आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

nespernesper

साँठगाँठकै कारण शीर्ष नेताले मुख खोलेनन्, जबरासँग म एक्लै लड्छु : वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।
 |  आइतबार, मंसिर ५, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, मंसिर ५, २०७८

कृष्णप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता हुन्। उमेरले ९५ वर्ष पार गरेका उनी नियमित बार र अदालत धाइरहन्छन्। न्यायिक शुद्धता र सुधारका लागि भन्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा बयोवृद्ध भण्डारी पनि सक्रिय सहभागी हुँदै आएका छन्। वकालती जीवनमा थुप्रै प्रधानन्यायाधीशसँग काम गरेका वरिष्ठ अधिवक्ता भण्डारीसँग नेपाल समयले गरेको कुराकानीको सम्पादित अंश :

triton college

२२ दिनदेखि प्रधानन्याधीशको राजीनामा माग्दै कानुन व्यवसायी आन्दोलित छन्। नेपालको न्यायालय क्षेत्रमा कहिल्यै यसरी प्रधानन्याधीशको राजीनामा मागेर आन्दोलन भएको थियो? 

यस किसिमको आन्दोलन कहिले पनि भएको थिएन। अन्य देशमा पनि भएको मलाई सम्झना छैन। हामीले धेरै थाकेर आन्दोलन सुरु गरेका हौं। संसारमा न्याय सुधारका धेरै सिद्धान्त छन्। नेपालमा हामीले अधिकांश सिद्धान्तको प्रयोग गरेका छौं। निकै दुःख गरेर नेपालको न्यायालय सुधार्‍यौं। यसलाई जनताको आस्था र भरोसाको केन्द्र बनायौं। तर अहिले त्यही न्यायालय ध्वस्त बनाउने काम भएपछि हामी आन्दोलित हुनुपरेको हो। नेपाल बारले नेपालको न्याय क्षेत्रमा जुनस्तरको भूमिका खेलेको छ, त्यस्तो संसारमा कमै देख्न पाइन्छ । 

सर्वोच्च अदालतको पूर्ण बैठकले पेसी तोक्दा गोला प्रथा प्रणाली बनाउने निर्णय गर्‍यो। यो निर्णयले अहिले न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचार हटाउन कति मद्दत गर्ला?

यसले २५ प्रतिशत भ्रष्टाचार रोक्छ। सुधारको एउटा खुड्किलोका रुपमा काम गर्छ। न्यायालय सुधारका लागि एउटा अवसर हो। प्रधानन्यायाधीशको मनपरी पनि रोक्छ। तर नेपालमा बिचौलिया र माफिया यति चलाख छन् कि यिनले गोला प्रथामा पनि सेटिङ मिलाएर काम गर्न सक्छन्। तपाईंको मुद्दा र मेरो मुद्दा दुवैतिर साइन गर्दिन्छन्। बिचौलियाहरुले दुवैतिर सेटिङ मिलाएर सेवाग्राहीसँग पैसा खाइदिन्छन्। यसतर्फ खबरदारी गरिरहनुपर्छ। तर, गोला प्रथाबाट पेसी तोकिँदा न्यायालयमा देखिएको समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। 

Metro Mart
vianet

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन भयो भने चाहिँ न्यायालयमा देखिएको सबै समस्या समाधान हुन्छ? 

हो, यो प्रतिवेदनले औंल्याएका समस्यालाई मिहीन ढंगले अध्ययन गरेर, त्यसले दिएको सुझाव कार्यान्वयन गर्ने हो भने धेरै समस्या हल हुन्छ। प्रतिवेदनमा क्रमबद्ध रुपमा के गर्ने भन्ने पनि उल्लेख छ। तर, प्रतिवेदन कार्यान्वयन गर्न मुख्य बाधक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नै बनेका छन्। न्यायालयको साख उठाउने भन्दा गिराउने काममा उनी सक्रिय छन्। त्यसैले हामीले उनको राजीनामा मागेका हौं। सोही कारण म ९५ वर्षको मान्छे पनि सडकमा आएको हुँ। तपाईंलाई भन्छु कि हामी एक कदम अगाडि बढिसकेका छौं। हामीसँग म्याटर तयार भइसकेको छ। वकिलहरु तनमनधनले तयार छौं।  वकिल समुदायमा बेलायत र अमेरिकामा पढेका विद्वान् धेरै छन्। पत्रकारहरुले साथ दिने हो भने हामी न्यायालय सुधारेर नै छाड्छौं। हामी बूढालाई के को लोभ? कसको डर? हामी गर्छौं भनेपछि गर्छौं–गर्छौं। 

प्रधानन्यायधीश जबराले राजीनामा दिँदैमा न्यायपालिकामा अहिले देखिएका समस्या हल हुन्छन् त?

