शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उपत्यकामा ९४ ढुंगेधाराको अवशेष, जनप्रतिनिधिले नै मास्‍न थाले धमाधम [भिडियोसहित]

उपत्यकामा ९४ ढुंगेधाराको अवशेष, जनप्रतिनिधिले नै मास्‍न थाले धमाधम [भिडियोसहित]

काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यस्थापन बोर्डले सन् २०१९ मा गरेको अध्ययनअनुसार उपत्यकामा ५७३ वटा ढुंगेधारा थिए। तिनमा ९४ वटा अस्त्विमै छैनन्। ५२ वटा नष्ट भए भने ४२ वटा कहाँ थियो भन्ने पत्ता लाग्न सकेन।
 |  बुधबार, असोज १३, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, असोज १३, २०७८

काठमाडौं– केही वर्षअघिसम्म काठमाडौंको कोटेश्वरमा गैरी ढुंगेधारा अस्तित्वमा थियो। सो ढुंगेधारामाथि अहिले स्थानीय क्लबले भवन बनाएको छ। ढुंगेधाराको अस्तित्व नामेट पारेर क्लबले आफ्ना गतिविधि चलाइरहेको छ।

रत्नपार्कमा लिच्छिविकालमा बनेको ढुंगेधारा मासिएको धेरै भइसकेको छ। भोटाहिटिमा बाटो बनाउने क्रममा अशुंवर्माकालीन अभिलेख भएको उक्त ढुंगेधारा मासिएको हो। यी र यस्तै गरी काठमाडौं उपत्यकाका ९४ वटा ढुंगे धारा पुरिएका छन्। छाउनीमा रहेको राँगाको टाउको आकारको ऐतिहासिक ढुंगेधारा पनि मासियो भने कुपण्डोलको हिमालय होटलअगाडिको ढुंगेधाराको अस्तित्व हराइसकेको छ। हात्तीसारको ढुंगेधारा मासेर नयाँ भवन ठड्याइयो। ग्वार्को क्षेत्रका कयौं ढुंगेधारा मासिएका छन्।

काठमाडौं महानगरपालिकाका १७९ वटामध्ये २७ वटाको स्थान पत्ता लाग्न सकेको छैन भने २७ वटा नष्ट भएका छन्।
काठमाडौं उपत्यका खानेपानी आपूर्ति व्यस्थापन बोर्डले सन् २०१९ मा गरेको अध्ययनअनुसार उपत्यकामा ५७३ वटा ढुंगेधारा थिए। तिनमा ९४ वटा अस्त्विमै छैनन्।  ५२ वटा नष्ट भए भने ४२ वटा कहाँ थियो भन्ने पत्ता लाग्न सकेन।

अध्ययनमा काठमाडौं महानगरपालिकाका १७९ वटामध्ये २७ वटाको स्थान पत्ता लाग्न नसकेको उल्लेख छ भने २७ वटा नष्ट भएका छन्।

ललितपुर उपमहानगरपालिकामा ८० ढुंगेधारा रहेकोमा ७२ वटा भेटियो भने ६ वटा नष्ट भएको छ। २ वटा भने पत्ता नै नलागेको बोर्डको अध्ययनमा उललेख छ। 

भक्तपुर नगरपालिकामा ९१ वटा ढुंगेधारा रहेकोमा एउटा मात्रै नष्ट भएको छ। यस्तै, चन्द्रगिरि नगरपालिकामा ४७ वटा ढुंगेधारा रहेकोमा २ वटा नष्ट भएका छन्। कीर्तिपुरमा रहेका १२ ढुंगेधारामध्ये २ वटा नष्ट भएका छन्। मध्यपुर ठिमीेका ८० वटा ढुंगेधारा मध्ये १३ नष्ट भएका छन् भने १३ वटा कहाँ थिए भन्ने नै पत्ता लाग्न सकेन।

शंखरापुर नगरपालिमा ३० वटा ढुंगेधारामा २ वटाको अस्तित्व मेटियो। गोदावरी नगरपालिमा रहेका २५, महालक्ष्मी नगरपालिकाका १०, टोखा नगरपालिकाका १४ वटा ढुंगेधारा सुरक्षित छन्।

जनप्रतिनिधि नै मास्दैछन् ढुंगेधारा

ढुंगेधारा संरक्षण गर्ने जिम्मेवारी पाएका स्थानीय तह नै ढुंगेधारा मास्न सक्रिय छन्। ललितपुर महालक्ष्मी नगरपालिको वडा न ४ का वडाध्यक्ष लक्ष्मण रोक्काले ढुंगेधारा मासेर वडा कार्यालय बनाउने योजना अघि सारेपछि स्थानीय क्रुद्ध भएका छन्।

विश्वको सबैभन्दा लामो मानिने रातो मछिन्द्रनाथको जात्रामा सिठी नखःको दिन पानी चढाइने ऐतिहासिक चिसापानी ढुंगेधारा मासेर वडा कार्यालय बनाउन लागेकोमा विरोध भएको हो। ऐतिहासिक र पुरातात्त्विक चिसापानी ढुंगेधाराको संरक्षण गर्नुको साटो मासेर वडा कार्यालय बनाउनु संस्कृतिमाथिको प्रहार भएको भन्दै स्थानीय, नागरिक समाज, बुद्धिजीवीहरुले वडाध्यक्षको आलोचना गरेका छन्। यस सम्बन्धमा २०७८ साउन २४ गते स्थानीयले वडाध्यक्ष रोक्काको ध्यानाकर्षण गराएका थिए।

