सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन्। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।
प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए।
त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन्। मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन्।
३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ।
फ्लडलाइटदेखि कभर्डहलसम्मका योजना
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुदका क्रममा कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइटको आवश्यकता महसुस भएको बताएका छन्। रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने गरी रङ्गशालामा फ्लडलाइट जडान गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।
चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। त्यसका लागि प्राविधिक टोलीसमेत रङ्गशालामा पुगिसकेको उनले बताए।
‘चालु आर्थिक वर्षमै नेपाल सरकारको सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढेको छ। आजै प्राविधिकहरू पनि यस रङ्गशालामा आइपुग्नुभएको छ,’ उनले भने।
मेहताले कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना पनि सार्वजनिक गरे। त्यसका लागि जग्गा खोजी भइरहेको र स्थानीय सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको उनले बताए।
‘कभर्डहल निर्माणका लागि पनि जग्गाको खोजी भइरहेको छ। स्थानीयस्तरमा नगरप्रमुखसँग र यहाँको सरकारसँग मैले जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छु। त्यसमा पनि जग्गा प्राप्त हुने अवस्था भइसकेको छ,’ उनले भने।
उनका अनुसार जग्गा प्राप्त भएपछि कभर्डहल निर्माणका लागि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिनेछ।
त्यसैगरी क्रिकेट रङ्गशाला निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले जानकारी दिए।
उक्त बजेट क्रिकेट रङ्गशालाको संरचना निर्माण तथा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न खर्च गरिने उनको भनाइ छ। यसका लागि पनि सहरी विकास मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने प्रयास भइरहेको उनले बताए।
कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश खेल सुर्खेतमा सञ्चालन भइरहेका छन्।
पूर्वाधार अभावका कारण केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि आयोजना गरिएका छन्। प्रतियोगिताका विभिन्न खेल अन्य जिल्लाका खेलस्थलमा समेत सञ्चालन भइरहेका छन्।
प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा कर्णालीका विभिन्न जिल्लाको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ। प्रतियोगिताले कर्णालीमा खेलकुदको विकास र खेल पूर्वाधार विस्तारका लागि अवसर सिर्जना गरेको छ।
प्रतियोगिताका क्रममा देखिएका पूर्वाधारका आवश्यकता सम्बोधन गर्न फ्लडलाइट, कभर्डहल र क्रिकेट रङ्गशाला निर्माणका योजना अघि बढाइएको परिषद्का सदस्यसचिव मेहताले बताएका छन्।