बिहीबार, मंसिर १०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलोपटक कर्णालीमा राष्ट्रिय खेलकुद : भव्य आयोजनाको उत्साह, पदक जित्ने दबाब

पहिलोपटक कर्णालीमा राष्ट्रिय खेलकुद : भव्य आयोजनाको उत्साह, पदक जित्ने दबाब

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

सुर्खेत- कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षताको परीक्षा लिइरहेको छ ।

Machhapuchchhre

मंसिर ८ गतेदेखि विभिन्न खेल सुरु भइसकेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक गर्नेछन् प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ।

लामो प्रतीक्षापछि सुरु भएको प्रतियोगिता कर्णालीका लागि कला, संस्कृति, पर्यटन, पूर्वाधार र राष्ट्रियस्तरको आतिथ्य क्षमता देखाउने अवसर पनि हो।

तर घरेलु मैदानमा कर्णालीका खेलाडीको कमजोर सुरुआत, सबै खेल प्रदेशभित्र सञ्चालन गर्न नसकिनु र व्यवस्थापनका चुनौतीले आयोजक प्रदेशको ध्यान तानेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन्।

३२ खेलका ३८४ इभेन्टमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी १,३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । आयोजकका अनुसार करिब ७,२०० देखि ७,२६० खेलाडी सहभागी हुनेछन्।

खेलाडीको आवास, आवागमन र खेलस्थल व्यवस्थापन सहज बनाउन राखेपले औपचारिक उद्घाटनअघि नै खेल सञ्चालन गर्ने निर्णय गरेको छ।

मंसिर ८ देखि पौडी, पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलसहितका खेल सुरु भएका छन्। उद्घाटनअघि कुल १० खेलका प्रतिस्पर्धा गराउने तयारी छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताका अनुसार ठूलो संख्याका खेलाडीलाई एकैपटक व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रतियोगिता चरणबद्ध रूपमा चलाइएको हो। उद्घाटन अघि धेरै खेल सकिँदा खेलाडीको बसोबास र प्रशासनिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

पटकपटक मिति सरेको प्रतियोगिताको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले तोकेको थियो। यसपटक तोकिएकै समयमा प्रतियोगिता सुरु हुनुलाई आयोजकले ठूलो उपलब्धि मानेका छन्। राखेपले खरिद, खेलस्थल, प्राविधिक र प्रशासनिक तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेको थियो।

रंगशाला मुख्य आकर्षण

वीरेन्द्रनगरमा बनेको कर्णाली प्रदेश रंगशाला यस आयोजनाको मुख्य आकर्षण हो। करिब १० हजार दर्शक क्षमताको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, आठ लेनको एथलेटिक्स ट्र्याक र बहुउद्देश्यीय खेल संरचना छन्। रु. १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागतमा बनेको यो रंगशाला उद्घाटन तथा समापन समारोहको मुख्य स्थल पनि हो।

प्रतियोगिता सुरु हुनुअघि नै निर्माण कम्पनीले रंगशाला प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको गौरवको यो संरचनालाई खेलकुदको विकास र उपयोगमा ल्याउनुपर्ने बताएका थिए।

रंगशाला बन्नु महत्वपूर्ण उपलब्धि भए पनि यसको दीर्घकालीन सञ्चालन, संरक्षण र नियमित उपयोग अर्को चुनौती हो। राष्ट्रिय खेलकुदपछि रंगशाला कसरी सक्रिय राख्ने, स्थानीय खेलाडीलाई प्रशिक्षणको अवसर कसरी दिने र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने बनाउने भन्नेबारे प्रदेश सरकारले स्पष्ट योजना बनाउनुपर्ने देखिन्छ।

उद्घाटनमा कर्णालीको संस्कृति

मंसिर १६ को उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउने तयारी भइरहेको छ। समारोहमा कर्णालीका १० वटै जिल्लाको मौलिक संस्कृति, भेषभूषा, परम्परागत नाचगान र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। राउटे समुदायको सांस्कृतिक पहिचानलाई पनि समेटिने छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार विभिन्न जिल्लाका प्रस्तुतिमार्फत प्रदेशको मौलिक पहिचान राष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको छ। देउडा, हुड्के नाच, लोकसंस्कृति र परम्परागत पोसाकले समारोहलाई विशेष बनाउने अपेक्षा छ। यसले खेलाडी, प्रशिक्षक, दर्शक र सञ्चारकर्मीलाई कर्णालीको सांस्कृतिक विविधता चिनाउनेछ।

