शुक्रबार, वैशाख ७, २०८१

...अनि युट्युबबाट 'पतन' भए भाग्य न्यौपाने

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।
 |  मंगलबार, पुस ६, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, पुस ६, २०७८

‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पीडाका  भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु। विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’

triton college

कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने। यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ।  

तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक। कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्।  

कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गाली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्। 

आठ महिनाअघि उनको च्यानलमा अन्तिम भिडियो थियो, पाँच महिनाअघि अप्रिल २० मा अपलोड भएको अग्लो धरहराको। भिडियोको शीर्षक र थम्बनेल उनका पुराना भिडियोमा जस्तै अतिरन्जित र सनसनीखेज छैन, मात्रै लेखिएको छ, ‘अहिले धरहरा हेर्नुहोस्।’

corrent noodles
Metro Mart

भूकम्पले भत्किएपछि फेरि ठडिएको धरहराको कन्टेन्टलाई आफ्नो युट्युब यात्रा खस्किएका बेला भाग्यले जसरी अन्तिम भिडियोका रुपमा छाडे, यसलाई युट्युब वृत्तमा अर्थपूर्ण हिसाबले हेरिएको छ। लामो ‘ग्याप’पछि ११ दिनअघि भने भाग्यले एक जना सडकमा भेटिएका ‘मनोरोगी’लाई उद्धार गरेको भन्दै मोबाइलबाटै खिचेर छोटो भिडियो राखेका छन्। जसमा यो रिपोर्ट तयार पार्दासम्म २७ सयमात्रै भ्युज भएको छ। 

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।

आँशु र पीडामिश्रित कन्टेन्ट बेचेर चम्किरहेका बेला कसरी भाग्यको युट्युब यात्रा एकाएक ओर्लिन पुग्यो? यसमा उनकै केही भिडियोहरु ‘दोषी’ छन्, जसले आम दर्शकमाझ भ्रम त सिर्जना गर्यो नै, सँगसँगै उनको गलत नियत पनि उदाङ्गो भयो। 

जब भाग्य आफैं ‘न्यायधिश’ बन्न खोजे...

शीर्षकः ‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर पर्दाफास

सन् २०२० अगस्ट ४ तारिखमा भाग्यको तात्तातो खबर युट्युब च्यानलमा अपलोड भएको यो भिडियोलाई अहिलेसम्म १७ लाख ९६ हजारभन्दा बढीले हेरेका छन्। १८ हजार बढीले कमेन्ट गरेका छन्, जसमा अधिकांशले भाग्यको कडा शब्दमा आलोचना गरेका छन्। 

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्। 

एक बालगृहकी सञ्चालक पुष्पा अधिकारीको घरमा पुगेर खिचिएको भिडियो थियो यो। भिडियो हेर्दा भाग्य ‘प्रस्तोता’ कम, ‘न्यायाधीश’ ज्यादा देखिन्छन्। शीर्षकमा राखिएको ‘पर्दाफास’शब्दले नै थोरबहुत संकेत त गर्छ नै। 

घरभित्र छिर्नेबित्तिकै भाग्यले सुरुमै पुष्पालाई रिसाएको भावमा भन्छन्, ‘दिदी, तपाईंसँग मचाहिँ १० हजार लिन आ’को,’ उनको पहिलो प्रश्न भनौं या आक्रोश, भिडियो हेर्दा पुष्पालाई उनले भनेको पहिलो वाक्य यही नै हो।  भाग्यले १० हजार माग्नुको कारण बुझ्नचाहिँ ०७७ साउन १३ मा फर्कनुपर्छ। त्यसदिन कार्टुनमा राखिएको एउटा बच्चाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। पुष्पाले उक्त बच्चा काठमाडौंस्थित कपनको चौरमा बेवारिसे अवस्थामा भेटिएको बताएकी हुन्छिन्। अनि, त्यसलाई भाग्यले आफ्नो युट्युबमार्फत विश्वभर फैलाएका हुन्छन्।

त्यतिमात्रै होइन, बालृगहमै पुगेर भाग्यले बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ सहयोग पनि गरेका थिए। माथि चर्चा गरिएको भिडियोचाहिँ त्यही १० हजार फिर्ता माग्न जाँदाको हो। 

खासमा सत्य के थियो भने उक्त बच्चा झाडीमा भेटिएको थिएन, पुष्पा स्वयंले त्यहाँ पुर्याएर उद्धारको नाटक गरेकी थिइन्। अनि, त्यसकै प्रचारक बनेका थिए, भाग्य। बच्चालाई विदेशबाट फर्किएकी एक महिलाले जन्माएकी हुन्छिन्। त्यसपछि समाजले अस्वीकार गर्ने डरले पुष्पाको बालगृहमा सुम्पिएकी थिइन्। ती बच्चाप्रति भविष्यमा कसैले प्रश्न नउठाओस् भनेर आफूले झाडीमा भेटिएको नाटक गरेको पछि पुष्पा स्वयंले स्वीकारेकी थिइन्।

