शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • विद्या र ओलीले पाखा नपारेको भए म ४ वर्षअघि नै मुख्यमन्त्री बन्थेँ : मुख्यमन्त्री पाण्डे [अन्तर्वार्ता]

विद्या र ओलीले पाखा नपारेको भए म ४ वर्षअघि नै मुख्यमन्त्री बन्थेँ : मुख्यमन्त्री पाण्डे [अन्तर्वार्ता]

 |  शुक्रबार, कात्तिक १९, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

शुक्रबार, कात्तिक १९, २०७८

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएसँगै गत कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त भए। गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका पाण्डे यसअघि चार पटकसम्म संघीय सांसद र संघीय सरकारमा एकपटक मन्त्री भइसकेका नेता हुन्। 

triton college

उनको कार्यकाल अब बाँकी रहेको १४ महिना मात्र छ। गठबन्धनमा सामेल दलहरूको चित्त बुझाउनकै लागि उनले ८ वटा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी समेत गरेको खबर बाहिरिएको छ। ४ वर्षको प्रतीक्षापछि मुख्यमन्त्री बनेका उनले बनाएका योजना र चुनौतीलगायतका विषयमा नेपाल समयले गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश: 

मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेश झर्नु भएको थियो। तर, मुख्यमन्त्री बन्न त करिब ४ वर्ष लाग्यो है? 

२०७४ सालमा निर्वाचन हुनुभन्दा एकमहिना अघि माननीय अष्टलक्ष्मी शाक्य (शाक्य त्यसबेला एमालेको बागमती प्रदेश प्रमुख थिइन्)ले एकचोटि होइन, तीन-तीन चोटी तपाईं मुख्यमन्त्री बन्न प्रदेशमा जानुपर्छ भनेर आग्रह गर्नु भएको थियो। यो प्रदेशमा मुख्यमन्त्री बन्न लायक तपाईं जतिको नेता अरु कोही छैनन् भन्नु भयो। तपाई केन्द्रमा होइन प्रदेशमा चुनाव लड्नुपर्छ भनेर पटकपटक आग्रह गर्नुभयो। पछि उहाँ आफैँ मुख्यमन्त्री बन्ने भनेर चुनाव लड्न जानुभयो। 

वास्तवमा भन्ने हो भने प्रदेशमा जाने कुरा मेरो दिमागमै थिएन, चार चार चोटी केन्द्रीय सांसद् भइसकेको, केन्द्रीय मन्त्री भइसकेको, सचेतक र मुख्यसचेतक भइसकेको म यहाँ आउँला भन्ने लागेकै थिएन। पहिलो पटक संघीय संरचना अनुसार अभ्यास हुने भएकाले योग्य र अनुभवी नेताहरूले प्रदेशमा चुनाव लड्नु पर्छ र मुख्यमन्त्री बन्नुपर्छ भन्ने कुरा चाहिँ गरेको थिएँ। संघीयतालाई व्यवस्थित गर्न पनि यो काम आवश्यक थियो। तर, मेरो कुरा खासै लागू भएनन्। यद्यपि तत्कालीन एमालेबाट तीन जना केन्द्रीय सरकारमा मन्त्री भैसकेका नेताहरू प्रदेशमा चुनाव लडे। उनीहरू पछि मुख्यमन्त्री पनि बने। तर, खासै उल्लेखनीय काम गर्न भने सकेनन्। 

corrent noodles
Metro Mart

बागमती प्रदेशमा मैले त्यतिखेर मुख्यमन्त्री भूमिका पाएको भए केही गर्थेँ भन्ने लाग्छ। तर, पार्टीभित्रको आन्तरिक राजनीति, गुटबन्दी र जालझेलका कारण म त्यो अवसरबाट करिब ४ वर्षसम्म वञ्चित भएँ। यति लामो प्रतीक्षा गर्दा पनि म अहिले अर्कै पार्टीबाट मुख्यमन्त्री बन्ने अवस्था सिर्जना भयो। 

मुख्यमन्त्री बन्नका लागि पेल्नु परेको पापड सम्झिँदा ग्लानि त लाग्दैन नि? 

मेरा धेरै साथीहरुले तपाईं किन प्रदश झरेको? ४ पटक केन्द्रीय सांसद् भएको, त्यत्रो प्रभाव जमाएको मान्छे झर्न हुँदैन पनि भने। तर, राजनीतिमा सबै खाले परिस्थिति तयार हुँदो रहेछ। राजनीतिलाई जीवित राख्नका लागि पनि तल झरेको जस्तो देखियो। तर, बेकार झरेजस्तो चाँहि भएको छैन। 

बागमती प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल बन्लान् र, तपाईं चाँहि पाखा लाग्नुपर्ला भनेर सोच्नु भएको थियो? 

