शनिबार, फागुन १९, २०८०
  • गृहपृष्ठ
  • समाचार
  • निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।
 |  मंगलबार, भदौ १५, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- साढे दुई वर्षअघि दुई सैनिकलाई सर्ट मेसिन गन (एसएमजी) चोरेको अभियोगमा फसाउने सेनाको योजनामा प्रहरीले पनि साथ दिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन एसपी चन्द्रदेव राई र चितवनका तत्कालीन एसपी सुशीलसिंह राठौरले सेनाको दबाब र प्रभावमा परेर सैनिक अमल्दार लबकुमार गुरुङको परिवारलाई यातना दिएको पाइएको हो। 

हतियार अर्कैले चोरेको पुष्टि भइसक्दा पनि सैनिकद्वय अमल्दार गुरुङ र सिपाही सरोज तामाङ जिल्ला कारागार चितवन चलान भएर कैद सजाय भोगिरहेका छन्। हामीले यसअघिको शृंखलामा गुरुङ र तामाङलाई सेनाभित्र क–कसले कसरी फसाए, त्यसबारे चर्चा गरिससकेका छौँ। 

यो शृंखलामा एसपीद्वय राई र राठौरले सेनाको योजना र दबाबमा लबकुमारको परिवारलाई कसरी जेलसम्म पुर्‍याए, त्यसबारे चर्चा गरौं। यसको कथा ०७५ माघ २६ बाट सुरु हुन्छ। 

000

२०७५ माघ २६ गते बिहानै सेना र प्रहरीको संयुक्त टोली हतियार खोज्दै लबकुमारकी जेठीसासू तारा तामाङको घर उदयपुर त्रियुगास्थित बगाहा पुगेको थियो। लबकुमारका अनुसार उनलाई सैनिक हिरासतमा राखेर चरम यातना दिएर हतियार आफूले चोरेर जेठीसासूलाई दिएको कबुल गर्न लगाइएको थियो। 

Metro Mart
worldlink

झुटो बयान कबुल गर्न बाध्य पारिएपछि मेजर दीपेन्द्र श्रेष्ठको कमान्डमा कालीबहादुर गणबाट क्याप्टेन विज्ञान भट्टराईलगायत सेनाको टोली गुरुङसहित उदयपुर पुगेको थियो। तर, ताराको घरमा जाँदा गुरुङलाई लगिएको थिएन। घरमा तारा र लबकुमारकी श्रीमती प्रमिला सुतिरहेका थिए। ३०-४० जना सेना र प्रहरीको जत्था देखेर तारा र प्रमिला आत्तिए। दुवैलाई 'हतियार कहाँ छ' भनेर बारम्बर सोधियो। घरको खानतलासीसमेत गरियो। तर, केही भेटिएन। 

केही नभेटिएपछि दुवै जनालाई प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय उदयपुर लगियो। त्यतिबेला एसपी राईको नेतृत्वमा रहेको प्रहरीले सेनाको दबाब र प्रभावमा परेर तारालाई शारीरिक यातना मात्रै दिएन, मिसिल अध्ययन गर्दा झुटो मुद्दा लगाएर हिरासतमा राखेको थियो। 

सैनिकका परिवार यतिखेर आशावादी छन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।

'घरबाट लगिएको थियो, हतियार अनुसन्धान गर्न। तर, म्याद थप गर्दा अश्लील गालीगलौज र मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइयो,' प्रमिलाले सुनाइन्। 

000

यस विषयमा हाल सरुवा भएर बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौँडा मकवानपुरमा कार्यरत रहेका एसपी राईसँग सम्पर्क गर्दा उनले घुमाउरो शैलीमा स्वीकारे। 'कानुनी कारबाही गर्ने सिलसिलामा प्रहरीलाई कतै अवरोध या बाधा पुर्‍याएको महसुस भयो भने त्यहीअनुसार मुद्दा चलाउने आधार कानुनमै व्यवस्था छन्। त्यसलाई टेकेर लगाएको हुन सक्छ,' उनले भने। 