जब यो सत्य भाग्यले थाहा पाउँछन्, एक हुल युट्युबर साथीहरुसहित पुष्पाको घरमै पुग्छन्। अनि, यसरी केरकार सुरु गर्छन्, मानौं उनी कुनै केन्द्रीय अनुसन्धान ब्यूरो या अख्तियार अनुसन्धान कार्यालयबाट आएका अनुसन्धान अधिकारी हुन्। भाग्यले आक्रामक शैलीमा क–कसबाट कति सहयोग लिएको सबै विवरण माग्छन्, उनी सहजै विवरण दिन्छिन् पनि। भाग्यले फिर्ता मागेको पैसा पनि सरक्क दिन्छिन्। तैपनि भाग्य रोकिँदैनन्। पत्रकारिताको न्यूनतम मर्म र आचारसंहिताको पनि ख्याल नगरी उनी पुष्पामाथि खनिइरहन्छन्।

र, यही ‘चर्तिकला’ उनले आफ्नो युट्युबको कन्टेन्ट बनाएर हालेका थिए। जसको शीर्षक हामीले माथि नै उल्लेख गरिसक्यौं। यो भिडियो जब भाग्यले आफ्नो च्यानलमा अपलोड गरे, ट्रेन्डिङमै आउने गरी भ्यूज त गयो नै, सँगसँगै भाग्यले ती महिलाप्रति गरेको व्यवहारको पनि सर्वत्र आलोचना भयो। भाग्यकै प्रशंसकहरु उनीविरुद्ध कमेन्टमा खनिए। जसरी उनले ती महिलाको हुर्मत लिए, त्यसपछि उनका कन्टेन्टमुनि तारिफ गर्ने दर्शकहरु पनि उनीविरुद्ध गालीगलौजमा उत्रिन थाले। 

जब फेक ‘मेमोरी किङ’ चर्चामा ल्याए...

पुष्पा अधिकारीलाई ‘दुर्व्यव्यहार’ गरेको भिडियोभन्दा अघि भाग्यले आफ्नो च्यानलमा एउटा यस्तो व्यक्तिलाई सार्वजनिक गरे, जसकारण उनको भिडियो त ट्रेन्डिङमा आयो नै, सँगसँगै ती व्यक्ति पनि रातारात चर्चामा आए।

भाग्यलाई पछ्याउनुहुन्थ्यो भन्ने पक्कै अनुमान गरिसक्नुभयो, ती हुन् विजय शाही ।  जुलाइ १५, २०२० मा अपलोड भएको भिडियोको शीर्षक थियो– ‘नेपालीले तुरुन्तै हेर्नुहोला...OMG कस्तो अचम्म...भाग्य न्यौपानेले यस्तो युवा भेट्टाए विजय शाही।

भाग्यले अद्भूत स्मरण क्षमता भएका ‘मेमोरी किङ’ भन्दै भिडियोमा प्रस्तुत गरे । त्यहाँ उनको डेमो प्रस्तुति राखियो, जहाँ उनले ५ मिनेटजति एउटा आयुर्वेद सम्बन्धी पुस्तक पल्टाए, अनि जुनजुन पेजबारे भन्न लगाइयो, त्यो एकान्तमा गएर लेखिदिए।  

त्यतिमात्रै होइन, यो भिडियोमा विजयले आफूलाई नासाले सम्म बोलाएको र एक वर्ष त्यहाँ बसेर आएकोसम्म दाबी गरे। पुनः चार वर्षका लागि त्यहाँ जान लागेको पनि सुनाए। यतिमात्रै होइन, आफ्नो स्मरण क्षमताकै कारण आफूले गिनिज बुकमा नाम लेखाएकोसम्म दाबी गरे।

विजयको यो भिडियो जब भाग्यको युट्युब च्यानलबाट सार्वजनिक भयो, विजयको त तारिफ भयो नै, सँगसँगै यस्तो अद्भूत प्रतिभा ल्याएको भन्दै भाग्यको पनि भयंकर प्रशंसा भयो। पत्रकार ऋषि धमलादेखि कलाकार माग्ने बूढासम्मले डेमो गराएर आफ्नो टिभी र युट्युबमा देखाउन भ्याए। उता भाग्य सर्वत्र प्रशंसाबाट पुलकित हुने नै भए।

