एजेन्सी- नेपाल भूपरिवेष्टित मुलुक । समुद्रसँग नजोडिएकाले आम मानिसलाई समुद्री जीव कस्ता होलान् भन्ने कौतुहल हुने गर्छ । समुद्री जीव हेर्नका लागि पनि छिमेकी राष्ट्र पुग्नुपर्ने बाध्यता छ । तर, चीनमा एउटा यस्तो वर्षा भयो, जहाँ समुद्री जीव नै हावाहुरीसँगै सहरमा बर्सिएका छन् ।
केही दिनअघि नेपालमा पनि खतरनाक हिलोसहितको वर्षा भएको थियो । भारत राजस्थानको धुलो नेपालमा हिलोका रूपमा वर्षा भएको विज्ञहरूले बताएका छन् ।
नेपालमा धमिलो पानी बर्सिएको केही दिनपछि चीनमा भने आकाशबाट अक्टोपस, स्टारफिस र अरु समुद्री जीवहरू बर्सिएका छन् । चीनको मौसम विभागअनुसार हावा-हुरी र वर्षासँगै हजारौं ठूला र साना समुद्री जीव शहरमा देखिएका छन् । विभागका अनुसार ठूलो वर्षाका कारण यसरी जीवहरू आएका हुन् ।
ठूलो वर्षा हुनुअघि समुद्रमा ठूलो आँधी आउने तथा त्यसको चक्रवातले सानातिना जीवहरूलाई हजारौं मिटर टाढासम्म पुर्याउने गरेको जानकारहरू बताउँछन् । आँधीहुरीसँगै उडेका जीवन वर्षाका रूपमा जमिनमा खस्ने गरेको पाइएको छ ।
यस्तो घटना पहिलो पटक भएको होइन । यसअघि पनि विभिन्न ठाउँमा समुद्री जीवको वर्षा भएको छ । सन् २०१७ मा मेक्सिको र २००८ मा भारतको केरेलामा माछाको वर्षा भएको थियो । यस्तै, सन् १७९४ मा फ्रान्सको लिलीमा आकाशबाट भ्यागुता वर्षा भएको फ्रान्सको सेनाले पुष्टि गरेको थियो ।
यस्तै, सन् १८७६ मा केन्टुकीमा आकाशबाट मासु खसेको थियो, परिक्षण गर्दा त्यो मासु हरिणको भएको पुष्टि भएको थियो । यसैगरी, सन् १९७४ अस्ट्रेलियाको गोलबर्नमा आकाशबाट माकुराको वर्षा भएको थियो । सन् १९७६ मा क्यालिर्फोनियाको सेनलुइसमा दुई दिनसम्म काले पंक्षी र परेवाको वर्षा भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४