महालक्ष्मी नगरपालिकाका वडा नम्बर ४ का वडा सदस्य नरदीप घिमिरे स्थानीयको विरोधपछि अहिले काम स्थगित भए पनि केही समयपछि काम अघि बढ्ने बताउँछन्।

‘ढुंगेधारालाई हेरेर मात्रै हुँदैन। विकास–निर्माण पनि गर्नुपर्छ। हामीले सरकारी जग्गाको उपयोग गर्न मात्र खोजेका हौं। यसमा के नै गलत छ र?’ उनले प्रश्न गरे।

सो स्थानको ढुंगेधारा ४ आना क्षेत्रफलमा थियो। सो क्षेत्रको जग्गा अतिक्रमण हुँदाहुँदा एक आनामा सीमित हुन पुगेको छ। त्यही जग्गामा वडा कार्यालयले भवन बनाउने तयारी गरेको हो। ‘अहिले वडा कार्यालयले घरभाडा मात्रै मासिक ३० हजार तिर्नुपर्छ। सार्वजनिक जग्गा उपयोग गरेर आफ्नै भवन बनाउने हो भने यो खर्च जोगिने थियो। हामीले त्यही भएर भवन बनाउन लागेका हौं,’ वडा सदस्य घिमिरेले भने।

कसैले बुझेनन् ढुंगे धाराको महत्त्व

ढुंगेधाराका विषयमा अध्ययनअनुसन्धान गर्दै आएका विज्ञहरु राज्यले नै ढुंगेधारको महत्त्व नबुझेका कारण मासिँदै गएको बताउँछन्। नागरिकले पनि यसको संरक्षण गर्नुपर्छ भन्ने कुरामा खासै ध्यान नदिएको उनीहरुको ठहर छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृति विभाग प्रमुख प्राध्यापक मदनकुमार रिमालका अनुसार ढुंगेधाराको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ। ‘लिच्छिविकालदेखिका धाराहरु बनेको अभिलेख भेटिन्छ। मल्ल राजाका पालामा पनि थुप्रै ढुंगेधारा बने। तर, अहिले ती धारा मास्ने क्रम बढ्नु चिन्ताको विषय हो,’ उनले भने।

ढुंगेधारा ऐतिहासिक सम्पदा मात्रै होइनन्, यिनले हाम्रो पानी वितरण प्रणाली कति वैज्ञानिक छ भन्ने भन्ने दर्शाउने रिमाल बताउँछन्। ‘हाम्रा पुर्खाले दुई हजार वर्षसम्म एउटै धाराबाट पानी खाए, जुन कुरा विश्वका लागि नै अध्ययनको विषय हुन सक्छ। तर हाम्रोमा यसको महत्त्व बुझ्ने कोही भएनन्,’ प्रा. रिमालले भने।

कलात्मक शैलीमा सुन्दर आकृति कुँदिएका र चिसो पानी बग्ने उपत्यकाका धेरै ढुंगेधारा चित्रमा मात्र सीमित बनिसकेका छन्।

राष्ट्रिय अभिलेखालयकी निमित्त महानिर्देशक रहेकी ढुंगेधारा अध्येता सौभाग्य प्रधानांग भने ढुंगेधारा ब्युँताउने हो भने काठमाडौं उपत्यकामा देखिएको पानीको हाहाकार मेट्न मद्दत मिल्ने बताउँछिन्।

सार्वजनिक जग्गा हडप्ने जग्गा दलालबाटै ढुंगेधारा जोखिममा परेको उनको भनाइ छ। ढुंगेधारा मासेर त्यसैमाथि क्लब, सपिङ कम्लेक्स बनाउने क्रम बढेको बताउँदै उनी भन्छिन्, ‘राज्यले अब पनि ध्यान नदिने हो भने ढुंगेधारा लोप हुन्छन्।’

नागरिक आफैं पनि सचेत भएर यस्ता कुराको महत्त्व बुझ्दै संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। कलात्मक शैलीमा सुन्दर आकृति कुँदिएका र चिसो पानी बग्ने उपत्यकाका धेरै ढुंगेधाराहरू चित्रमा मात्र सीमित बनिसकेका छन्।

जिम्मेवार निकायले नै ढुंगेधाराहरू संरक्षण गर्न नसक्दा कतिपय कहाँ ढुंगेधारा छ भनेर पत्ता लगाउनै गाह्रो छ भने कतिपय जीर्ण अवस्थामा छन्। २०७२ वैशाख १२ को भूकम्पमा पनि धेरै परम्परागत ढुंगेधारा क्षतिग्रस्त भए।

काठमाडौंमा पानीको विकराल समस्या छ, र पनि क्षतिग्रस्त ढुंगेधाराको उत्खननका लागि प्रयास भएको छैन। सम्बन्धित निकाय र सरोकारवालाहरूले चासो नदिँदा उपत्यकाका धेरै ढुंगेधारा लोप हुँदैछन्। संरक्षण र सम्वद्र्धनमा पहल नगर्ने हो भने काठमाडौंका ढुंगेधारा नयाँ पुस्ताले चित्रमा मात्र देख्न पाउने खतरा बढेको छ।

प्रकाशित: Sep 29, 2021| 14:28 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्