शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • माधव नेपाललाई ओलीको खिसीट्युरी, प्रचण्डले सुनाए बाँस्कोटा मुछिएको ७० करोड काण्डको कथा [२०७८-६-७]

माधव नेपाललाई ओलीको खिसीट्युरी, प्रचण्डले सुनाए बाँस्कोटा मुछिएको ७० करोड काण्डको कथा [२०७८-६-७]

नेकपा (एकीकृत समाजवादी)को महासचिव पदमा भने वेदुराम भुसाल चयन भएका छन्।
 |  बिहीबार, असोज ७, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

नेकपा एसमा बाँडियो पद 

sagarmatha cement

नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो। सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन्। शक्तिशाली मानिएको महासचिव पदमा भने वेदुराम भुसाल चयन भएका छन्।

उपमहासचिवमा भने प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल चयन भएका छन्। यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन्। मुकुन्द न्यौपाने भने वरीयता क्रममा तेस्रो नम्बरमा रहनेछन्। 

अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ। बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ। प्रदेश तथा जिल्ला इन्चार्ज तोक्नुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा एसले पदाधिकारीसमेत फेला पारेन

worldlink

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको टिप्पणी गरेका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे। 

ओलीले जुन पार्टी टुक्रिएर यति सानो भएको छ उसैको नाम एकिकृत भन्दै नेपाल नेतृत्वको पार्टीको खिसी गरे। माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिदै ओलीले यी दुबैले फाटोको खेती गर्ने गरेको आरोप लगाए। 

यस्तै एमाले अध्यक्ष ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरे। पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताए। आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन। यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा। त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो। त्यस्तो मुटु छ।’ ओलीले सरकारलाई सिस्नेको संज्ञा दिदै यसले जसलाई पनि पोलिरहेको टिप्पणी गरे। यसलाई तातो पानीमा हालेर खुइल्याउनु पर्ने भन्दै उनले आगामी चुनावपछि खुइलिने दाबी गरे। 

बाँस्कोटाले भ्रष्टाचार गरे पनि ओलीले जोगाए : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।

काभ्रेको पाँचखालमा बिहीबार आयोजित वाईसीएल भेलामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ७० करोडवाला कुरा प्रमाणित रुपले बाहिर आएपनि ओलीले बाँस्कोटाको गल्ती छैन भन्दै जोगाएको दाबी गरेका हुन्। ओलीले सधै भ्रष्टाचारीलाई जोगाउँदै आएको भन्दै प्रचण्डले वाइडबडी, यति काण्ड, गोकर्ण रिसोर्ट काण्ड,  ओम्नी काण्ड मच्चाएर भ्रष्टाचारीको संरक्षण गरेको दाबी गरे। ७० करोड काण्डमा त बाँस्कोटाको झनै खुलेयाम संरक्षरण गरेका प्रचण्डको भनाइ छ। 

ओलीले आफ्नो कार्यकालमा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेर सुन्दा निकै राम्रो अभिव्यक्ति दिए पनि सधैं भ्रष्टाचारलाई ढाकछोप गर्ने गरेको भनाइ प्रचण्डको थियो। आफूले दुई दुई पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भ्रष्टाचार शब्द पनि कसैले उच्चारण गर्न नसकेको दाबी गर्दै प्रचण्डले ओलीको कार्यकालमा भ्रष्टाचारबाहेक केही नभएको बताए।

महाधिवेशन समयमै हुनेमा अन्योल पैदा भयो : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल पैदा भएको बताएका छन्। 

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन्। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनको भनाइ छ। महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता थापाले मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको बताए। 

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए। संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको टिप्पणी गरे। 

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरुले संसदमा आफ्नो भुमिका समेत निर्वाह गर्न नपाएको बताए। एमालेको प्रस्तुतीले संसदीय पद्धतीको गरिमा राख्न नसक्ने उनको भनाई छ। 

दुवै सदनबाट बजेट पारित

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ। नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कार्यान्यन हुनेछ। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए। सो विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको हो।

राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खर्च गर्ने बाटो खुल्ने बताए। सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए। 

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए। 

घट्न थाल्यो रेमिट्यान्स

निरन्तर रुपमा बढिरहेको रेमिट्यान्स आप्रवाह चालू आर्थिक वर्षदेखि घट्न सुरु भएको छ। चालू आवको पहिलो पहिलो महिना साउनमा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ। 

गत आवको साउनमा अघिल्लो आवको सोही महिनाको तुलनामा २३ प्रतिशतले बढेर ९२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो।  गत आर्थिक वर्षभर भने ९ खर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। गत आवमा विदेश जानका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या १३ हजार ८०० जना छ। त्यस्तै, ११ हजार ६२८ जनाले पुनः श्रमस्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ। चालू आवको पहिलो महिनामा चालू खाता ४७ अर्ब ९० करोडले घाटामा  छ। 

असोज १० देखि विद्यालय खोल्न काठमाडौं महानगरको अनुमति 

काठमाडौं महानगरपालिकाले असोज १० गते आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। 

आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो। 

विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उनले बताए। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उनले बताए। साथै सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्ने लगायतका २७ वटा मापदण्ड तयार गरेको छ।  दसैं नजिकिएको हुँदा विद्यालय केही समय खुलेर फेरि बन्द हुनेछ।

थप १२३९ मा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ। जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन्।

नेपाल-भारत सीमा खुलेपछि कोरोना जोखिम बढ्ने आकलन 

नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ।कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो। प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए। उनले बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ। सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउने बताए। उनले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने बताए। 

निर्देशक झाले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औल्याउँदै कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो। 

प्रहरीको विशेष सुरक्षा योजना 

महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ। 

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो। उनका अनुसार राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ।असामाजिक, अप्रिय र अपराधिक घटना हुन नदिन छुट्टाछुट्टै रणनीति बनाएर प्रहरी परिचालन गरिने उनले जानकारी दिए। उनका अनुसार यो सुरक्षा योजना १ असोजदेखि कार्यान्वयनमा ल्याउन सुरु गरिसकिएको छ। योजनाअनुसार ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित हुनेछन्। एसएसपी सिंहका अनुसार राजधानी प्रवेश गर्ने नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। यस्तै सादा पोशाकको प्रहरी टोली समेत खटाइएको छ। 

काठमाडौं उत्रिए साहिद

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी  चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन्।  शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन्। आज दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे।

साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए। नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए। 

अफ्रिदी चौथौ संस्करणमा इपिएल खेल्ने हाई प्रोफाइलका खेलाडी हुन। विश्वमा चर्चा कमाई सकेका ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन्। अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन। चौथौ संस्करणको इपिएल शनिबारबाट २३ गते सम्म आयोजना हुँदै छ। ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 23, 2021| 19:48 बिहीबार, असोज ७, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...