पुष्पा अधिकारीलाई ‘दुर्व्यव्यहार’ गरेको भिडियोभन्दा अघि भाग्यले आफ्नो च्यानलमा एउटा यस्तो व्यक्तिलाई सार्वजनिक गरे, जसकारण उनको भिडियो त ट्रेन्डिङमा आयो नै, सँगसँगै ती व्यक्ति पनि रातारात चर्चामा आए।

तर, झुटको आडमा कमाएको चर्चा कतिन्जेल टिक्छ र! विजय शाहीको स्मरण क्षमता ‘फेक’ र ‘ठगी’ मात्रै रहेको ठम्याउन धेरै समय लागेन। रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा जब उनले आफूले ल्याएको अक्सफोर्ड डिक्स्नेरीबाहेक अन्य कुनै पनि पुस्तकको डेमो दिन मानेनन्, त्यहीँबाट उनको क्षमताप्रति शंका सुरु भइहाल्यो। विवादमा तानिने क्रम बढ्यो। उनको ‘हुतुतु’ गर्दै पढ्ने शैलीलाई युट्युबमा भाइरल पुण्य गौतमहरुले त उडाइरहेकै थिए तर जब विदेशमा उनको अद्भूत क्षमता जाँच्न नेल्सन डेलिस नेपाल आइपुगे, त्यसपछि भने उनको झुटो खेती छर्लङ्गै भयो। 

नेल्सन डेलिसले क्यामेरा नै फिट गरेर जब उनको स्मरण क्षमता जाँचे, त्यहाँ उनले अरुमा भिडियोमा जस्तै हुतुतु गर्दै पढेनन्, विस्तारै किताब रट्न खोजे। जब क्यामेरा हेरियो, उनलाई लेखाउन लगाइएका नयाँ पेजहरु अकस्मात् कोठामा देखापरे। अचम्म त के भने जब उनलाई उनले आफैंले लेखेका वाक्यको पहिलो शब्दबारे सोधियो, उनी अकमकिए, अनि फेरि हुतुतु गर्नुपर्ने र त्यसका लागि फेरि ३० मिनेट लाग्ने भन्न थाले। जबकी यसअघि उनले आफूले एकपटक पढेको कुरा कहिल्यै नबिर्सिने दाबी गर्दै आइरहेका थिए।

नेल्सन डेलिसको भिडियो सार्वजनिक भएपछि विजय शाही ‘फेक’ प्रतिभा त उदाङ्गो भयो नै, सँगसँगै उनलाई चर्चामा लिएर आउने भाग्यप्रति पनि आलोचना सुरु भयो। प्रशंसकहरुले उनकै च्यानलको भिडियोमुनि कमेन्ट गर्न थाले, ‘यो विजय शाही भन्ने ठगलाई ल्याउने भाग्य न्यौपानेलाई कारवाही गर्नुपर्छ।’  

उता विजय शाहीले नेपालगन्जमा एक महिनामा अंग्रेजी सिकाइदिन्छु भनेर धेरै व्यक्तिहरुबाट ३५ सयदेखि ५ हजारसम्म उठाएका रहस्य पनि खुल्दै गयो। यता विजयले आफ्नो प्रतिभालाई कहिले फर्मुलाको देन त कहिले दैविक शक्ति दाबी गर्न छाडेनन्। 

यता जतिजति विजयको वास्तविक चरित्र उदाङ्गो हुँदै, उति नै भाग्य न्यौपानेको आलोचना पनि बढ्दै गयो। सुरुसुरुमा राम्रो कमेन्टले भरिने उनको च्यानलमा अपलोड हुने हरेक भिडियोमा गालीको वर्षा हुन थाल्यो। भाग्यले आफूलाई चोख्याउन जति माफी मागेपनि उनका प्रायः भिडियोमुनि पुष्पा अधिकारीसँग गरेको दुर्व्यवयहार र भ्यूजका लागि विजय शाहीलाई चर्चामा ल्याएको विषयमै बढी कमेन्ट आउन थाले। 

नेल्सन डेलिसको भिडियो सार्वजनिक भएपछि विजय शाही ‘फेक’ प्रतिभा त उदाङ्गो भयो नै, सँगसँगै उनलाई चर्चामा लिएर आउने भाग्यप्रति पनि आलोचना सुरु भयो। प्रशंसकहरुले उनकै च्यानलको भिडियोमुनि कमेन्ट गर्न थाले, ‘यो विजय शाही भन्ने ठगलाई ल्याउने भाग्य न्यौपानेलाई कारवाही गर्नुपर्छ।’  