सेनासँग आएको प्रहरीले उनीहरूलाई बिहानै पक्राउ गरेर प्रहरी कार्यालय लगेको थियो। तर, मिसिल हेर्दा माघ २६ गते साँझ ८ बजे दिदीबहिनीबीच झगडा गरिरहेको अवस्थामा पक्राउ गरेको भनेर लेखिएको छ। सरकारी वकिलको कार्यालयमा लगिनुअघि नै बयान तयार पारेर प्रमिला र तारालाई हस्ताक्षर गर्न लगाइएको थियो। हस्ताक्षर गर्न लगाइएको बयानमा प्रमिलालाई यस्तो स्वीकार्न लगाइएको थियो-

'मेरी दिदी तारा तामाङसँग भेट भएर हतियारबारे कुरा गर्दा निजले मलाई पनि आरोप लगाउने भन्दै आवेशमा आई अश्लील गालीगलौज र होहल्ला गर्दै मलाई हातपात गरेको र ड्युटीमा खटिएको प्रहरी आई सम्झाइबुझाइ खोज्दा रिसको आवेशमा प्रहरीसँग विवाद गरेको बयान कबुल गर्न लगाइयो।'

तर, जिल्ला प्रशासन कार्यालय उदयपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीसमक्ष इमान धर्मसम्झी गरेको बयान कागजमा भने उनीहरुले यथार्थ बोलेका छन्-

म मेरी दिदी तारा तामाङको घर जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा न. ४ बगाहामा केही दिनअगाडिदेखि नै आएर बसेकी थिएँ। मिति २०७५ माघ २६ गतेका दिन बिहान ६ बजेतिर दिदीको घरमा सुतिरहेका बेला प्रहरी कर्मचारी र सेनाको टोली आई 'तिम्रो श्रीमान् लबकुमार गुरुङले हातहतियार ल्याएर कोठामा राखेको छु, मेरी श्रीमतीलाई पनि थाहा छ' भनेको कारण हामी तपाईसँग सोधपुछको लागि आएका हौँ भनेर सेनाले मसँग सोधपुछ गर्नुभयो। मैले मलाई यसबारेमा केही जानकारी छैन भनेपछि मेरो दिदी तारा तामाङसँग पनि सोधपुछ भयो। मेरो दिदी तारा तामाङको घरमा समेत खानतलासी गरी तिमीहरुसँग सोधपुछ गर्नु छ भन्दै हामीसँगै 'हिँड्' भनेका हामी दिदीबहिनी प्रहरी कर्मचारीकै भ्यानमा बसी जिल्ला प्रहरी कार्यालय उदयपुरमा आएका हौँ। तर, प्रहरी प्रतिवेदनमा भनेजस्तो गरी हामी दिदीबहिनी एकआपसमा विवाद, होहल्ला गरी सार्वजनिक शान्ति खलल पार्ने काम गरेका छैनौँ। र, प्रहरी कर्मचारीलाई धाकधम्की दिई प्रहरीको काम कारबाही समेतमा बाधा अवरोध पुर्‍याएको छैन र होइन। 

तारा र प्रमिलाले करिब १० हिरासतमा बिताइसकेपछि मात्रै उनकी आमा कानुनी सहायताका लागि अधिवक्ताको शरणमा पुगेका थिइन्। 'त्यतिबेलासम्ममा हतियार लबकुमारबाट लिएको कबुल गर्न लगाएर तारालाई यातना दिइएको अवस्था थियो। ताराको शरीर हेर्दा नै गम्भीर शारीरिक यातना दिइएको प्रष्ट हुन्थ्यो,' अधिवक्ता सोमनाथ ढुंगाना भन्छन्, 'मैले त्यतिबेला उदयपुरका एसपीसँग हतियार लुकाउन संलग्न भएको प्रमाणबिना किन यसरी पक्राउ गर्नुभएको भनेर सोध्दा उहाँहरूले अन्यथा नलिनुस्, सेनाको दबाब छ भन्ने जवाफ फर्काउनुभएको थियो। खासमा त्यतिबेला सेनाको मुद्दा भनेपछि प्रहरीदेखि अदालतसम्म सबै तर्सिएको अवस्था थियो।'

प्रहरी कार्यालयमै यातना 

कतै हतियारबारे केही सूचना आइहाल्छ कि भनेर तारा र प्रमिलालाई पक्राउ गरेको भोलिपल्ट सेनाले प्रहरी कार्यालयभित्रै लबकुमारसमेत लिएर आएको थियो। लबकुमारकी श्रीमती प्रमिला र तारा दुवैलाई लबकुमारसँग भेट गराइएको थियो। 

