काठमाडौं– पट्पटी फुटेका खुट्टा। आगोले पोलेजसरी चप्पलले पोलेर उठेका झिलझिले फोका। तिनै फोका फुटेर बनेका घाउ। गलेका खुट्टा र थाकेको शरीर बोकेर न्याय खोज्दै बाँकेबाट १४ महिला र ३ जना पुरुषको टोली काठमाडौं आइपुगेको छ। ५ सय १७ किलोमिटर पैदल हिँडेर उनीहरु बुधबार काठमाडौं आइपुगेका हुन्। न्यायका निम्ति सिंहदरबार ढकढक्याउन आइपुगेका उनीहरु शुक्रबारदेखि माइतीघर मण्डलामा रिले अनसन बसेका छन्।
उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन्– बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नगरेको। यी दुवै हत्या भएको उनीहरुको दाबी छ। घटनालाई प्रहरीले गम्भीर रुपमा नलिएको र अनुसन्धानमा पनि चासो नदिएको उनीहरुको आरोप छ। ‘स्थायी प्रहरी प्रशासनलाई पटक अनुरोध गरेपनि अनुसन्धान अघि बढाउन वेवास्ता गरेछि हामी बाध्य भएर २० दिन पैदल हिँड्दै सिंहदरबारको ढोका ढक्ढक्याउन आएका हौं,’ यात्रामा सहभागी राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले भनिन्।
रुबीका अनुसार दाइजोको निहुँमा यातना दिएर नकुन्नी धोबीको हत्या उनकै श्रीमानको परिवारले गरेको हो। गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । कुटपिट गरेर चरम यातना दिएपछि झुन्ड्याइएको उनको दाबी छ। तर, उक्त हत्याका विषयलाई आत्महत्या गरेको जसरी बाँके प्रहरीले हल्का रुपमा उनको भनाइ छ।
नकुन्नीका भाइ माताप्रसाद धोबीका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन । नकुन्नी रामकुमारकी तेस्रो श्रीमती हुन्। पहिलोबाट छोरी भए पनि दोस्रो र तेस्रो श्रीमतीबाट सन्तान भएको थिएन। ‘सन्तान नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन्,’ माताप्रसादले भने, ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्।’ यही विषयमा नकुन्नी र रामकुमारबीच पटक पटक झगडा पर्ने गरेको स्थानीय राहुल सेफ बताउँछन्।
‘पछिल्लो समय दाइजोको विषयलाई लिएर पनि रामकुमारले नकुन्नीमाथि कुटपिट गर्ने गरेका थिए। अन्तिममा मारिछाड्यो,’ उनले भने। नन्कुन्नीले आत्महत्या गरेको भनेर रामकुमार र उनको परिवारले दाबी गरेपनि यो हत्या नै भएको स्थानीय राहुल बताउँछन्। ‘डोरीमा झुन्डिएर आत्महत्या गरेको मान्छेको शरीरमा चोट कसरी लाग्यो? मुख र कानबाट रगत कसरी आयो? झुन्डिनका लागि डोरीमा चढ्न केहि साधन चाहिने हो, तर त्यस्तो केहि देखिँनैन। अब तपाई नै भन्नुहोस्– यो कसरी आत्महत्या भयो?’ उने भने। यस्तो संवेदनशील विषयमा स्थानीय प्रहरीले अनुसन्धान नगरेकै कारण आफूहरु बाध्य भएर २० दिन पैदल हिँडेर काठमाडौँ आउनुपरेको उनले बताए।
स्थानीय महिला अधिकारकर्मी सतिना तेरीका अनुसार घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो ।
सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन ।’ प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीको मृत अवस्थामा भेटिइन्। ‘यो मृत्यु चरम यातना पछि गरिएको हत्या हो। यसका विषयमा गहिरो अनुसन्धानको खाँचोे छ। हामी त्यहि माग्न काठमाडौं आएका हांै,’ उनले भनिन्। न्याय माग्न काठमाडौं आएका उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए तर, सुनुवाई भएन।
उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन्। दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरूले अनुसन्धान होस् भन्ने माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन्। निर्मलाको परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा मतलव नै नगरेको उनीहरुको भनाइ छ। निर्मलाको हत्या भएको उनीहरु बताउँछन्। यसमा विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए ।
स्थानीय महिला अधिकारकर्मी रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरक–फरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनबाट पनि उनीहरुले न्याय पाएनन्। त्यसपछि उनीहरु २० दिन हिडेर सिंहदरबारको ढोका ढक्ढक्याउन आएका हुन्।
न्याय खोज्न हिँड्दा झन्डै ज्यान नै गएन
स्थानीय महिला अधिकारकर्मी रुबी खानका खुट्टाहरु डमडम सुनिएका मात्रै छैनन्। आगोले पोलेको जसरी ठूलठूला फोकासमेत आएका छन्। ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीको खुट्टामा उठेको झिलझिले फोका फुटेर घाउ नै घाउ भएको छ। अधिकांशको शरीर गलेर लखतरान भएका छन्। उनीहरुसँग बोल्नेसमेत शक्ति छैन।
रुवीका अनुसार पैदल हिँडेर काठमाडौं आइपुग्दासम्म भोेगेको कष्ट शब्दमा बयान गर्नै नसकिने खालको छ। एक दिनमा ४२ किलोमिटरसम्म हिँडेर उनीहरु काठमाडौं आइपुगेका हुन्।
मुस्किलले २–३ घण्टा सुत्थ्यौँ, शितलमा हिँड्न सहज हुन्छ भनेर राति राति हिड्ने गर्थ्यौँ। बिहान २–३ बजे देखि नै हिड्न सुरु गर्थ्यौँ,’ रुबीले यात्रामा भोगेको सकस सुनाउँदै भनिन्। कुनै–कुनै दिन बिहान ३ बजे पनि हिँड्न शुरू गरेर राति १० बजेसम्म निरन्तर हिँडेको सुनाउँदै रुबीले भनिन्– ‘बाटोमा कसैले केहि दिए खायो नत्र भोकै हिँड्ने गरेका थियौँ। कहिलेकाहीँ त काठमाडौं पुग्नै सकिँदैन की भन्नेसम्म लाग्थ्यो।’
‘निरन्तर परेको झरीका कारण चिप्लो बाटो र पहाडको छेउ भएर हिँड्न परेकाले पहिरो जोखिम उति नै थियो,’ यात्रामा सामेल सतिना तेरीले भनिन्। उनले यात्रामा भोगेको कष्ट सुनाउँदै भनिन्, ‘२० दिनमा सहजता कुनै दिन थिएन, बाटोको कन्दमुल र रुखको अमिलो पात खाँदै आइयो। बाटोमा महिला मात्रै भएकाले जोखिम बढी थियो। पहिरोका कारण एक दिन झन्डै बाटोमै मरिएन। धन्न काठमाडौं आइपुगियो।’
राज्यका संयन्त्रहरुको ध्यान तान्नकै लागि उनीहरु सवारी साधनको पहुँच हुँदाहुँदै पैदल नै काठमाडौं आएका हुन्। तर, पैदल काठमाडौं आएको ४८ घण्टा बितिसक्दा समेत अझै सिंहदरबार र राज्यका कुनै पनि सरकारी संयन्त्रले वास्ता नगरेको रुबीले बताइन्। उनका अनुसार अब सास गए पनि न्याय नपाएसम्म उनीहरु घर फर्किने छैनन्।
न्यायका निम्ति पैदल नै काठमाडौं आएको टोलीमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन्। रुबीका अनुसार यो लामो पैदल यात्रामा उनीहरूलाई महिला अधिकार मञ्चको सचिवालय संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सुरुमा २५ हजार रुपैयाँ दिएको थियो । त्यसपछि यात्राका क्रममा खान र सामान्य भैपरी उपचारका निम्ति अन्य संस्था र व्यक्तिले केही रकम जुटाइदिएका थिए ।
काठमाडौं आइपुगेपछि उनीहरु अहिले बेखर्ची मात्रै भएका छैनन्, कहाँ बस्ने के खाने भन्नेसम्मको कुनै टुंगो छैन। उनीहरु भनिरहेका छन्– कतै कसले मिलाई दिए बसौला, खाउँला। नमिले भोकै सडकै सुतेर भएपनि न्याय नपाएसम्म घर फर्किनेला छैनौ। दसैं तिहार सडकमै मनाउने उनीहरुले बताए।