बिहीबार, मंसिर १०, २०८३

१० औँ राष्ट्रिय खेलकुद : फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

सुर्खेत- १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ । बिहीबार भएको समूह चरणको दोस्रो खेलमा गण्डकी प्रदेशसँग ५–० गोलअन्तरले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो ।

Machhapuchchhre

प्रतियोगितामा टिकिरहन जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णालीले गण्डकीविरुद्ध कमजोर प्रदर्शन ग¥यो । यससँगै कर्णाली जारी प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ ।

यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा पराजय भोगेपछि कर्णालीको पुरुष फुटबलतर्फको यात्रा लिग चरणमै टुंगिएको हो ।

बिहीबारको खेलमा गण्डकीले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १६ औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए । त्यसपछि आशिष गुरुङले २५ औँ र ३३ औँ मिनेटमा लगातार दुई गोल थप्दै गण्डकीको अग्रता ३–० बनाए ।

दोस्रो हाफमा पनि गण्डकीले आक्रामक खेल जारी राख्यो । खेलको ५७ औँ मिनेटमा सुदीप गुरुङले चौथो गोल गरे । निर्धारित समयपछि थपिएको चार मिनेटमा टेकराज गुरुङले अर्को गोल गरेपछि गण्डकी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

खेलमा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

यसैबीच, बिहीबार दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: Nov 26, 2026| 12:23 बिहीबार, मंसिर १०, २०८३