हातमा हतकडी। कपाल पूरै फोहोर। आँखाको परेलामाथि टाँका। जिउभरि पिटाइको नीलडाम। पाकेका घाउ। श्रीमानलाई यस्तो हालतमा देख्नेबित्तिकै प्रहरी कार्यालयभित्रै रोएकी थिइन्, प्रमिला। 

'जो आए पनि म निर्दोष छु, मैले केही गरेको छैन मात्रै भनिरहनुभयो,' प्रमिला सम्झिन्छिन्, 'तिमी त बूढी हो, तिमीले भन्दा पक्कै कुरा खोल्न सक्छ भनेर हतियार कहाँ लुकाएको छ भनेर सोध्न लगाइएको थियो। मैले दिउँसोको ३ बजेसम्म उनीहरूले जसरी सोध्ने भनेँ, त्यसरी सोधिरहेँ, तर केही बोल्नुभएन। म निर्दोष छु मात्रै भनिरहनुभयो।'

प्रहरीले पनि त्यही बयानलाई विश्वास गरेर आन्तरिक अनुसन्धान नगरेको एसपी स्वीकार्छन्। तर, प्रहरी कार्यालयभित्रै यातनाका दिइएको बारेमा केही बोल्न चाहँदैनन्। 

यातनाका कारण आफूले हतियार चोरेको कबुल गर्न बाध्य भएको उनले त्यहाँ तारा र प्रमिलालाई भनेका थिए। 'हामीलाई उहाँले त्यतिबेला आत्तिएको अवस्थामा 'अब तिमीहरू दुई जनामा एक जनालाई पनि यिनीहरूले छाड्दैनन्। त्यसैले मलाई हतियार दिएको थियो, मैले ल्याएर भाइ टाइचनलाई दिएँ भन्नू। नत्र त मलाई पनि मार्छन्, तिमीहरूलाई पनि अप्ठेरो पार्छन्' भन्न लगाउनुभयो,' प्रमिला भन्छिन्, 'त्यसपछि मलाई बाहिर लगियो। त्यहीबेला तारा (दिदी)ले तपाईंलाई केही गर्दैनन्, छोड्छन् भने म कबुल गर्छु नि त भनेर गर्नुभयो। त्यही दिदीको लागि अभिशाप भयो।'

000

प्रहरीले आन्तरिक अनुसन्धान नगरीकन झुठो मुद्दामा हिरासत राखेर सेनालाई त्यतिबेला सहयोग गरेको आरोप छ, अधिवक्ता ढुंगानाको । तर, एसपी राई यो स्वीकार्दैनन्। भन्छन्, 'व्याख्या त जसरी गरे पनि भयो। तर, त्यतिबेला सेनाको हतियार हरायो भनेर मेजरको कमान्डमा टोली आयो। गुरुङ स्वयंले हतियार कबुल गरेर जेठीसासूलाई दिएको भन्यो। जेठीसासूले हतियार लिएर गुरुङको भाइलाई दिएको बयान दिइन्। प्रहरी कार्यालयभित्रै बहिनीले दिदीलाई चड्कन पनि लगाइन्।'

दिदीलाई एक चड्कन लगाएको प्रमिला पनि स्वीकार्छिन्। तर सेनाको आदेशमा दिदीलाई महिला प्रहरीले पिट्दा एसपी मौन भएको बताउँछिन्। 'दिदीले मैले हतियार लिएर आएको हो भनेर बयान दिएपछि म त साँच्चै हो कि भनेर रिसाएकी थिएँ,' प्रमिला भन्छिन्, 'एक चड्कन हानेको सत्य हो। तर, पछि थाहा भयो, मेरै श्रीमानले अनुरोध गरेपछि दिदीले त्यो बयान दिनुभएको रहेछ। त्यसपछि त उसलाई मेरै अगाडि पनि कति कुटियो, कुटियो।'