जबरा रहेसम्म न्यायालयमा कुनै सुधार हुनेवाला छैन। उनले राम्रा काम छेक्ने ढक्कनको रुपमा काम गरिरहेका छन्। आमूल परिवर्तन गर्नु छ भने त्यसका लागि जराबाट नै सुरु गर्नुपर्छ। प्रमुख बाधक हटाउनुपर्छ। जबरा भ्रष्टाचारी र बिचौलियका नाइके हुन्। मुख्य नाइके नै सिध्याएपछि अरु त त्यसै डरले पनि भाग्छन्। उनी आफैंमा समस्या हुन्। उनी हटेपछि सुधारका काम सुरु गर्न सहज हुन्छ। जब न्याय किनबेच गर्ने मान्छे हुँदैन, बिचौलियाको नाइके हुँदैन, घुस खाने मान्छे हुँदैन, त्यसपछि सुधार सुरु भइहाल्छ। नेपालको न्यायालय सुधार्न सर्वोच्च अदालत मात्रै होइन हाम्रा स्थानीय तहलाई पनि सक्रिय बनाउनुपर्छ। स्थानीय तहमा कानुन नजानेको मान्छे उपमेयर न्यायिक निरुपणको प्रमुख हुन्छन्। उनीहरुलाई के सही के गलत के थाहा? त्यसैले घरघरमा न्यायको अनुभुति दिलाउने गरी सर्वोच्चदेखि स्थानीय तहसम्म न्याय सर्वसुलभ ढंगले पाउने व्यवस्था मिलाउनुपर्छ। 

सुधारका काम के के गर्नुपर्छ वा के के हुन सक्छन्? 

रत्नाकार जस्तो डाँकु वाल्मीकि बन्यो। त्यही सम्झेर हामीले साढे २ वर्षसम्म जबरालाई हेर्‍यौं। उनले सुधारभन्दा  न्यायालय ध्वस्त बनाउँदै लगे। उनीबाट नेताहरुले समेत लाभ लिए। जनतालाई न्याय दिनेभन्दा उनी आफ्नो धन्दा चलाउन सक्रिय भए। त्यसैले हामीले उनीविरुद्ध आन्दोलन थालेका हौं। हामीले जनतालई सहज ढंगबाट न्याय देऊ भनिरहेका छौं। जनताले न्याय सहज ढंगबाट पाउन जे जे गर्नुपर्छ हामी त्यो सबै काम गर्न तयार छौं। कानुन व्यवसायीले त्यसतर्फ ध्यान केन्द्रित गर्नेछन्। 

हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो। घरको झगडा हो। घरभित्रै मिलाऊ भनेर प्रयास पनि गरेको हो। तर, अत्ति गरेपछि हामी आन्दोलित भयौं।

एउटा किताबमा लेखिएको थियो, करप्सन इन द क्यान्सर। जब नियुक्ति नै घुस दिएर वा लिएर हुन्छ भने त्यसले कसरी जनपक्षीय काम गर्नसक्छ? ऊ त आफ्नो गएको पैसा उठाउने धन्दामा सक्रिय हुन्छ। त्यसैले न्यायालयमा हुने घुसको खेल रोक्नुपर्छ। बिचौलियाको बिगबिगी छ, त्यसलाई खत्तम पार्नुपर्छ। त्यसपछि न्यायालय सुध्रिहाल्छ। मुख्य दुश्मन भनेको बिचौलिया हो। बिचौलियालाई प्रहार गर्छौं। कहिलेकाहीं मान्छेले के भन्छ भने ठूलो खम्बाले मात्रै घर बन्दैन सानो सानो खम्बा पनि चाहिन्छ। हामी सानोसानो काम पनि गर्छौं। पहिलो बिचौलियाको नाइके स्वाहा पार्छौं। दोस्रो लिगल कानुनी शिक्षाको विकास गर्छौं। 

प्रधानन्यायाधीश त राजीनामा दिने मुडमा छैनन्। जसरी हुन्छ पेलेरै जान्छु भन्दैछन्। यस्तो अवस्थामा यो आन्दोलन कति दिनसम्म चल्छ होला र? 

