शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सरकारको साथबिनै आविष्कारमा यसरी सक्रिय छन् महावीर पुन [भिडियोसहित]

सरकारको साथबिनै आविष्कारमा यसरी सक्रिय छन् महावीर पुन [भिडियोसहित]

‘सरकारले भन्दा देशविदेशमा रहेका सर्वसाधारण नागरिकले सहयोग गरेका छन्। हामीलाई सरकारसँग भन्दा बढी जनतासँग अपेक्षा छ।’
 |  बिहीबार, भदौ २४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, भदौ २४, २०७८

‘केही गर्न सपना देख्नैपर्छ, तर सपनाले मात्रै पुग्दैन कर्म गर्नुपर्छ’, एसियाको नोवेल पुरस्कार भनिने म्यागासेसे विजेता महावीर पुनको मूल मन्त्र यही यो। उनी यही मन्त्रका साथ हरेक दिन राष्ट्रिय आविष्कार केन्द्रमा आफ्ना सपनाका बिस्कुन फिँजाउछन् र पूर्ण समर्पित हुन्छन्।

हामी रिपोर्टिङका लागि पुग्दा उनी केही विद्यार्थीलाई आविष्कार केन्द्रमा निर्माण भएका सामग्री देखाउँदै थिए। ‘तपाईंहरूसँग पनि यस्तै केही नयाँ आविष्कारको सोच छ, भने आउनुहोस्, हामी सहयोग गर्छौं’, उनले केन्द्रमा पुगेका युवालाई ढाडस दिँदै भने, ‘हामी तपाईंहरूकै सपनाको सारथी हौं। तर, त्यसका लागि समर्पण र धैर्य जरुरी छ।’

पुनको अगुवाइमा २०७६ कात्तिक १ गते जनस्तरबाट तथा विदेशीले गरेको करिब ८ करोड बजेटमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना भएको थियो। युवामा आविष्कारको भोक जगाउन र आफ्नो सपना साकार बनाउन उनले म्यागासेसे पदक लिलाममा राखेका थिए भने पोखराको बेगनासमा रहेको २८ रोपनी जमिनसमेत केन्द्रलाई दिएका थिए। 

आविष्कार केन्द्र पढाउने ठाउँ होइन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा रहेको आविष्कार केन्द्रमा दिनहुँ दर्जनौं विद्यार्थी ठोक्किन पुग्छन्। कोही अभिभावक नै छोराछोरी लिएर महावीर पुनलाई भेट्न पुग्छन्। आफ्ना सन्तानलाई त्यहीं राखेर सिकाइदिन आग्रह गर्छन्। तर आविष्कार केन्द्र सिकाउने ठाउँ होइन भन्ने धेरैलाई थाहै छैन।

‘सरकारले भन्दा देशविदेशमा रहेका सर्वसाधारण नागरिकले सहयोग गरेका छन्। हामीलाई सरकारसँग भन्दा बढी जनतासँग अपेक्षा छ।’

उनले भने, ‘आविष्कार केन्द्र पढाउने ठाउँ होइन यो आइडियामा काम गर्ने र नयाँ आविष्कारका लागि जुट्ने थलो हो’, केन्द्रमा आएका हरेक विद्यार्थी र अभिभावकलाई पुनले यही जवाफ दिने गरेका छन्। उनले विद्यार्थीसँग भन्ने गरेका छन्, ‘आइडिया ल्याउनुस् त्यसलाई साकार बनाउन प्रयास गर्नुस्, केन्द्रले सहयोग गर्नेछ, तर यहाँ केही सिक्छु भन्नेचाहिँ आस नगर्नुस्।’ 

सरकारले नै दिएन साथ

६५ वर्षे अभियन्ता पुनको बुझाइमा हाम्रो संस्कारमा यथास्थितिवाद मात्रै छ। अन्वेषण र आविष्कारको संस्कार छँदै छैन। सकारात्मक सोच र सपनाका कुरामा निम्न तथा मध्यमवर्गीय जनसाधारणले साथ दिने गरेको उनी सुनाउँछन्। सरकारबाट आफूले कुनै सहयोग नपाएको उनको गुनासो छ। 

