काठमाडौं- घडीमा बिहानको साढे ९ बज्दै थियो। कानुन व्यवसायीहरुको भीडले सर्वोच्च अदालतको गेट ढाकिसकेको थियो। नेपाल बार एसोसिएसनको आह्वानमा भेला भएका दर्जनौँ कानुन व्यवसायी शुक्रबार पनि सर्वोच्चको मूल गेट अगाडि धर्नामा बस्न खोज्दै थिए।
त्यही बेला प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई हटाउने प्रयास गर्यो। धकेलाधकेल भयो। केही व्यक्ति घाइते समेत भए। केही कानुन व्यवसायीलाई प्रहरीले गिरफ्तारसमेत गर्यो। केहि बेर तनावपूर्ण बनेको स्थिति विस्तारै साम्य भयो। र, कानुन व्यवसायीहरू पेलेरै सर्वोच्च अदालतको मूल गेट अगाडि धर्ना बसे।
कानुन व्यवसायी यसरी पलेँटी कसेर धर्ना बस्नुको मुख्य उद्देश्य थियो, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न रोक लगाउनु। उनीहरु धर्ना बसेको करिब एक घण्टापछि जबरा हुइकिँदै आए, र अर्कै बाटोबाट सर्वोच्च अदालतभित्र प्रवेश गरे। जबराको यो शैली कानुन व्यवसायी झनै आक्रोशित बने। उनीहरुले भने, 'कतिन्जेल चोरबाटोबाट हिड्छौँ जबरा? हामी यसै छाड्नेवाला छैनौँ।'
प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश गरेपछि पनि करिब एक घण्टा सर्वोच्चको मूल गेटअघि कानुन व्यवसायीहरु धर्नामा बसे। यही धर्नामा थिए, ९५ वर्षीय वयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी। धर्नालाई सुरक्षाकर्मीको जत्थाले यसरी घेरेको थियो, मानौँ दायाँबायाँ गर्ने बित्तिकै उनीहरु कानुन व्यवसायीमाथि बल प्रयोग भइहाल्थ्यो।
जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम गरेको समेत थापाको आरोप थियो।
२ घण्टा लामो धर्नापछि नेपाल बार एसोसिएसनको प्राङ्गणमा आएर कानुन व्यवसायीहरुले नाराबाजी गरे। वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका र कार्यपालिकाबीचको सीमारेखालाई समाप्त पारेको मात्रै आरोप लगाएनन्, बरु प्रधानन्यायाधीश जबरा एउटा सीडीओको रुपमा रुपान्तरण भएको समेत टिप्पणी गरे। उनले भने– ‘उहाँले न्यायालय ध्वस्त बनाउनु भयो, न्यायपालिका र कार्यपालिकाको सीमारेखा सबै मेटिदिनु भयो।’
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराले पैसाको बलमा न्यायको चीरहरण गरिरहेको आरोप लगाए। जबराले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम गरेको समेत थापाको आरोप थियो। अब जबरालाई गंगाजल छर्केर शुद्ध पार्ने अवस्था नरहेको भन्दै थापाले उनको राजीनामा लागि बार अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत दिए।
नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए। आन्दोलन सडकमा पुगेको भन्दै यसमा हस्तक्षेपको प्रयास भए त्यो झनै महंगो हुने चेतावनीसमेत दिए। उनले भने, ‘न्याय मार्ने व्यक्ति प्रधानन्यायाधीश हुन सक्दैन। राजीनामा वा पदच्यूत नभएसम्म हामी रोकिनेवाला छैनौँ।’
कानुन व्यवसायीहरु प्रधान्यायाधीशको राजीनामा माग्दै यसरी आन्दोलित भइरहँदा न्यायका लागि सर्वोच्च अदालत आएका व्यक्तिहरु भने अलमलमा परिरहेका थिए। शुक्रबारका लागि पेसी तोकिए पनि सुनुवाई हुने अवस्था नबनेपछि उनीहरु निराश देखिन्थे।
यिनै सेवाग्राहीमध्येकी एक हुन् कञ्चनपुरबाट आएकी गोमा केसी। उनको मुद्दाको पेसी शुक्रबारका लागि तोकिएको थियो। तर वकिल र न्यायाधीशको आन्दोलनले पेसी नै चढ्न सकेन। उनले निराश हुँदै हामीलाई सुनाइन्, ‘यो सर्वोच्च अदालत होइन यो भ्रष्ट अदालत हो।’
यस्तै केही पीडितलाई भेला पारेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा नारा लगाउनेहरुको पनि देखिए शुक्रबार। 'बेन्च बहिष्कार गर्न पाइँदैन' भन्दै उनीहरू नयाँ बानेश्वर चोक नजिक गीत घन्काउँदै नारा लगाइरहेका थिए, 'रातो र चन्द्र सूर्य' बोलको गीतमा।
सेतो पट्टी बाधेका उनीहरुको नारा थियो ‘दबाबमा प्रधानन्यायाधीश हटाउन मिल्दैन’। यो भीडमा ती व्यक्ति पनि थिए जसले बारको प्राङ्गणमा कुटाकुट गरेका थिए। उनीहरुले जबराविरुद्ध उत्रिएका वरिष्ठ अधिवक्ताहरु आफै भ्रष्ट भएको मात्रै आरोप लगाएनन्, बारको आन्दोलन अरुको इशारा भएको समेत दाबी गरे।
एकातिर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गर्नेको भीड, अर्कोतिर जबराको समर्थनमा नाराबाजी गर्नेहरूको जमात। यी दुवैको चेपुवामा थिए, न्याय खोज्दै अदालत पुगेका सर्वसाधारण। यो दृष्यले न्यायालय झन् झन् बदनाम बन्दै गइरहेको छ। केही व्यक्तिका कारण अदालत बन्धक हुँदै गएको छ। सर्वसाधारण न्यायका लागि तड्पिरहनु परेको छ।