म संस्थागत मान्छे हुँ। म एक्लै जबरालाई काम गर्न रोक्न सक्छु। उसले छुन सक्छन् मलाई? तर, यो अन्तिम कदम हो। यो अवस्थामा पुग्नुअघि हामी धेरै स्टेपमा आन्दोलन गर्छौं।  चिन्ता नगर्नुस्, समय लाग्छ। न्यायिक संघर्ष भनेको बडो मर्यादित हुन्छ। हामी ट्रेड युनियन जस्तो होइनौं। आतंककारी पनि होइनौं। हामीले दुई दिन मिटिङ गर्‍यौं। सडकमा उत्रिनुअघि हामीले सचेत गरायौं। सुधारका लागि प्रतिवेदन दियौँ। तर, हाम्रा कुरा नसुनिएपछि र उनले मनपरी गर्न नछाडेपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो। घरको झगडा हो। घरभित्रै मिलाऊ भनेर प्रयास पनि गरेको हो। तर, अत्ति गरेपछि हामी आन्दोलित भयौं। अब उनको राजीनामाका लागि हामी सीमा पार गर्न पनि तयार छौं। 

त्यो भनेको के हो? कुन हदसम्म जान्छौं भन्न खोज्नुभएको हो? 

त्यो नभनौं अहिले। हतियार प्रयोग गर्दा कुनकुन हतियार हुन्छ, मिसाइल हुन्छ कि के हुन्छ। अहिले भनिनहालौँ। तर, हामी सीमा पार गर्छौं। अहिलेसम्म हामी मर्यादित भएर काम गरिहेका छौं। तर हामीले सानो तिनो सीमा पार गरेका छौं। हाम्रो काम नारा लगाउने होइन  तर, लगाइरहेका छौं। उनले राजीनामा नदिए अब सीमा पार गर्ने क्रम क्रमशः बढ्दै जानेछ। 

तपाईं जतिको उमेरको मान्छे पनि यसरी आन्दोलनमा सडकमा उत्रिनुभएको छ? तर, दलहरु चुपचाप छन्। किन होला? 

मेरो दृष्टिकोणमा नेपालमा धेरै नेताहरु भ्रष्टाचारी छन्। आफ्नो भ्रष्टाचारसम्बन्धी फाइलमा अदालतले केही निर्णय गर्ला कि भन्ने डर छ उनीहरुलाई। त्यसैले बोल्न सकिरहेका छैनन् जस्तो लाग्छ मलाई। उनीहरु आफ्नै पोल खुल्ने डरले बोल्न डराएका छन्। मेरो विचारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई के लागेको छ भने राणाले मलाई प्रधानमन्त्री बनाए, मुद्दा जिताए। यस्तै कारणले उनी पनि बोल्न सकेका छैनन्। अन्य नेता पनि प्रधानन्यायाधीशसँग डराएका छन्। उनलाई दबाब दिँदा आफ्ना पोल खुल्ने चिन्ता उनीहरुमा छ।  साठगाँठकै कारण शीर्ष नेताले मुख खेल्न सकेनन्। 

दलहरु यसरी चुप लागेर कति समयसम्म बस्न सक्लान्?

सक्दैनन्। त्यही भएर हामीले चुनौती दिइरहेका छौं। दलहरुले साथ नदिए पनि म एक्लै जबराविरुद्ध लड्न तयार छु। हामी कानुन व्यवसायी कुनै हालतमा पछि हट्नेवाला छैनौं। 

यस बीचमा प्रधानन्यायाधीश जबरासँग तपाईंको कुरा भएको छ? 