‘अब त सरकारसँग आससमेत गर्न छाडिसकें। जहाँबाट केही हुँदैन त्यहाँबाट के आस गर्नु?’ उनले भने। सरकारले धेरै पटक आस देखाए पनि साथ भने नदिएको उनको गुनासो छ। ‘सरकारले भन्दा देशविदेशमा रहेका सर्वसाधारण नागरिकले सहयोग गरेका छन्। हामीलाई सरकारसँग भन्दा बढी जनतासँग अपेक्षा छ’, उनले भने। केन्द्रलाई पढेलेखेकाले बुझ्न नसकेमा उनको चित्तदुखाइ छ। उनको अझै चित्त दुखाइचाहिँ उनीहरूको अभियानलाई सरकारले नबुझेकोमा छ। 

कोरोनाकालमा देखाएको पौरख

आविष्कार केन्द्रको स्थापना जुन सकसका साथ भएको थियो, कोभिडका कारण यसको काममा झन् सकस भोग्नुपर्‍यो। २०७६ कात्तिकमा केन्द्र स्थापना भयो। चैतदेखि मुलुक कोरोनाको महामारीका कारण लकडाउनमा गयो। तर, महावीर पुनः हात बाँधेर बसेनन्।  आविष्कार केन्द्र महामारीमा रमिते बनेन। 

कोरोनाको पहिलो लहरमा केन्द्र आफैंले उत्पादन गरेर देशभरका सरकारी तथा निजी अस्पतालमा २३ हजारजति पीपीई निःशुल्क वितरण गर्‍यो। फेससिल्ड र स्वाब संकलनको बाकस (बार) ६५ वटा प्रदान गर्‍यो। संक्रमित बिरामीलाई सुताएर राख्ने ‘एरोसोल’ बक्स ४५ वटा बनाएर वितरण गर्यो। 

बिरामीको चाप बढ्दै गएपछि ट्रमा सेन्टरका विद्यार्थीले भेन्टिलेटर आवश्यक रहेको र बिग्रिएकै भेन्टिलेटर मर्मत गर्नुपर्ने आग्रह गरे । ९५ वटा बिग्रेका भेन्टिलेटर आविष्कार केन्द्रमा थुप्रिए। तीमध्ये ३३ वटा मर्मत भयो। १८ वटा किड्नी डायलसिस मेसिन पनि मर्मत भयो केन्द्रमा।

माग र आवश्यकताअनुसार केन्द्रले कोरोना कालमै शव राख्ने थैलो (डेड बडी ब्याग) पनि बनायो । वीरगन्ज र काठमाडौंका अस्पतालले ५५ वटा ब्याग लगेका थिए। पछि अमेरिकामा रहेका नेपाली डाक्टरले एक किसिमको मास्क ‘पापर’ (पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर) बनाउन सुझाए र स्याम्पल पनि पठाइदिए। फ्यानजडित र अनुहारमा हावा आइरहने आईसीयू डाक्टरले लगाउने यो मास्क पनि मागअनुसार सयवटा जति उत्पादन भयो केन्द्रमा।

बिरामीलाई चाहिने हुड दुई सय वटाजति निर्माण गरेर वितरण गरियो। आविष्कार केन्द्रले कोरोना संक्रमितको कक्षमा औषधि पुर्‍याउने रोबोट बनायो, ८ वटा त प्रयोग पनि भयो।

केन्द्रले विज्ञको सल्लाहसुझाव र अस्पतालको मागका आधारमा अहिलेसम्म कोरोना रोगसम्बद्ध १३ किसिमका स्वास्थ्य सामग्री बनाएर वितरण गरेको छ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन र भेन्टिलेटरको हाहाकार मच्चिँदा पनि पुन नेतृत्वको केन्द्रले ठूलो भूमिका खेल्यो। केन्द्रले विज्ञको सल्लाहसुझाव र अस्पतालको मागका आधारमा अहिलेसम्म कोरोना रोगसम्बद्ध १३ किसिमका स्वास्थ्य सामग्री बनाएर वितरण गरेको छ। यति मात्रै होइन, कोरोना संक्रमित बिरामीलाई अलग्गै राखेर हेलिकप्टर वा एम्बुलेन्सबाट ओसारपसार गर्न सकिने आइसोलेसन च्याम्बर पनि बनायो। विभिन्न हेलिकप्टर कम्पनीले ६ वटाजति च्याम्बर लगेको केन्द्रको तथ्यांक छ।  