त्यस्तो कुरा कल्पनासम्म गरिएको थिएन। डोरमणिजीले मेरै घरमा गएर मसँग 'अब तपाईं मुख्यमन्त्री बन्दै हुनुहुन्छ। मलाई सहरी विकास मन्त्री दिनु पर्‍यो' भन्नु भएको थियो। मसँग मात्रै होइन, अष्टलक्ष्मी शाक्यसँग पनि त्यही भन्नु भएको रहेछ। उहाँ आफैलाई पनि मुख्यमन्त्री हुन्छु भन्ने कुरामा कुनै विश्वास थिएन।

तर, अचानक हाम्रो पार्टीभित्रको गुटबन्दीपूर्ण गतिविधि र त्यससँगै मौलाएको प्रवृत्तिले 'ठूला दरबार' (राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली)बाट आशीर्वाद पाउनु भयो। मेरो दरबारतिर धाउने बानी थिएन, जनतातिर धाउने बानी थियो, त्यसैले म पाखा परेँ। त्यतिबेला मुख्यमन्त्रीको पद दरबारतिर धाउँदा पाइने पद बनाएका थिए। अहिले चाहि हाम्रो नयाँ गठबन्धन तयार भयो। गठबन्धनको साझा उम्मेदारका रुपमा म मुख्यमन्त्री बनेको छु। 

गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नु भएको छ, तपाईंलाई सबैको चित्त बुझाएर यो सरकार टिकाउन निकै गाह्रो पर्ला नि? 

म नेताभन्दा जनताको चित्त बुझाउने काम गर्छु। त्यसो गर्दा मलाई सहयोग गर्ने नेताहरुले पनि चित्त बुझाउनु हुनेछ भन्ने विश्वास छ। जनताको चित्त बुझाउन म जनमुखी काम गर्नेकै लागि केन्द्रित हुनेछु। जसरी मनमोहन अधिकारी ९ महिनाको अवधिमा जनमुखी काम जनताको मनमा बस्नु भयो म त्यही प्रयत्नमा हुनेछु। 

शपथ लिएपछि मुख्यमन्त्री पाण्डे।

जनताले झेलिराखेको सास्ती, सरकारी कामकाजमा हुने ढिलासुस्ती, अव्यस्थाजस्ता कुरामा मेरो ध्यान केन्द्रित हुनेछ। यसो गर्दा मेरो गठबन्धनका साथीहरु बेखुस हुनु हुने छैन। मलाई कुनै अप्ठेरो पर्दैन। 

सबै दलका नेतालाई तपाईंले गरेको काम मन नै पर्छ भन्ने पनि नहुन सक्छ नि? 

अब अप्ठेरोकै कुरा गर्नुहुन्छ भने एकल पार्टीको सरकारजस्तो गठबन्धनको सरकार त किन हुन्थ्यो र? तर हामी एउटा निश्चित साझा कार्यक्रम र लक्ष्य सहित अघि बढेको र सबै साथीहरू समझदार रहेकाले कुनै अप्ठेरो हुँदैन भन्ने लाग्छ। म गठबन्धनले बनाएको साझा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुने भएकाले र छोटो अवधिमा धेरै काम पर्ने भएकाले पनि त्यस्तो ठूलो समस्या पर्दैन भन्ने लाग्छ। 

त्यसो भए गठबन्धनमा रहेका दलहरुको चित्त बुझाउँनकै लागि किन ८ वटा मन्त्रालय फुटाएर ११ वटा बनाउन लाग्नु भएको त? 

सुरुवातको बेलामा जुन मन्त्रालय बने ती मन्त्रालयहरु व्यवहारिक छैनन्। त्यो कुरा सबैले बुझ्न जरुरी छ। प्रदेशको आर्थिक आधार यातायात हो, यसबाट सबैभन्दा धेरै आम्दानी पनि हुन्छ। तर हाम्रो मन्त्रालयको व्यवस्थापन गर्दा यातायात श्रम रोजगारजस्ता विषय अहिलेको मन्त्रालयमा कहीँ अंकित छैनन्। 

एमाले फुटाएर लाभ लिएको होइन। एमाले हामीले फुटाएको पनि होइन। पार्टी फुटको सुरुवात केपी ओलीले पुष ५ गतेबाटै गरेका होइनन् र?