‘त्यसपछि उनका हरेक भिडियोमा यति नेगेटिभ कमेन्ट आउन थाले कि लाखौंको तहमा भ्यूज जाने उनको च्यानलमा दश हजार भ्यूज कट्न पनि कठिन हुन थाल्यो,’ युट्युबसम्बन्धी जानकार टेक्निकल सपोर्टर दुर्गा पंगेनी भन्छन्, ‘एक हिसाबले भन्दा उनको च्यानलको पर्फर्मेन्स एकदम कमजोर हुन थाल्यो, लाखौँको रेसियोमा आम्दानी गरिरहेका भाग्यको कमाइ पनि एकाएक हजारमा झर्न थाल्यो। त्यसपछि उनले युट्युबमा भिडियो अपलोड गर्नै छाडे। एक तरिकाले हेर्दा तत्कालको लागि नेगेटिभ कमेन्टकै कारण भाग्यले भिडियो मेकिङबाट विश्राम लिए र वैकल्पिक व्यवसाय सुरु गर्नुपर्ने बाध्यता उनलाई आइलाग्यो । त्यही भएर आजपर्यान्त भाग्यले कुनै पनि नयाँ कन्टेन्ट दर्शकलाई दिन सकेका छैनन्।’

युट्युब वृत्तमा भाग्यप्रति टिप्पणी नै हुने गर्छ, विजय शाहीले भाग्य न्यौपानेको भाग्य फुटाइदियो। भाग्य स्वयंले रातोपाटीको युट्युब च्यानलमा स्वीकारेका छन्, ‘वर्ल्ड रेकर्डको सर्टिफिकेट लिएर आएपछि मैले विजय शाहीको कला देखाएको हो। पत्याउनु चाहिँ गल्ती भयो मेरो।’

अचेल आफैं युट्युबमा फेक न्यूजको सिकार

आफूलाई सञ्चारकर्मी दाबी गर्ने भाग्य खासगरी युट्युबमा ‘सामाजिक अभियन्ता’बनेर पनि काम गर्दै आइरहेका थिए। गाउँ–गाउँमा दीनदुःखीहरुसँग कुराकानी गरेर भिडियो बनाउँथे, अनि उनीहरुका लागि सहयोग गुहार्थे। देशविदेशबाट रकम उठाएर धेरैलाई उनले सहयोग गरे पनि तर त्यसको पारदर्शितामाथि सधैँ प्रश्न उठिरह्यो। 

भाग्य युट्युबमा देखिन छाडेपछि यतिखेर केही युट्युबहरुले नै उनको खोजीमा कन्टेन्ट बनाएर युट्युबमा हालेका छन्। रातोपाटी मिडियामा भाग्यले फोन इन्टरभ्यू नै दिएका छन्, जहाँ उनी हराइएप्रति प्रश्न गरिएको छ। जवाफमा उनले भिडियोको तयारी गरिरहेको र चाँडै आउने बताएका छन्। कोभिड संक्रमण र पारिवारिक कारणले आफूले सक्रिय नभएको जवाफ दिएर पन्छिएका छन् उनी। 

‘म युट्युबमा आएको नै तल्लो स्तरका मान्छेहरुको कन्टेन्ट बाहिर ल्याउन भनेर नै हो। मैले अशोक दर्जी, कमला घिमिरेजस्ता प्रतिभा बाहिर ल्याएँ पनि,’ उनले भनेका छन्, ‘अब आउँदा हिजो गरेका गल्ती नगरौं भन्ने लागेको छ। त्यसैले आफूलाई समीक्षा गरेर आउँदैछु।’ 

हिजो आफूबाट गल्ती भएको कुरा भाग्य आजै सहजै स्वीकारिरहेका त छन् नै, तर सँगसँगै आफैं फेक न्यूजको सिकार पनि भइरहेका छन्, युट्युबमा। नौलो शुभ अनलाइन टिभी नामको च्यानलले उनीमाथि फेक भिडियो बनाएको छ, जसको शीर्षक छ, ‘भाग्य न्यौपाने परे अपहरणमा।’ अनि थम्बनेलमा लेखिएको छ, ‘हजारौंको भाग्य बदलेका भाग्यलाई के भयो? भेटिए यस्तो अवस्थामा...।’

यो त उदाहरण मात्रै हो, यस्ता धेरै फेक भिडियोहरु बनेका छन्, युट्युबमा उनी हराएपछि। कतिपयले उनले सुटुक्क बिहे गरेको खबर पनि हालिरहेका छन्। तैपनि भाग्य हिजोआज मौन छन्। यस्तो लाग्छ, आफ्नै फेक न्यूज हेरेपछि आज आफ्नै पुराना कामहरुको गम्भीर समीक्षामा छन्। सायद सोचिरहेछन्, ‘डलर छाप्नकै लागि मैले युट्युबमा कसैको आँशु बेच्नु हुँदैनथ्यो, त्यस्तो फेक काम गर्नु हुँदैनथ्यो।’ 

प्रकाशित: Dec 21, 2021| 18:30 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्