बिहीबार, वैशाख २०, २०८१

सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

सैनिक श्रोतका अनुसार यो चर्को फैसला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सिधा दबाबमा भएको थियो। आफ्नो कार्यकालमा यस्तो निर्मम कुटपिटको खबर मिडियामा आएपछि उनले आफ्नै बेइज्जती महसुस गरेका थिए। त्यसैले उनी कुटपिट गर्ने भन्दा पनि कुटपिटको खबर मिडियामा चुहाउने पौडेलसँग बढी रिसाएका थिए।
 |  आइतबार, असोज ३, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, असोज ३, २०७८

काठमाडौं- २०७७ असोज ९ गते। कंगोमा तैनाथ नेपाली सेनाको ज्वालादल गणका अमल्दार नमराज माझीमाथि तीन सैनिक अधिकृतहरूले निर्मम कुटपिट गरेको खबरले सैनिक वृत्त तरंगित थियो। अघिल्लो दिन असोज ८ गते अमल्दार माझीमाथि निर्मम कुटपिट भएको थियो। माझीको निलडामसहितको तस्बिर मिडियामा भाइरल भइरहँदा त्यही घटनासँग सम्बन्धित केही पक्ष भने भित्रभित्रै लुकिरहेको थियो। जुन अझै पनि ‘गुपचुप’ छ। 

triton college

तिनै गुपचुपमध्ये एक तथ्य हो, असोज ८ गतेको राति माझीसहित अन्य चार सैनिकमाथि भएको कुटपिटको विषय। माझीमाथि निर्घात कुटपिट भएको तस्बिर मिडियासम्म पुग्यो, त्यसैले लुक्न सकेन। अन्य चार जना सैनिकमाथि भएको कुटपिट 'गुपचुप' भयो। 

असोज ८ गतेको रात अमल्दार माझीसँगै तीन अमल्दार र एक प्यूठमाथि पनि 'निर्मम' कुटपिट भएको थियो। कुटाइ खानेहरुमा अमल्दार सन्तोष भुजेल, अमल्दार रामबहादुर पुन मगर, अमल्दार प्रताप बिसुराल र प्युठ जितबहादुर थारू थिए। 

नेपाल समयलाई प्राप्त ‘कोर्ट अफ इन्क्वायरी’को प्रतिवेदन र अदालतको फाइलमा यो तथ्य प्रष्ट उल्लेख छ। इन्क्वायरीसँग कुटाइ खाने पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सह–सेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। 

कुटपिट गर्ने यी तीनै जना सैनिक अधिकृतहरूले भने आफूहरुले कुटेको कुरा बयानमा कबुल गरेका छन्। तर, सिपाहीहरूले मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेको सूचना पाएपछि आफूहरू पुगेको र उनीहरूलाई 'सबक' सिकाउन पिटेको उनीहरूको दाबी छ। 

corrent noodles
Metro Mart

‘कोर्ट अफ इन्क्वायरी’को प्रतिवेदनमा कुटपिट गर्ने तीन सह–सेनानीको बयान पढ्दा एउटा कुरा चाँहि बाझिएको पाइन्छ। सहसेनानी थापाले करिब साढे १० बजेको समयमा दुई सैनिक प्रहरीहरू ‘जवान लाइनमा हो–हल्ला भइरहेको’ रिपोर्ट गर्न आएपछि आफूहरू त्यहाँ पुगेको बयान दिएका छन्। तर हुमागाई र धितालले भने १० बजे नै घटना भएको बताएका छन्। 

हामीले कुटपिटबाट घाइते भएका नमराज माझीले छानबिन टोलीसमक्ष दिएको बयान यसअघिको शृंखलामै प्रकाशित गरिसक्यौँ, जहाँ उनले आफूलाई यी तीन सैनिक अधिकृतले फुटबल बनाएर हानेको बताएका थिए। उनले बयानका क्रममा भनेका थिए, ‘फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी ‘सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस’ भन्दा पनि ‘तँ बढी बोलिस्’ भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।’