त्यतिबेला सैनिक लबकुमारलाई प्रहरी कार्यालयमा ल्याउँदा उनको शारीरिक अवस्था ठिक नदेखिएको स्वीकार्छन् एसपी राई। 'चोटपटक बाहिर नै त मैले देखिनँ तर उसको गतिविधि हेर्दा शारीरिक रुपमा दबाब दिइएको हो कि जस्तो चाँहि देखिन्थ्यो,' एसपी राई भन्छन्, 'सेनाले गुरुङलाई दिउँसो मात्रै हामीकहाँ ल्याउँथे, बेलुका उनीहरुकै कस्टडीमा लिएर राख्थे। त्यसैले धेरै केही थाहा हुन्थेन। तर, तत्कालको बयानले उनीहरू दोषी नै देखिन्थे।' 

प्रहरीले पनि त्यही बयानलाई विश्वास गरेर आन्तरिक अनुसन्धान नगरेको एसपी स्वीकार्छन्। तर, प्रहरी कार्यालयभित्रै यातनाका दिइएको बारेमा केही बोल्न चाहँदैनन्। 

'मलाई खुट्टाको पैतालामा पानीको पाइपले पिट्थे। खुब दुख्थ्यो, खुब चिच्याउथेँ, खुब रुन्थेँ,' तारा सम्झिन्छिन्, 'तर, पिट्न छोड्दैनथे। त्यो पाइपले पिट्दा एक–दुई घण्टासम्म निलो डाम बस्थ्यो अनि गइहाल्थ्यो। मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेन गणेश भट्टराई सबै त्यहीँ उभिएका हुन्थे। उनीहरू आदेश दिन्थे, महिला प्रहरीले पिट्थे। अग्लो किचनको र्‍याक थियो। त्यहाँ टाउको मुनि पार्न लाएर पछाडिबाट पिट्थे।'

तारा र प्रमिला हिरासतमै भएका बेला अधिवक्ता ढुंगानाले उनीहरूको रिहाइका लागि बन्दी प्रत्यक्षीकरणको रिट पनि हालेका थिए। 

त्यतिमात्रै होइन, ताराले कुटपिटबाट भएको निल घाउ चोटको घाउँजाँच गराइपाउँ भनी उदयपुर जिल्ला अदालतमा निवेदन पनि दिएकी थिइन्। त्यो निवेदनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईलाई उनले विपक्षी बनाएकी थिइन्। 



हामीसँग प्राप्त त्यो निवेदनमा सादा पोशाकमा आएका दुई महिला र ३ प्रहरीले 'कुरा गर्नु छ' भन्दै प्रहरी कार्यालय लिएर गई यातना दिएको आरोप उनले लगाएकी छिन्। पक्राउ गरेको साँझदेखि नै नचिनेका महिला र पुरुष प्रहरीले बाँसको लाठा, भाटा, लात्ती, मुड्कीले तिघ्रा र शरीरका विभिन्न अगंमा कुटपिट गरेको गालामा हातको हत्केलाले मुख नै सुन्निने गरी पिटेको उनले निवेदनमा खुलाएकी थिइन्। 

त्यति मात्रै होइन, उक्त निवेदनमा उनले 'अदालतमा उपस्थित गराउँदा कुटपिट गर्‍यो भनेर भनिस् भने बेलुका फेरि पिट्छु' भन्दै प्रहरी र सेनाले धम्काएकोसमेत उनले उल्लेख गरेकी थिइन्।

त्यतिबेला उनलाई अदालतमा न्यायाधीशसामु पेस गरेपछि न्यायाधीश स्वयंले महिला कर्मचारीको सहायतामा शरीरको चोटपटक हेर्न लगाएको अधिवक्ता ढुंगाना बताउँछन्। 'त्यतिबेला तिघ्रादेखि शरीरको गोप्य अंगमा समेत निलडाम र चोटपटक देखिएपछि अदालतले जिल्ला अस्पताल उदयपुरमा मेडिकल जाँचलाई आदेश दिएको थियो,' अधिवक्ता ढुंगाना भन्छन्, 'म स्वयम् मेडिकल जाँचका क्रममा अस्पताल गएको थिएँ। मेडिकल रिपोर्टले हिरासतभित्रै रहेका बेला चोटपटक भएको प्रष्टै देखायो।'

हामीलाई पनि फागुन ७ गते गरिएको त्यो मेडिकल रिपोर्ट प्राप्त भएको छ, जहाँ मेडिकल अधिकृत डा. अनील कुमार राउतले हस्ताक्षर गरेका छन्। 

