सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्णाली प्रदेशमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मंसिर १६ गते प्रधानमन्त्रीबाट हुने प्रतियोगिताको उद्घाटन समारोहदेखि खेल सञ्चालन अवधिभरको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा प्रदेश सुरक्षा समितिको बैठक बसेको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को टोली सहभागी छन।
बैठकमा प्रतियोगिताको उद्घाटन समारोहको सुरक्षा, खेलस्थलको निगरानी, खेलाडी तथा प्रशिक्षकको आवास र आवतजावत, विशिष्ट पाहुनाको सुरक्षा, दर्शक व्यवस्थापन तथा ट्राफिक नियन्त्रणलगायत विषयमा छलफल भएको थियो। प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी त्यसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे पनि समीक्षा गरिएको थियो।
प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। प्रदेशमा उपलब्ध सुरक्षाकर्मीमध्ये करिब ७० प्रतिशत जनशक्ति प्रतियोगिताको सुरक्षामा खटाउने तयारी छ। आवश्यक परे परिचालन गर्न रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिनेछ।
प्रतियोगिताका १५ खेलस्थलमा सीसीटीभी क्यामेरामार्फत निगरानी गरिनेछ। खेलस्थलमा सुरक्षा जाँच, नियमित गस्ती तथा निगरानीका लागि छुट्टाछुट्टै टोली परिचालन गरिनेछ। त्यस्तै, विशिष्ट पाहुनाको सुरक्षा, एस्कर्टिङ, होटल गार्ड र खेलाडी बसोबास गर्ने स्थानको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइनेछ।
मंसिर १६ गते प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाको उपस्थितिमा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले रंगशालाको प्रवेश तथा निकास मार्ग, दर्शकको चाप, पार्किङ र आसपासको ट्राफिक व्यवस्थापनलाई पनि सुरक्षा योजनामा समेटिएको छ।
बैठकले प्रतियोगिताको अवधिभर सुरक्षा निकायबीच नियमित समन्वय र सूचना आदानप्रदान गर्दै आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने विषयलाई प्राथमिकता दिएको छ। खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, अतिथि र दर्शकले निर्धक्क रूपमा प्रतियोगितामा सहभागी हुन पाउने वातावरण निर्माण गर्नु सुरक्षा व्यवस्थापनको मुख्य उद्देश्य रहेको छ।
कर्णालीमा पहिलोपटक आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन्। खेलकुदको भव्य आयोजनासँगै शान्ति सुरक्षा कायम राख्न प्रदेश सरकार र सुरक्षा निकायले तयारीलाई तीव्रता दिएका छन्।