पिटाइ खाने अन्य चार जनाले माझीबारे केही बोलेको छैनन्। तर आफूहरू निर्मम पिटिएकोबारे इन्क्वायरीसँग बताएको देखिन्छ। 

पिटिनेमध्ये एक अमल्दार रामबहादुरले पिसाब फेर्न जाने क्रममा गणको राशन स्टोर अगाडि तीनै जना सहसेनानीले आफूलाई देखेको बयानमा बताएका छन्। ‘मलाई देखेपछि यता आइज भन्नुभयो,’ उनले बयानमा भनेका छन्, ‘'रक्सी खाएको छस्' भन्दा 'मैले खाएको छैन, पहिला कहिलेकाँही चाहिँ खान्थेँ' भन्दा 'बेन पोजिसन'मा राखेर पाइपले ३ पटक हिर्काउनुभयो र पछि छाड्नुभयो। त्यसपछि म पिसाब गरी लाइनमा आएर सुतेँ।’

कसैले नसुनेपछि मानवीयताका हिसाबले साथीको उपचारमा दबाब पुगोस् भनेर सुजनले फेक आइडीमार्फत् मिडियामा सूचना पुर्‍याएका थिए। तर, यही प्रकट भएको मानवीयता उनका लागि अभिशाप बन्यो। कुटपिट गर्ने अधिकृतभन्दा चर्को सजाय भोग्नुपर्‍यो उनले।   

त्यस्तै अमल्दार सन्तोष भुजेलले कोठामा सुतिरहेका बेला १० बजेतिर सहसेनानी सुवास हुमागाई र अमल्दार विक्रम गाहा उनको कोठामा आएको बताएका छन्। कोठामा आएपछि हुमागाईंको आदेशअनुसार गाहाले उनको मुख सुँघेको र त्यसपछि दुवै जना केही नबोली गएको उनले दिएको बयानमा उल्लेख छ। 

‘त्यसपछि म आफ्नो बेड मिलाई करिब साढे १० बजेतिर पिसाब फेर्न ट्वाइलेट जाने क्रममा सहसेनानी सुवास हुमागाईले बोलाउनुभयो,’ उनले बयानमा भनेका छन्, ‘बेन पोजिसनमा बस्न आदेश दिनुभयो र मलाई पिपिआर पाइपले ३–४ पटक हिर्काउनुभयो। त्यसपछि म आफ्नो लाइनमा जाने क्रममा गोडाबाट रगत बगिरहेको देखेर मेडिकल गएँ। ड्रेसिङ गराएँ र औषधि खाएँ। अनि साढे ११ बजेतिर लाइनमा आएर सुतेँ।’ 

त्यस रात कुटाइ खाएका अर्का सेनाका प्युठ थारूले पनि पिसाब फेर्न गएकै बेला राशन स्टोरमा लगेर पाइपको लठ्ठीले तीन सहसेनानीले पालैपालो कुटेको बयानमा बताएका छन्।  

त्यस्तै अमल्दार प्रताप बिसुरालको बयानमा सहसेनानी धितालले बेन पोजिसनमा बस्न लगाएको र सहसेनानी सुवास हुमागाइले पाइपले दुई पटक पुठ्ठामा हिर्काएको उल्लेख छ। 

तीन सहसेनानीले त्यतिबेला पाँच सैनिकलाई कुटपिट गर्दा अमल्दार विक्रम गाहा मगरको पनि सहयोग लिएको बयानमा स्पष्ट देखिन्छ। यो कुरा अमल्दार मगरले पनि कोर्ट अफ इन्क्वायरीसँग बयान दिने क्रममा स्वीकारेका छन्। उनले त्यतिबेला पाँच जना सैनिकलाई बेन पोजिसनमा राखेर तीनै जना अधिकृतहरुले कुटपिट गरेको बताएका छन्। 

तर, तीनै अधिकृतले एक–एक लठ्ठी मात्रै हानेको देखेको उनले बताएका छन्। जबकि कुट्नेले नै एकभन्दा बढी लठ्ठी प्रहार गरेको बयानमा उल्लेख छ। यसबाट विक्रमले डरका कारण त्यहाँ भएको निर्मम कुटपिटबारे बोल्न डराएको स्पष्ट हुन्छ।  

कुट्नेहरूले के भने ? 