तारा तामाङको मेडिकल रिपोर्ट



तारा र प्रमिलालाई प्रहरीले २५ दिन हिरासतमा राखेपछि सिडिओ कार्यालयले १०-१० हजार धरौटी तिराएर छाडेको थियो। प्रमिलाका अनुसार त्यतिबेलै लबकुमारका भाइ टाइचिन भनिने पवन गुरुङलाई पनि मोरङ प्रहरीले थुनेर यातना दिएको थियो। 'हामीहरू छुट्ने बेलामा उहाँलाई पनि उदयपुर नै ल्याइपुर्‍याइएको थियो,' उनले भनिन्।

सेनाको पत्रका आधारमा मुद्दा चलाउने प्रहरी

२५ दिनको हिरासत यातनापछि तारालाई आमाले 'शरीर तेलले मालिस गर्दिन्छु' भन्दै बोलाएपछि उनी नजिकै रहेको माइतीघर गएकी थिइन्। ताराका अनुसार घर पुगेको पर्सिपल्टै एसपी राइले उनलाई फोन गरे र भने, 'तिम्रो घरमा ताल्चा लागेको रैछ। यहाँ हामीलाई पत्र आएको छ, तिमीलाई चितवन बोला'को छ।'

यातनाको पीडा कम हुन नपाउँदै आएको त्यो फोन कलले उनी फेरि तर्सिइन्। सुरुमा नजाने बताइन्। तर, एसपीले 'पछि अप्ठेरो पर्ला, गयो भने यताको जस्तै २५ दिन राखेर छोड्दिन्छ' भनेपछि उनी राजी भइन्।   

त्यसपछि तारासँगै लबकुमारका भाइ पवनलाई पनि प्रहरीले उदयपुरबाट चितवन लिएर गयो। लिएर जाँदा भाइलाई हतकडी लगाएको थियो तर तारालाई थिएन। रातको १ बजेतिर गाडी चितवन पुग्यो। राति नै उनीहरूलाई लिन प्रहरीको भ्यान आयो। सुरुमा हस्पिटल लगियो। मेडिकल चेक भयो। त्यसपछि सिधै हिरासत। 

त्यतिबेला चितवनका एसपी थिए, सुशीलसिंह राठौर। राठौरको नेतृत्वमा रहेको प्रहरीले २५ दिन उनीहरूलाई अनुसन्धानका लागि भन्दै हिरासतमै राख्यो। त्यति मात्रै होइन, हतियार लुकाएको अभियोगमा उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत चितवनमा हातहतियार तथा खरखजाना मुद्दा नै दर्ता गरियो।

अदालतले पुर्पक्षमा राख्न आदेश दिएपछि उनीहरु ९ महिना कारागार बसे। त्यसपछि अदालतले नै प्रमाण नपुगेको भन्दै उनीहरूलाई सफाइ त दियो तर अधिवक्ता ढुंगानालाई अझै लागिरहन्छ– 'प्रहरीले के आधारमा मुद्दा चलायो?'

घटनालाई गहिरिएर बुझ्दा त्यतिबेला एसपी राठौर पनि सेनाकै कुरामा विश्वस्त भए। तारा र पवनले 'हामीले हतियार लुकाएका छैनौँ' भन्दाभन्दै पनि सेनाको पत्रका आधारमा उनले तत्कालीन प्रहरी निरीक्षक राजकुमार थापालाई मुद्दा दर्ता गर्न निर्देशन दिए। 

तर, हाल महानगरीय प्रहरी कार्यालयमा प्रवक्तामा रुपमा कार्यरत रहेका उनले सेनाको हतियार प्रकरणबारे बुझ्न खोज्दा अनभिज्ञता प्रकट गरे। 'त्यस्ता मुद्दा त कति आउँथे, आउँथे, मलाई त थाहा नै भएन,' उनी यति भनेर यो केसबाट पन्छिन खोजे। 

न चोरिएको भनिएको हतियार बरामद भएको थियो। न तारा र पवनले त्यहाँ हतियार लुकाएको स्वीकारे। तैपनि उनीहरूलाई मुद्दा चलाइयो। 

हामीसँग अदालतको फाइल प्राप्त छ, जहाँ त्यतिबेला प्रहरीको तर्फबाट तत्कालीन चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासमा प्रहरी निरीक्षक राजकुमार थापाले बकपत्र गरेका थिए। 

