काठमाडौं– भोजपुरका देवीराम कार्कीले बागमतीको पवित्रताबारे बूढापाकाबाट खुब सुनेका थिए। यसको धार्मिक र ऐतिहासिक कथाहरु सुन्दै भोजपुरमै हुर्केका देवीरामलाई काठमाडौं आएपछि एक पटक बागमतीमा स्नान गर्ने धोको थियो। तर, जब उनले पहिलो पटक काठमाडौं टेके, ढलसहित बगिरहेको बागमती देखे। नुहाउन त परको कुरा, छुन पनि मन लागेन। बागमतीको बारेमा उनको मनमस्तिष्कमा जुन इमेज बनेको थियो, त्योभन्दा बिलकुल फरक पाए यथार्थमा।
हो, मुलुकको संघीय राजधानीमा बग्ने मुख्य नदी बागमतीमा पानी कम, फोहोर ज्यादा बग्न थालेको थुप्रै वर्ष भयो। चाखलाग्दो कुरा त के छ भने बागमती प्रदूषित हुन थालेपछि यसलाई सफा बगाउन विभिन्न अभियान पनि सुरु भए। तर, सफाइमा नाममा अर्बौं रुपैयाँ सकिए पनि बागमती सफा हुन सकेको छैन। अहिले बर्खाको समयमा बाढी आएर बहाव बढ्दा केही सफा देखिए पनि अन्य समयमा बागमतीमा ढल नै बग्छ भन्दा अतिशयोक्ति हुँदैन।
२०५१ सालमा स्थापित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बागमती सुधार आयोजनाका लागि अहिलेसम्म सरकारले २१ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बजेट दिइसकेको छ। आयोजना स्थापना भएको आर्थिक वर्ष २०५२–०५३ मा ४ करोड बजेट छुट्याइएकोमा अहिले ३ अर्ब नाघेको छ। चालू आर्थिक वर्ष २०७८–०७९ मा मात्रै ३ अर्ब २३ करोड ४ लाख रुपैयाँ स्वीकृत गरिएको छ। यो बजेट राष्ट्रिय गौरवका आयोजनाका लागि बर्सेनि दिइने रकमबराबर हो।
यसरी चलिरहेको छ बागमती सफाइ अभियान
काठमाडौंको सभ्यतासँग जोडिएको र हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ भएर बग्ने बागमती नदी सफाइका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो। लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो। यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाएर काम हुँदै आएको छ।
आयोजनाको एकल प्रयासमा बागमती सफा नभएपछि २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियानका नामबाट नागरिक स्तरबाट सफाइ सुरु भयो। सरकार तत्कालिन मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा सञ्चालित ‘बागमती सफाइ महाअभियान’ अहिले पनि प्रत्येक शनिबार सञ्चालनमा छ।
पौडेलको अगुवाइमा सुरु भएको स्वयंसेवी अभियानमा अहिलेसम्म १० लाखभन्दा बढीले सहभागिता जनाइसकेका छन्। उनीहरुले अहिलेसम्म २५ हजार टन फोहोर निकालेका छन् बागमतीबाट। काठमाडौंको गोकर्णदेखि चोभारसम्म नदी किनारमा ढल बनाउने काम सम्पन्न गरेको बागमती नदी सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सफाइ अभियानमा काठमाडौं महानगरले पनि हातेमालो गरिरहेको छ।
एकातिर अभियन्ताले हरेक साता सफाइ गर्दै आएका छन् भने अर्कोतिर नदीमा फोहोर फाल्ने र ढल मिसाउने क्रम पनि रोकिएको छैन।
आयोजनाको एकल प्रयासमा बागमती सफा नभएपछि २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियानका नामबाट नागरिक स्तरबाट सफाइ सुरु भयो। सरकार तत्कालिन मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा सञ्चालित ‘बागमती सफाइ महाअभियान’ अहिले पनि प्रत्येक शनिबार सञ्चालनमा छ।
बागमती सफाइ अभियान सुरु भएपछि यसका शाखा नदीहरु विष्णुमती, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाइ थालिएको छ।
पूर्ण रुपमा नदी सफा बनाउन र सो क्षेत्रलाई सफा र सुन्दर बनाउन अझै ५ देखि ७ वर्ष लाग्ने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
कहाँ सकियो बजेट?