दोस्रो कुरा अहिले हामी आन्तरिक मामिला मन्त्रालय भनेर गरिरहेका छौँ। विपद् व्यवस्थापनको काम यही मन्त्रालयले गर्नु पर्ने हो। तर, त्यसका लागि खासै काम भएको छैन। त्यसैले हिजो नाम जे थियो, त्यो आधारमा भन्दा पनि अहिले नयाँ परिस्थितिअनुसार कामका आधारमा मन्त्रालय छुट्याउनु पर्ने आवाश्यकता परेर त्यसो गर्न लागिएको हो। त्यसका लागि गृहकार्य हुँदैछ। तर गठबन्धनमा सामेल दलहरुको चित्त बुझाउन वा भागबन्डा पुर्याउनकै लागि त्यसो गरिएको होइन। आवाश्यकता र काम सहज हुने वातावरण बनाउन मन्त्रालय विभाजन गर्न लागिएको हो। 

यसरी मन्त्रालय फुटाउँदा त जम्बो मन्त्रिपरिषद् बन्ने र त्यसले आर्थिक व्ययभार पनि बढाउने देखियो नि त? 

आर्थिक व्यवभार केही बढ्न सक्छ, तर आर्थिक आम्दानी दिने कुरामा पनि ध्यान दिनु पर्‍यो नि। अलिकति केही गर्न सक्ने साथीहरुलाई यस्तो मन्त्रालयको जिम्मा दिने हो भने उहाँहरुले पक्का राम्रो काम गर्नु हुनेछ। प्रदेशको आम्दानी बढ्ने र जनताले सहज रुपमा सेवा पाउने वातावरण बन्ने मेरो विश्वास छ। एउटा ड्राइभिङ लाइसेन्स लिनुपर्‍यो भने वर्ष दिन कुर्दा पनि पाइँदैन। यसै अवस्थामा त छाड्न मिलेन नि। त्यो काम हाम्रै जिम्मेवारी भित्र पर्छ। कम्तीमा एउटा सिस्टम बनाएर एक ढेड महिना भित्रै लाइसेन्स पाउने वातावरण बनायो भने जनताले त धन्यवाद देलान नि। अब यस्ता काम गर्न लाग्दा आर्थिक व्ययभार भयो भनेर त भएन नि। हामी यस्तै कुरामा अलि बढी केन्द्रित हुनेछौँ। 

लामो प्रतिक्षापछि मुख्यमन्त्री बन्नु भयो। तपाईका मुख्य प्राथमिकता र योजनाहरु के के छन्? 

जनतालाई सुशासनको अनुभुति दिलाउनु मेरो पहिलो प्राथमिकता हुनेछ। जहाँ जनताले सहजै सेवा पाउने छन्। दोस्रो नम्बरमा यस प्रदेशमा मुख्य समस्या बन्दै गएको फोहोर व्यवस्थापनको पाटोमा मेरो ध्यान केन्द्रित हुनेछ। विदेशबाट पर्यटक आउँछन्, विमानस्थलमा ओर्लिने बित्तिकै फोहोरको दुर्गन्ध सहनुपर्छ। यही फोहोर हेर्न आउ भनेको हो र विदेशीलाई? फोहोरलाई कसरी दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने भनेर मैले राम्रो सिस्टम बनाइ दिए भने बाँकी ६ प्रदेशले पनि त्यसबाट सिक्न सक्छन्। 

सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री पाण्डे।

अर्को कुरा दलित, लोपोन्मुख जातिका १ सय १९ जना बालिकालाई ३ वर्षे प्राविधिक शिक्षा दिएर दक्ष जनशक्ति बनाएर स्थानीय तहमा खटाउने योजना बनेको छ। मेरो मन्त्रिपरिषद्को पहिलो निर्णय यही हो। सुरुवात यहाँबाट गरेका छौँ। अब यस्ता कामलाई प्राथमिकता दिनेछौँ। 

अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने केही योजना त बनाउनु भएको छैन? कि तिनलाई आत्मसात नै गरेर अघि बढ्ने योजना छ? 

अघिल्लो सरकारले गरेका निर्णय अध्ययन गर्दैछु। राम्रा छन् भने त्यसलाई निरन्तरता दिइन्छ। होइन भने खारेज हुन्छन्। तर, विगतका सरकारले स्रोतको दुरुपयोग गर्दै गरेका कतिपय निर्णय भने मलाई मान्य छैन। कोही व्यक्तिलाई खुसी पार्न करोडौंको योजना पारी दिने मनलाग्दी पैसा बाढ्ने जुन काम भएको छ। त्यो फिर्ता हुन्छ। फजुल खर्च गर्न दिन्नँ। 

तर, तपाईं जसरी आफ्ना योजना बनाउँदै हुनुहुन्छ नि, यी योजना चाहिँ ७ महिना मात्रै मुख्यमन्त्रीको कुर्सीमा बसेर कार्यान्वयन गर्ने हो कि पुरै कार्यकाल १४ महिना नै बसेर गर्ने हो? 