४० वटा प्रोजेक्ट परीक्षण, ८ वटामा सफल

महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले ४० वटा प्रोजेक्टको परीक्षण गरेको छ। तीमध्ये आठ वटा प्रोजेक्ट भने आविष्कार गरेर परीक्षणमा लगिएको छ। ‘न्यानो नानी बेबी वार्मर’  बनाएर विभिन्न अस्पतालमा परीक्षणका लागि लगिएको छ। बेबी वाम १८ वटा बनाएर अस्पतालमा परीक्षणका लागि दिएको छ। अन्य २५ वटा बनाउँदैछन्। यसको परीक्षण करिब सफल भएको महावीर पुनले सुनाए। उनका अनुसार पूर्ण रूपमा परीक्षण सफल भएपछि देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पताललाई प्रदान गर्ने तयारी छ। 

बेबी वार्मरका लागि ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी बेबी वार्मर’ बनाउन आवश्यक ८ लाख रुपैयाँ केन्द्रलाई प्रदान गरेको थियो। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरले देशका विभिन्न स्थानमा शिशु मृत्युदरसमेत न्यूनीकरण गर्न योगदान पुर्याउने पुनले बताए।

रोलर ड्रायर अर्थात् दिउँसो घामले तताउने बेलुका बिजुलीले तताउने मेसिन। यसको पनि परीक्षण अन्तिम चरणमा पुगेको छ। कफी भुट्ने मेसिनको परीक्षण करिब सफल भएको छ। पुनले भने, ‘बजारमा गएको छैन, चाँडै लैजाने तयारी छ।’ उनका अनुसार कफी भुट्ने मेसिन तीन वटा अर्डर आएको छ।

‘दुर्गम ठाउँमा औषधि पुर्‍याउन मेडिकल ड्रोनको समेत आविष्कार भइरहेको छ। कोरोनाका कारण यसको काम रोकिएको छ। अब चाँडै अघि बढ्छ’, पुनले भने।

चितवनस्थित कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीले कुखुराको दान बनाउने प्रोजेक्ट गरेका थिए। नतिजा राम्रो नआएकाले परीक्षण भइरहेको छ। विद्यार्थीले कम्पनी खोलेर कुखुराका दाना बनाइरहेका छन्। केन्द्रले मौरीको घार ओसार्ने ट्रली पनि बनाएको छ। कोभिडका कारण त्यसको परीक्षण गर्न नपाइएको पुनले बताए। 

अब केन्द्रमा अदुवाको रक्सी निर्माणको परीक्षण हँुदै छ। जुनारको रक्सी परीक्षणका क्रममा छ। ‘दुर्गम ठाउँमा औषधि पुर्‍याउन मेडिकल ड्रोनको समेत आविष्कार भइरहेको छ। कोरोनाका कारण यसको काम रोकिएको छ। अब चाँडै अघि बढ्छ’, पुनले भने। यो सफल भयो भने अति दुर्गम गाउँमा मान्छेलाई औषधि पुर्‍याउन अत्यन्त सहज हुने पुनको विश्वास छ। 

अब खाद्य प्रविधिको उपायबाट खानेकुरा, पेय पदार्थ बनाएर व्यवसायीकरणमा जाने योजना रहेको उनले सुनाए। ‘नेपालको भौगोलिक स्थितिमा उपयुक्त हुने कृषि औजार उत्पादनको उद्योग खोल्ने योजना छ’, उनले भने।

प्रकाशित: Sep 09, 2021| 14:24 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्