यो प्रकरणपछि त्यतिबेला प्रमुख सेनानी क्षेत्रबहादुर मल्लको अध्यक्षतामा प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ र सह–सेनानी सुमन न्यौपाने सदस्य इन्क्वायरी टोली गठन भएको थियो। तीन अधिकृतको निर्घात कुटपिटपछि घाइते अवस्थामा पुगेका नमराजलाई ‘माथिको आदेशविना हुँदैन’ भनेर उपचार गर्न पनि दिइएको थिएन। उक्त फिल्ड अस्पतालमा कार्यरत सिपाही सुजन पौडेलले पनि यो कुरा स्वीकारेका छन्।

कसैले नसुनेपछि मानवीयताका हिसाबले साथीको उपचारमा दबाब पुगोस् भनेर उनले फेक आइडीमार्फत् मिडियामा सूचना पुर्‍याएको पौडेलले स्वीकार गरेका थिए। तर, यही प्रकट भएको मानवीयता उनका लागि अभिशाप बन्यो। कुटपिट गर्ने अधिकृतभन्दा चर्को सजाय भोग्नुपर्‍यो उनले। 

अमल्दार माझीले आदेश नमानेका कारण तीनै जनाले एक-एक पाइप हानेको सहसेनानी योगेन्द्र धितालले बयान दिएका छन्।  

सजायबारे चर्चा गर्नुअघि कुटपिट गर्ने अधिकृतको बयानमा प्रवेश गरौं। कुटपिटमा संलग्नमध्ये एक सहसेनानी इन्द्रबहादुर थापाले ‘कोर्ट अफ इन्क्वायरी’सँगको बयानमा आफूले कुटपिट गरेको स्वीकारेको देखिन्छ। तर, बयानमा उनले जवानहरू मादक पदार्थ सेवन गरेर हल्ला गरिरहेको सूचना पाएपछि मात्रै आफू त्यहाँ गएको र सबक सिकाउन पाइपले एक भाटा मात्रै हिर्काएको दाबी गरेका छन्। 

त्यस्तै अर्का सहसेनानी सुवास हुमागाईंले पनि जवानहरुले मुखमुखे लागेपछि सबक सिकाउन सैनिक प्रहरीलाई १/१ लठ्ठी हान्न लगाएको बयान दिएको देखिन्छ। नमराज माझीले चाँहि अटेर गरेका कारण अलि बढी पिट्नुपरेको उनीहरूको दाबी बयान छ।

अमल्दार माझीले आदेश नमानेका कारण तीनै जनाले एक-एक पाइप हानेको सहसेनानी योगेन्द्र धितालले बयान दिएका छन्। 

तीनै जनाले एक-एक पटक मात्रै पाइपले हिर्काएको बयान दिएपनि माझीमाथि कसरी मरणासन्न हुने गरी पिटिएको थियो, त्यो त मिडियामा सार्वजनिक भएको तस्बिरले छर्लङ्ग बनाउँछ। कुटपिटले बनाएको निलडाम र घाउ तस्बिरमा स्पष्ट देख्न सकिन्छ।

कुटपिट प्रकरणमा संलग्न थापा सैनिक प्रहरी अधिकृत, हुमागाई ड्युटी अधिकृत र धिताल सम्बन्धित से.मु.पति रहेका थिए। 

मिडियामा खबर आएपछि...