मेरो कार्यकाल आउँदो चुनाव सम्म हो। म पूरा कार्यकाल अर्थात १४ महिनाकै लागि मुख्यमन्त्री भएको हुँ। हामीबीच त्यही समझदारी भएको छ। हामी यो कार्यकाल मात्रै होइन, अर्को ५ वर्ष अर्थात चुनावपछि पनि यहि गठबन्धन जीवित राख्न चाहन्छौँ। अन्य दलले पनि त्यही अनुसार सोचेका छन् भन्ने मेरो विश्वास छ। त्यसैले बीचमा मैले छोड्ने भन्ने हुँदैन। 

नेपाली कांग्रेसले त ७ महिनापछि बागमती प्रदेश सरकारको नेतृत्व हामीले गर्ने हो भनिरहेको छ नि त?

यो बाहिर हल्ला गरिएको मात्रै हो। तपाईंले नेपाली कांग्रेसको बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले टेलिभिजन अगाडि उभिएर भनेको सुन्नु भएको छैन? उहाँले प्रष्ट रुपमा भनिसक्नु भएको छ कि पुरै कार्यकाल उहाँले नै चलाउनु हुन्छ भनेर। हाम्रो केन्द्रीय गठबन्धनले केही नयाँ निर्णय गर्‍यो भने अर्को कुरा हो। होइन, भने यो सरकार पूरा चल्छ। यहाँ प्रदेशमा त्यस्तो कुनै सहमति भएको छैन।  

त्यसो भए तपाईंले बीचमै छाड्नुपर्दैन? 

त्यस्तो पर्दैन। म पार्टीको उपाध्यक्ष हुँ। पार्टीको जिम्मेवारी पनि मेरो काँधमा। म १३ जिल्लाको मात्रै नेता होइन। म ७७ जिल्लाकै नेता हुँ। पार्टीको कामको लोडले मैले छाडेँ भने अर्कै कुरा हो, नत्र छाड्नु पर्ने बाध्यता आउने छैन भन्नेमा पूर्ण विश्वस्त छु। 

एमाले फुटाएपछि राम्रै लाभ मिल्यो है, मुख्यमन्त्री बन्नुभयो। अरु नेताहरूले पनि लाभ लिए नि? 

एमाले फुटाएर लाभ लिएको होइन। एमाले हामीले फुटाएको पनि होइन। पार्टी फुटको सुरुवात केपी ओलीले पुष ५ गतेबाटै गरेका होइनन् र?

नेपाली कांग्रेसको बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले प्रष्ट रुपमा भनिसक्नु भएको छ, कि पुरै कार्यकाल उहाँ (राजेन्द्र पाण्डे)ले नै चलाउनु हुन्छ भनेर।

करिब दुई तिहाइको सरकार चलाउन छाडेर के खोज्न संसद्कै घाँटी निमोठेको? हामीले उहाँले गरेका गलत निर्णयमाथि प्रश्न मात्रै उठाएका थियौँ। त्यही प्रश्न गरेबापत उहाँले निरन्तर पेल्ने र हेप्ने काम गरेपछि यो अवस्था आएको होइन र? हामी फुटेको होइन। हामीले विद्रोह गरेको हो। यो अवस्थामा पुर्‍याउने केवल केपी ओली मात्रै हुन्। 

नयाँ पार्टी त बनाउनु भएको छ। अब तपाईंहरुको चुनावी रणनीति के हुन्छ? गठबन्धनमा आबद्ध दलहरुसँगै तालमेल गर्ने कि एक्लै लड्ने? 

अहिले हामी पार्टी निर्माणको अवस्थामा छौँ। अहिले देशभर संगठन बनाउने काम गरिरहेका छौँ। ८ हजार ७ सय ४३ वटै वडामा पहिले पार्टीलाई पुर्याउँछौँ। चुनावमा जाँदा आफ्नो पार्टीलाई बलियो बनाउन जे-जे गर्दा सम्भव हुन्छ, त्यो सबै गर्छौँ। 

यसको अर्थ एक्लै लड्ने आँट आएको छैन, गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने भन्ने हो? 

आँट नभएको भन्ने कुरा होइन। तर, गठबन्धन बलियो बनाएरै अघि बढ्नुपर्छ भन्ने एक किसिमको सहमति छ। त्यसैले हामी केपी ओलीबाहेक अरु सबैसँग मिलेर अघि बढ्ने हो। चुनावसम्म १० बुँदे सहमति भन्दै ओलीसँग मिल्न गएका साथीहरु पनि हामीसँगै आउँछन् यो हाम्रो विश्वास हो। 

प्रकाशित: Nov 05, 2021| 06:33 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...