उनलाई थाहा छ, म झुक्ने मान्छै हैन। त्यसैले कुरा भएको छैन। वास्तवमा उनले गर्नुपर्ने थियो। म त सिनियर मान्छे हुँ नि। हाम्रो न्याय क्षेत्रमा त कस्तो हुन्छ भने जो सिनियर न्यायाधीश वा वकिल हुन्छ त्यो अति नै आदरणीय हुन्छ। उनी मसँग डराउँछन्। म उनीसँग झुक्नेवाला छैन। मैले टेलिफोन गरेको छैन। उनले पनि भेट्ने आँट गरेका छैनन्। 

प्रधानन्यायाधीश हुनुअगाडि तपाईंले चिन्नुभएको जबरा कस्ता थिए?

मैले बारबार भन्ने गर्छु जबराको एउटा फैसला पनि उत्तम देखाइदिनुस्? सुरुदेखि नै भन्ने गरेको थिएँ, यी मान्छेको चरित्र ठिक छैन भनेर। यिनको चरित्र नटवरलालको जस्तो छ। यिनको सबैभन्दा ठूलो गुण यी अति चलाख छन्। कहाँ तीर हान्छन् थाहा हुँदैन। मान्छे फकाउन, माहोल आफ्नो पक्षमा पार्न खप्पिस छन् उनी। 

अदालत व्यवसाय गर्ने ठाउँ हैन। न्याय किनबेच गर्ने थलो होइन। कसैले कमाऊ धन्दा चलाउने स्थल होइन। यसमा वकिल पनि दोषी छन्। उनीहरुमाथि पनि निगरानीको खाँचो छ।

सर्वोच्च अदालतको स्थापनाकालदेखि नै बहस गर्दै आइरहनुभएको छ। तपाईंले देख्नुभएको न्यायालय खास कस्तो हो?

मैले भन्ने गरेको छु, इतिहास केलाएर हेर्नुहोला। हरिप्रसाद प्रधान धेरै उच्च कोटिको मान्छे हुन्। त्यसपछि भगवतीप्रसाद सिंहले हरिप्रसादको बाटो पछ्याएर राम्रो काम गरे। त्यतिखेर हरेक न्यायाधीश अति राम्रा थिए। हाम्रा कुरा सुन्थे, हामी उनीहरुका सुन्थ्यौं। २०२३÷२४ सालमा नेपालको न्याय क्षेत्र स्वर्णयुगमा थियो। आज केही न्यायाधीश घुसिया हुनाले हाम्रो न्याय क्षेत्र नर्कमा पुगेको छ। हामी त्यही स्वर्ण युगमा फर्काउन चाहन्छौं। जनताले सहजै न्याय पाउने, न्यायाधीशले आफूलाई महाराज नठान्ने त्यो समयका लागि हामी संघर्ष गरिरहेका छौं। 


 सर्वोच्च अदालतमा किन सर्वसाधारणको मुद्दा अल्झाइन्छ होला?

हामी फैसला होइन न्यायसहितको फैसलाका लागि संघर्ष गरिरहेका छौं। र, सर्वसाधारणको मुद्दा छिटोछरितो हेरिने, उनीहरुको न्यायमा सहज पहुँच हुने अवस्था सिर्जना गर्न हामी लागिपरेका छौं। त्यो दिन चाँडै आउँछ। अहिले घुसिया न्यायाधीश र बिचौलियाहरुको बिगबिगी भएकै कारण पैसा तिर्न नसक्ने सर्वसाधारणको मुद्दा ओझेलमा पर्ने गरेको छ। उनीहरु वर्षौंसम्म धाउँदा पनि न्याय नपाउने अवस्था छ। 

अदालतलाई कमाउने भाँडो बनाए भन्न खोज्नुभएको हो?

हो, अदालत व्यवसाय गर्ने ठाउँ हैन। न्याय किनबेच गर्ने थलो होइन। कसैले कमाऊ धन्दा चलाउने स्थल होइन। यसमा वकिल पनि दोषी छन्। उनीहरुमाथि पनि निगरानीको खाँचो छ। न्यायाधीशहरु त सबैभन्दा धेरै भ्रष्ट छन्। त्यसैले तपाईंहरुको विशेष निगरानीको खाँचो छ। हामी सबै मिलेर लाग्यौं भने यो स्थितिको अन्त्य गर्न सकिन्छ। हामी सबै एकजुट भएर लाग्नुपर्छ।

प्रकाशित: Nov 21, 2021| 17:37 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...