नागरिकस्तरमा सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा नदीबाट फोहोर निकालिँदै
बागमती क्षेत्रलाई सफा र सुन्दर बनाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पार्क निर्माण तथा ब्युटिफिकेसनको काम गर्दै आएको छ। नख्खु, हनुमन्ते र बागमतीमा वृक्षरोपण तथा पार्क निर्माण गरिएको र तोकिएको जिम्मेवारी पूरा नगर्ने संस्थालाई दण्डित गर्ने काम गरिएको समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए। अबको ७ वर्षपछि बागमतीको पानी नुहाउन योग्य हुने उनको दाबी छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ६३३ रोपनी जग्गा अधिग्रहण गरेको छ। बागमती नदी र यसका सहायक नदीहरुको उद्गमस्थलदेखि कटुवाल दहसम्म निर्माण एवम् सरसफाइ अभियानमा हालसम्म २५ मिटर ढल निर्माण कार्य सम्पन्न गरेको छ। १९ किमि सडक निर्माणका साथै ४९.३३ किमिमा नदी नियन्त्रण कार्य सम्पन्न भएको छ।
त्यस्तै, नदीका किनारमा १६ वटा पार्क निर्माण सम्पन्न भएको समितिले जनाएको छ। गुह्येश्वरी ढल प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। सुन्दरीजलदेखि गोकर्ण खण्डमा करिब ८ किमि नदी तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ। तिलगंगा कोटेश्वर महादेव स्थानखण्ड नदीको पूर्व किनारमा ३.६५ र पश्चिम किनारमा ३.६८ किमि लम्बाइमा मुख्य ढल लाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। साथै नदीमा मिसाइएका सम्पूर्ण ढललाई मुख्य ढल लाइन जोड्ने कार्य सम्पन्न भएको छ।
एकातिर अभियन्ताले हरेक साता सफाइ गर्दै आएका छन् भने अर्कोतिर नदीमा फोहोर फाल्ने र ढल मिसाउने क्रम पनि रोकिएको छैन।
कोटेश्वर महादेवस्थानदेखि शंखमूल खण्डसम्म दुबै किनारमा २.६ किमि ढल लाइन बिछ्याउने, दुवै किनारका सडक कालोपत्रे तथा नदी नियन्त्रण कार्य सम्पन्न भएको छ। शंखमूलदेखि थापाथली र थापाथलीदेखि बागमती विष्णुमती दोभान टेकु खण्डसम्म तटबन्ध, ढल विछ्याउने, लेभल क्रसिङ स्ट्रक्चर निर्माण, सडक कालोपत्रे तथा नदी नियन्त्रण कार्य हालसम्म सम्पन्न भएको समितिले जानकारी दिएको छ। आयोजनाका लागि आर्थिक वर्ष २०७८–०७९ मा ३ अर्ब २३ करोडभन्दा बढी बजेट छुट्याइएको छ।
के छ अबको योजना?
उपत्यकाको ढल व्यवस्थित नगरेर समस्या उत्पन्न भएको निष्कर्ष निकालेर आयोजनाले बागमतीलाई ढलमुक्त बनाउने कुरालाई पहिलो प्राथमितामा राखेको छ। सबै करिडोरमा ढल बनाउने उसको योजना छ। यही आर्थिक वर्षभित्रमा सुन्दरीजलदेखि गुहेश्वरीदेखिसम्मको बागमती नदीलाई ढलमुक्त बनाउने आयोजनाका अधिकारीहरु दाबी गर्छन्। फोहोर फाल्नेलाई कारबाही गर्न उक्त क्षेत्रमा सिसिटिभि राख्ने तयारी भएको अध्यक्ष तिमल्सेनाले जानकारी दिए।
यस्तै, आयोजनाले बागमती ब्युटिफिकेसन पार्कका लागि १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ। गोकर्णदेखि गुहेश्वरी अनि थापाथलीदेखि बल्खुसम्म करिडोर निर्माणसँगै पार्क निर्माणको काम सुरु भएको छ।
किन संग्लिएन त बागमतीको पानी?
२७ वर्षदेखि बागमती सफा गर्ने अभियान चले पनि पानीको स्तरमा उल्लेख्य सुधार आएको छैन। किन त? बागमती सफा गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अरुलाई दोष दिएर पन्छिने गरेको छ। काठमाडौं उपत्यकाका नगरपालिकाहरुले फोहोर र ढलको व्यस्थापन नगरिदिएका कारण बागमती सफा नभएको आयोजनाको दाबी छ। केन्द्र र स्थानीय सरकारको प्रतिबद्धता र प्राथमिकतामा बागमती नपरेका कारणले पनि अवस्था सुधारिन नसकेको आयोजनाका अध्यक्ष तिमल्सेना बताउँछन्। ‘यसो हेर्दा बागमतीमा पानीभन्दा धेरै पैसा बगेजस्तो देखिन्छ। तर, एउटा सफा गर्दै जाने र अर्कोले फोहोर गर्दै जाने गरेकाले बागमती संग्लिन नसकेको हो,’ उनी भन्छन्।
फोहोर नफाल्न उर्दी जारी गर्ने तर उचित व्यवस्थापन गर्न नसक्ने काठमाडौं महानगरका कारणले समस्या थपिएको उनको तर्क छ। ‘जति सफा गरे पनि ढल मिसाउन र फोहोर फाल्न नरोकिएपछि कसरी हुन्छ बागमती सफा? हामीले मात्रै गरेर हुँदैन। सबै पक्ष र राजधानीका नागरिक आफैं नलागेसम्म बागमती नदीमा सफा पानी बग्न गाह्रै छ।’ उनले भने।
त्यसो त बागमती फोहोर हुनुको अर्को मुख्य कारण किनारको सुकुम्बासी बस्ती पनि हो। विभिन्न समयमा सरकारले सुकुम्बासी बस्ती हटाउने प्रयास नगरेको पनि होइन, तर बागमती किनार पूर्ण रुपमा खाली हुनै सकेको छैन। ‘सरकारले बागमती किनारबाट सुकुम्बासी हटाउन सक्ने हैसियत पनि राख्दैन, अनि कसरी हुन्छ बागमती सफा?’
अध्यक्ष तिमल्सेना भन्छन्, ‘अभियन्ताले हप्तामा एक दिन अभियान चलाएर मात्रै पुग्दैन, बागमती सफा गर्न सरकारको प्रतिबद्धता र प्राथमिकता पनि चाहिन्छ। किनारबाट सुकुम्बासी हटाउने, ढल नदीमा मिसाउन नदिने, फोहोर फाल्न रोक्ने र नमान्नेलाई कडा दण्डको व्यवस्था गर्ने हो भने हाम्रो प्रयासले चाँडै सार्थकता पाउँछ।’