छ। 

हिजोको सीसीएमसीसीको बैठकले खोप कार्ड नभइ माघ ३ गतेदेखि सार्वजनिक सेवा लिन नमिल्ने गरि निर्णय गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। २५ जनाभन्दा बढि भेला हुन नपाउने समेत निर्णय गरेको थियो। 

आज पनि बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज नेप्से आज लगातार दोस्रो दिन पनि उच्च अंकको बढेको छ। 

हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको हो। कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो। यसक्रममा आज सोमबार पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो। आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो। त्यसलगत्तै बढ्न थालेको नेप्से १९ अंक बढेर बन्द भएको हो। नेप्से २ हजार ७ सय ५७ अंकमा आइपुगेको छ। 

कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउन हल्ला चल्दा सेयर बजारमा उत्साह छाएको छ। स्मार्ट लकडाउन वा पूर्ण लकडाउनको समयमा बजारमा लगानीका क्षेत्र बन्द हुनेछन्। उद्योग, उर्जा, व्यापार, घर÷जग्गा र अन्य क्षेत्रको लगानी पुनः बजारमा थुप्रिने छ। यसअघि पनि लकडाउनका कारण अन्य लगानीका क्षेत्र खुम्चिँदा सेयर बजारले ठूलो फड्को मारेको थियो।

बढ्न थाल्यो निक्षेप

लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा  निक्षेप बढ्न थालेको छ। 

बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ। ५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो। यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो। संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सुधारिन लागेको हो। राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। यो व्यवस्थापछि आयातमा कमी आएको छ। विलासिताका वस्तुको आयात गर्दा शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्थाले समेत केही निक्षेप बढाएको हो।

माघदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ। 

सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए। विभागले गत मंसिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो। उनका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भए–नभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ।

नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता भुषालले बताए। कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको छ। उनका अनुसार अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसकिने योजना छ।

ए डिभिजन लिगको आठौं चरण सकियो

सहिद स्मारक ए डिभिजन लिगको सोमबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड बोइज क्लब (बीबीसी) ले १–१ गोलको बराबरी गरेका छन्। 

यो बराबरीसँगै जारी लिगको आठौं चरण सकिएको छ। अहिलेसम्म ५६ खेल पूरा भएका छन्। त्यसमा ३८ खेलमा जितहार भएका छन् भने बाँकी खेल बराबरीमा रोकिएका छन्। आजको खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै बीबीसीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको चौथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी बनाए। आजको खेलसँगै दुवै टिमले समान १–१ अंक जोडेका छन्। 

अहिले पुलिसले ७ अंक बनाएको छ भने बीबीसीले ६ अंक बनाएको छ। बीबीसी १२ औं स्थानमा छ भने पुलिस ११ औं स्थानमा छ।

प्रकाशित: Jan 10, 2022| 19:55 सोमबार, पुस २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।