कुटपिट भएको भोलिपल्ट बिहान जब नमराज माझी शरीरमा निलडामसहित गम्भीर अवस्थामा बिरामी वार्डमा पुगे, त्यतीबेला त्यहाँ सिपाही सुजन पौडल ड्युटीमा थिए। जब उनले माझीको ‘भाइटल साइन’ परीक्षण गरे, अवस्था जटिल देखेर निकै आत्तिए। तत्काल उनका हाकिम डा. सुमन थापालाई खबर गरे। तर, उनले सुनेको नसुनेझैँ गरे। 

‘बिरामीले 'यस्तो समयसम्म मेरो उपचार भएन, अब म मर्छु होला, मेरो उपचार कसले गर्ला' भनेर बिलौना गरिरहेको थियो, बिरामीको भाइटल साइन हेर्दा पनि अवस्था जटिल नै देखिन्थ्यो,’ मेडिकल सिपाही सुजन पौडेलले भने, ‘तर डाक्टरलाई अनुरोध गर्दा पनि सुनुवाइ भएन। कसैले त्यहाँ केही गर्ने नदेखेपछि म आत्तिए। मैले थप केही सोचिनँ, शिवाय मानवीयता। बिरामीलाई केही तलमाथि भयो भने सबैलाई समस्या पर्छ भन्ने लाग्यो। त्यसैले बिरामीको छिटो उपचार र उद्धारमा मद्दत पुगोस् भनेर जनआस्था साप्ताहिक र नव जनप्रहार साप्ताहिकलाई खबर पुर्‍याएँ। तर, त्यही मेरा लागि अभिशाप बन्यो।’

मिडियामा सूचना पुर्‍याएकै कारण सुजन त्यहाँको कालकोठरीमा बन्द भए। पाँच सैनिकलाई कुट्ने सहसेनानी इन्द्रबहादुर थापाले कुनै बेला उनलाई पनि कुटेका थिए, त्यसैले उनलाई थाहा थियो उनी कति ‘सन्काहा’ छन् भन्ने। 

त्यतिबेला सिपाहीहरू कृष्णकुमार राई र सिपाही निरबहादुर लिम्बूलाई एक वर्ष बढुवा रोक्काको फैसला सुनाइयो भने सिपाही प्रदीप नाथलाई दुई वर्ष बढुवा रोक्काको कारबाही गरियो। 

मिडियामा खबर आएपछि उनलाई मात्रै होइन, सेनाको मिडियाको नीति विपरीत कार्य गरेको भन्दै सिपाहीहरू प्रदीप नाथ, कृष्णकुमार राई र निरबहादुर लिम्बूलाई पनि ‘टर्चर’ दिइएको थियो। 

समाचार प्रकाशित भइसकेपछि उक्त समाचार पूर्व सचिव भीम उपाध्यायको म्यासेन्जरमा पठाएको आरोपमा सिपाही निरबहादुरलाई अभियुक्त नै बनाइयो।  

त्यस्तै अमल्दार माझीले कुटाइ खाएको फोटो सेनाकै सहकर्मीहरूबीच म्यासेन्जरमा आदानप्रदान गरेका पाइएपछि सिपाही कृष्ण कुमार राईमाथि पनि मिडिया नीति विपरीत कार्य गरेको आरोप लाग्यो।  

अनि, कुटपिटको खबर मिडियामा पुर्‍याएको आरोपमा सिपाही प्रदीप नाथ पनि कोर्ट मार्सलमा तानिए। मिडियामा खबर आइसकेपछि त्यसलाई सेभ गरेर आफ्नै सहकर्मीबीच आदानप्रदान गरेको तर कसैलाई नपठाएको बयान उनले दिए। तैपनि पत्याइएन। कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँग उक्त घटनाबारे म्यासेन्जरमा कुराकानी गरेको आरोप उनीमाथि लाग्यो। तर, उनले धमलासँग चिनजान भएपनि आफूले केही सूचना नदिएको दाबी गरिरहे।

सिपाही सुजन पौडेलसँग त त्यतिबेला इन्क्वायरी बोर्डले दुई पटक बयान लिएको देखिन्छ, जहाँ उनले एकै कुरा दोर्‍याएका थिए। जुन कुटपिटको फोटो उनीमार्फत् मिडियामा पुग्यो, त्यो सिपाही सोबित बरालले खिचेका थिए। त्यो पनि डा. सुमनकै आदेशमा। 