उनले त्यतिबेला जिल्ला न्याधिवक्ता प्रकाश थापाको प्रश्नमा ०७५ फागुन १९ गते कालिबहादुर गणको चलानी न. ६१७५ बाट गणभित्र एसएसएमजी हतियार हराएकोले अनुसन्धान गरिदिन हुन जिल्ला प्रहरी कार्यालयमा पत्र आएपछि हतियारबारे थाहा पाएको बताए। 

त्यतिबेला प्रहरीलाई पत्रका साथमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा तारालाई यातना दिएर कबुल गर्न लगाइएको बयानको भिडियो पनि सिडीमा पठाइएको थियो। 'प्रहरी पनि सेनासँग तर्सियो, नागरिकलाई थुन्दै गर्दा आफ्नो तर्फबाट केही अनुसन्धान गरेन,' अधिवक्ता ढुंगानाले भने, 'त्यही पत्र र सिडीका आधारमा प्रहरीले उनीहरूलाई मुद्दा चलायो। जबकि मुद्दा चलाउने प्रकृतिको हो कि होइन, विवेक प्रयोग गर्ने अधिकार प्रहरीसँग थियो। त्यसैले लबकुमारको परिवारले यातना पाउनुमा प्रहरी पनि दोषी छन्।' न चोरिएको भनिएको हतियार बरामद भएको थियो। न तारा र पवनले त्यहाँ हतियार लुकाएको स्वीकारे। तैपनि उनीहरूलाई मुद्दा चलाइयो। 

ताराका अनुसार चितवन हिरासतमा उदयपुरमा जस्तो कुटपिट गरिएन तर प्रहरीकै अगाडि सेना आएर गाली भने गरिरहन्थे। 'सरकारी वकिलले बयान लिने क्रममा पनि आर्मी आएको थियो,' तारा सम्झिन्छिन्, 'त्यहाँ पनि उनीहरूले मलाई हतियार खोइ भनेर सोधे। मैले मसँग छैन भनेँ। मैले ज्वाइँले भनेर बोलेको हो, नपत्याए मलाई गोली ठोक्दिनुस्सम्म भनेँ। तर, उल्टै 'तैँले नदिने रैछस्, तँलाई छोड्दैनौँ' भन्दै थर्काएर हिँडे। प्रहरी मुकदर्शक भएर हेरिरह्यो।'

तारा–पवनको तर्फबाट मुद्दा लडेका अधिवक्ता सोमनाथ ढुंगानाका अनुसार त्यतिबेला चितवनका प्रहरी इन्सपेक्टर थापाले अदालतमै 'अफ दि रेकर्ड' तारा र पवनले यो हतियार चोरेकोजस्तो आफूलाई नलाग्ने बताएका थिए। 'तैपनि सेनाको दबाबले गर्दा मुद्दा दर्ता गर्नुपर्‍यो भन्ने उनको आशय थियो,' अधिवक्ता ढुंगानाले सुनाए। 

जतिबेला तारा हिरासतमा थिइन्, त्यतिबेला उनका श्रीमान् विदेशमा थिए भने सानी छोरी उदयपुर घरमा। भन्छिन्, 'यो केसले मेरो जिन्दगी, मेरो धेरै कुरा सक्कियो, सर।' उनी यतिखेर आशावादी छिन्, लबकुमार-सरोजको रिहाइसँगै झुटो मुद्दा लगाएर फसाउने सैनिक र सैनिकलाई साथ दिने प्रहरीलाई समेत कारबाही हुन्छ। तर, प्रहरी प्रधान कार्यालयले यो विषयमा छानबिन गर्छ/गर्दैन, हेर्न बाँकी छ।

'यदि यो हतियारको मुद्दामा प्रहरीबाट पनि कहीँकतै कमजोरी या यातनाको काम भएको छ, पीडितले प्रहरी प्रधान कार्यालयदेखि मानवअधिकार आयोगसम्ममा गएर उजुरी दिन सक्छन्,' पूर्व डिआइजी हेमन्त मल्लको सुझाव छ।

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको एघारौँ भाग

दुई सैनिक फसाउने अनुसन्धानका दोषी को? सेनाभित्र क-कसलाई होला कारबाही?


प्रकाशित: Aug 31, 2021| 16:44 मंगलबार, भदौ १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्