मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।
 |  आइतबार, असोज १७, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, असोज १७, २०७८

काठमाडौं– ललितपुरको जाउलाखेलस्थित चिडियाखानामा १ सय १३ प्रजातिका करिब एक हजार जीवजन्तु छन्। यिनै जीवजन्तुको भीडमा एउटा बूढो हात्ती पनि छ। करिब ७० वर्षे पवनकली ३७ वर्षदेखि यही चिडियाखानामा छ। चार वर्षअघिसम्म चिडियाखाना घुम्न आएकालाई पिठ्यूँमा राखेर डुलाउने पवनकली अचेल आफैं हिँड्न नसक्ने अवस्थामा छ। 

‘घुम्न त परको कुरा, तीन वर्ष भयो पवनकली बस्नसमेत सकेको छैन’, हात्ती इन्चार्ज कृष्णप्रसाद आचार्यले भने। ढल्कँदो उमेरसँगै पवनकलीलाई बाहिरफेर लाने गरिएको छैन। विगतमा भने पवनकलीलाई विभिन्न ठाउँमा घाँस संकलन गर्न लगिन्थ्यो। आचार्यका अनुसार पवनकली बाहिर ननिस्केको पाँच वर्ष बितेको छ। 

‘पहिले जसरी बाहिरतिर हिँड्न मन गर्दैन। त्यसैले चराउनसमेत चिडियाखाना बाहिर लान छाडेका छौं’, आचार्यले भने।  

आचार्यले पवनकलीको स्याहार गर्न थालेको ३१ वर्ष भयो। ‘२०४६ सालदेखि यही हात्तीको स्याहार गर्दै आएको छु। अब त रिटायर्ड हुने बेला भयो, हात्ती पनि बूढो भयो’, उनले भने। आचार्यले परिवारलाई भन्दा धेरै समय पवनकलीलाई दिँदै आएका छन्। सन्तानलाई भन्दा धेरै माया पवनकलीलाई नै गर्छन्। ‘कुरा दुई वर्षअघिको हो, छोरी बिरामी भएर मेडिसिटीमा भर्ना गरिएको थियो, यहाँ हात्ती पनि बिरामी भयो। मलाई छोरीको भन्दा धेरै चिन्ता हात्तीको लाग्यो। अस्पताल बस्नै सकिनँ, आइहालें’, उनले सुनाए।  

तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।

पवनकलीको रेखदेखमा आचार्यसहित ३ जना कर्मचारी खटिएका छन्। ‘बूढो हुँदै गएको हात्तीलाई अझै बढी स्याहारको जरुरत छ। हामीले त्यहीअनुसार व्यवस्थापन पनि गरेका छौं’, चिडियाखानाका वन्यजन्तु इन्चार्ज गणेश कोइरालाले भने। 


 

हात्तीको अवस्था सामान्य भए पनि तीन वर्षदेखि यो उभिइरहेको विषयले भने चिडियाखाना प्रशासनलाई चिन्तित बनाएको छ। ‘हालसम्म त्यस्तो कुनै रोग वा समस्या देखापरेको त छैन। तर, लामो समयदेखि बस्न नसक्दा चिन्तित बनाएको छ’, कोइरालाले भने। तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।

पवनकलीलाई दैनिक तीन सय किलो खाना

पवनकलीको तौल ४ हजार ८ सय किलोग्राम छ। यसलाई २०३७ सालमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट सदर चिडियाखानामा ल्याइएको थियो। त्यति बेला यसको उमेर ३० वर्षको थियो। तन्देरी पवनकली सम्झिँदै हात्ती इन्चार्ज आचार्य भन्छन्, ‘यिनको पनि शरीर मान्छेको जस्तै त हो, जवानी हुँदा निकै जोश देखाउने बुढेकाल भएपछि हिँड्न पनि गाह्रो हुने।’ पवनकलीले जवानीमा जति जोसिलो भए पनि मान्छेलाई भने आक्रमण गरेन। माउतेलाई दुःख दिएन। 

पवनकलीको अहिलेको दैनिकी थोरै हिँड्ने, नुहाउने र चिडियाखानामा चर्नमै सीमित छ। ‘बिहान केहीबेर चिडियाखानाभित्रै चरेपछि १० बजेतिर नुहाइदिन्छौं। त्यसपछि हात्तीसारमा ल्याएर घास र पराल खुवाउँछौं। दिनभर आराम गर्छ, साँझ केहीबेर फेरि चिडियाखानाभित्रै चर्छ’, आचार्यले भने। पवनकलीले दैनिक साढे २ सयदेखि ३ सय किलो घाँसपराल खान्छ। प्रमुख आहारा डाले घाँस र कूची (पराल, भुस र मिठाई मिसाएर बनाइएको दाना) भएको आचार्यले बताए।  

प्रकाशित: Oct 03, 2021| 15:17 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।