तर, सिपाही सुजन पौडेलका हकमा भने ६ महिना कैदसहित जागिरबाट हटाउने चर्को फैसला भयो। अनि, सुजनलाई फोटो उपलब्ध गराउने सिपाही सोबित बराललाई चाँहि नसिहत दिने फैसला भयो। 

अनि, त्यही फोटो दलबहादुर माझी नामको फेक अकाउन्टबाट जनप्रहार साप्ताहिक, जनआस्था साप्ताहिक र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललाई म्यासेजमार्फत् पठाएको अभियोगमा सिपाही पौडेलमाथि मिडिया नीति विपरीत आफ्नो गणको आन्तरिक तथा गोप्य कुरा बाहिर पुर्‍याएको आरोप लाग्यो। 

त्यसपछि कुटपिटमा संलग्न तीन जना र मिडिया नीति विपरीत कार्य गरेको आरोपमा चार जना गरी सातै जनालाई सेनाको अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा चलाइयो। त्यतिबेला सैनिक अभियोजन महाशाखाका तर्फबाट प्राड प्रमुख सेनानी साम्ब राज अर्यालले उनीहरुविरुद्ध अभियोग दायर गरेका थिए। 

के भयो फैसला?

कंगो घटनामा सैनिक मुख्यालयले सहायक रथी दिपेशजंग शाहको अध्यक्षतामा महासेनानी रुपेन्द्र बुढाथोकी, प्रमुख सेनानी भुपेन्द्र गोदार र प्राड प्रमुख सेनानी सम्झना थापा (अर्याल) सदस्य रहेको समरी जनरल सैनिक अदालत गठन गर्‍यो।

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय देला। तर, परिणाम अनपेक्षित निस्कियो।

तीन सैनिक अधिकृतको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो। 

कुटपिट गर्ने अधिकृतलाई जोगाउन त्यतिबेला तत्कालीन गणका प्रमुख गणपति प्रमुख सेनानी शैलेन्द्र कोइराला सक्रिय रुपमा लागेको थिए। उनले समरी अदालतसामु दिएको बयान हेर्दा पनि त्यो स्पष्ट हुन्छ। उनले बयानकै क्रममा कुटपिट गर्ने अधिकृतको प्रशंसामा भनेका थिए, ‘मिसनबाट बिदा गएका अधिकृतहरू कोभिड-१९ को कारण बिदाबाट फर्कन नपाएका बेला सीमित अधिकृतहरुलाई कामको अत्यधिक चाप भएकाले केही तनाव भएको भएतापनि अधिकृतहरूले मिसनमा ज्यादै सह्रानीय काम गरेका थिए।’

समरी अदालतले पुस १४ गते गरेको फैसलाले कुटपिट गर्ने तीन जना सैनिक अधिकृत थापा, हुमागाई र धिताललाई १ वर्षलाई बढुवा रोक्का गर्ने फैसला गर्‍यो। जबकि उनीहरु करिब ५ वर्षसम्म बढुवा हुने अवस्थामै थिएनन्।

सेनासम्बन्धी मुद्दामा वकालत गर्दै आइरहेका अधिवक्ता अरुण पौड्याल यो फैसला न्यायसंगत नभएको टिप्पणी गर्छन्। 

सैनिक श्रोतको दाबी अनुसार बढुवा रोक्का उनीहरुका लागि देखावटी कारवाही मात्रै थियो। त्यसबेला ५१ र ५२ बेसिकका अधिकृतहरू करिब ५ वर्षसम्म बढुवा हुने अवस्था नभएको स्रोत बताउँछ। यद्यपि बढुवा रोक्का भएकै अवस्थामा उनीहरुलाई मेजर हुनुअघि लिनुपर्ने  सीसीएसी (कम्पनी कमाण्डर एन्ड स्टाफ कोर्स) गर्न सैनिक वार कलेज नगरकोट पठाइयो। ‘यो अदालतको आदेशको मर्मविपरीत थियो। तर कसैले केही बोलेन,’ एक सैनिक अधिकृत भन्छन्।

