काठमाडौं- नेपालमा तोप चरा वा कोटेरो भनेर चिनिने यो चरा भँगेरा वर्गको हो। यसलाई कतै कतै सुजेरो तथा बकेचो पनि भनिन्छ।
यो जातका चरा नेपालमा मंसिर लागेपछि उच्च पहाडी भागबाट कोही तराईतिर लाग्छन् भने केही काठमाडौं उपत्यकातिरै पनि बस्न आउँछन्।
यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेलो हुन्छ। पोथी फुस्रा हुन्छन्। प्रजननकालमा भालेहरूको पहेँलो भाग टल्किएर आउँछ।
काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो। हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन्।
झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन।
भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ। पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन्। यी चराको हुलमा भालेभालेबीच कसले राम्रो गुँड बनाउने भन्नेसमेत होडबाजी नै चल्छ।
यिनीहरूलाई खराब मौसम र शत्रुबाट आफ्ना गुँड बचाउन पाए पुग्छ। गुँडलाई हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन्, जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन।
गुँड बनाएपछि जब पोथीहरू आइपुग्छन् तब भालेहरू आफूले बनाएको गुँडमा बसेर पोथीलाई बोलाउँछन्।
केही दिनपछि पोथीहरू आएर भालेले बनाएका गुँड निरीक्षण गर्छन्। जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भालेका गुँड रोज्दछन् ।
काठमाडौं वरपर भेटिएका चराहरुको गुँड हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४