अभियोग पत्र दर्ता गर्दा त्यहाँ नमराज माझीलाई अभियुक्त बनाएको पाइँदैन। तर, अदालतले उनलाई पनि दोषी देख्यो। अनि, नसिहत दिने फैसला गर्‍यो। ‘माझीलाई त कडै सजाय दिने तयारी थियो। तर मिडियामा खबर आएपछि उनलाई नसिहत मात्रै दिइएको हो। त्यति मात्रै होइन, तीन सैनिक अधिकृतलाई जोगाउन जागिर खाइदिने धम्की दिएर उनलाई बयान पनि नरम दिन बाध्य पारिएको थियो,’ जंगी अड्डाका एक सैनिक अधिकृतको दाबी छ। 

त्यस्तै समरी अदालतले त्यतिबेला मिडिया नीतिविपरीत कार्य गरेको अभियोग लागेको चार सिपाहीमध्ये तीनलाई बढुवा रोक्काको सजाय दियो। तर एक सिपाहीलाई भने जागिर बर्खास्तसँगै ६ महिना जेल सजाय नै तोक्यो। 

त्यतिबेला सिपाहीहरू कृष्णकुमार राई र सिपाही निरबहादुर लिम्बूलाई एक वर्ष बढुवा रोक्काको फैसला सुनाइयो भने सिपाही प्रदीप नाथलाई दुई वर्ष बढुवा रोक्काको कारबाही गरियो। 

तर, सिपाही सुजन पौडेलका हकमा भने ६ महिना कैदसहित जागिरबाट हटाउने चर्को फैसला भयो। अनि, सुजनलाई फोटो उपलब्ध गराउने सिपाही सोबित बराललाई चाँहि नसिहत दिने फैसला भयो। 

यसरी अदालतले एउटै मुद्दामा फरक–फरक फैसला गर्‍यो। सबैलाई नरम तर सिपाही पौडेललाई ‘साह्रै चर्को’।

सैनिक श्रोतका अनुसार यो चर्को फैसला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सिधा दबाबमा भएको थियो। ‘आफ्नो कार्यकालमा यस्तो निर्मम कुटपिटको खबर मिडियामा आएपछि उनले आफ्नै बेइज्जती महसुस गरेका थिए। त्यसैले उनी कुटपिट गर्ने भन्दा पनि कुटपिटको खबर मिडियामा चुहाउने पौडेलसँग बढी रिसाएका थिए। त्यही रिसका कारण पौडेलमाथि चर्को फैसला भयो,’ जंगी अड्डा श्रोतको दाबी छ। 

सेनासम्बन्धी मुद्दामा वकालत गर्दै आइरहेका अधिवक्ता अरुण पौड्याल यो फैसला न्यायसंगत नभएको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘एउटै मुद्दामा एउटै अनुसन्धानबाट एउटै प्रमाणले धेरै प्रतिवादी भएको अवस्थामा एउटै प्रमाणलाई कसैको विरुद्ध चर्को सजाय गर्ने गरी मूल्यांकन गर्ने, कसैको विरुद्ध सामान्य सजाय गरेर प्रमाणको मूल्यांकन गर्नु चाँहि न्यायको एकरुपताको विरुद्धमा हुन्छ। यो त पूर्वाग्रही मूल्यांकन भयो, निष्पक्ष भएन। यस्तो हुनुहुँदैन।’

(कंगो मिसनबारे हामी निरन्तर फलोअपमा छौँ। नेपाल समय पढ्दै गर्नुहोला।)

कंगो मिसन-३ : कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने


'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'...

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?


कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो।...

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए


नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

प्रकाशित: Sep 19, 2021| 22:35 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्