यसबाहेक, दैलेखको पञ्चकोशी क्षेत्रमा सदियौँदेखि बलिरहेको प्राकृतिक ज्वालालाई ओलम्पिक टर्चसँग जोड्ने योजना पनि अघि सारिएको छ । राखेपले लुम्बिनीबाट ल्याइएको ओलम्पिक टर्चलाई दैलेखको ज्वालासँग मिसाएर सुर्खेत ल्याउने तयारी गरेको छ। यसले दैलेखको धार्मिक तथा पर्यटकीय पहिचान राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

आवासदेखि सुरक्षासम्म प्रदेशको जिम्मेवारी

मूल आयोजक राखेप भएपनि कर्णाली प्रदेश सरकारले स्वास्थ्य, सुरक्षा, आवास, यातायात र खेलस्थल व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी लिएको छ। यसका लागि विभिन्न समिति तथा उपसमिति बनाइएका छन्।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक जनशक्तिको बसोबासका लागि सुर्खेतसहित विभिन्न जिल्लाका होटल व्यवस्थापन गरिएको छ। 

सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ । खेलस्थल, खेलाडीको आवागमन, दर्शकको भीड, ट्राफिक व्यवस्थापन र विशिष्ट पाहुनाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । विभिन्न खेलस्थलमा सीसीटीभीबाट निगरानी गर्ने योजना पनि छ।

मुख्यमन्त्री शाहीले सुरक्षा निकायबीच समन्वय, स्पष्ट जिम्मेवारी र एकीकृत सुरक्षा योजना आवश्यक रहेको बताए । उनले बजेट तथा व्यवस्थापनका विषयमा सम्बन्धित निकायलाई स्पष्ट विवरणसहित काम गर्न निर्देशन दिएका छन्। 

रंगशालाको क्षमताभन्दा बढी दर्शक प्रवेश नगराउने, प्रवेश पास व्यवस्थित गर्ने र उद्घाटन तथा समापन समारोह अन्य स्थानबाट पनि हेर्न सकिने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्। प्रतियोगिता सफल बनाउन प्रदेश सरकार जिम्मेवार रहेको उनको भनाइ छ ।

सबै खेल कर्णालीमा नहुनु पूर्वाधारको सीमा

कर्णालीमा राष्ट्रिय खेलकुद हुनु आफैँमा उपलब्धि भए पनि सबै खेल प्रदेशभित्र सञ्चालन गर्न सकिएको छैन। ३२ खेलमध्ये २३ सुर्खेतमा हुनेछन्। बाँकी खेल कर्णालीका अन्य जिल्ला र लुम्बिनी प्रदेशका बाँके र बर्दियामा हुँदैछन्।

दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन खेल रहेका छन् । पौडी र टेनिसलगायतका खेल बाँके र बर्दियामा भइरहेका छन् ।

पौडी, सुटिङजस्ता विशेष पूर्वाधार चाहिने खेलका लागि कर्णालीमा पर्याप्त संरचना नहुँदा केही खेल प्रदेशबाहिर लैजानुपरेको हो। यसले प्रदेशको खेल पूर्वाधार अझै विकास गर्नुपर्ने देखाउँछ।

कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दका अनुसार खेलस्थल र आवास व्यवस्थापनलाई ध्यानमा राखेर विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने योजना बनाइएको हो। खेल धेरै जिल्लासम्म पु¥याउँदा स्थानीय स्तरमा खेलकुद गतिविधि र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

घरेलु मैदानमा कमजोर सुरुआत

प्रारम्भिक नतिजाले आयोजक कर्णालीको प्रदर्शन कमजोर देखाएको छ । पहिलो दुई दिनमा पाँच खेलका प्रतिस्पर्धा हुँदा कर्णालीले चार खेलमा सहभागिता जनाएको थियो, तर अपेक्षित नतिजा निकाल्न सकेन।

महिला बास्केटबलमा कर्णाली नेपाल प्रहरीसँग ५२–१९ अंकले पराजित भयो। महिला क्रिकेटमा पनि कमजोर प्रदर्शन देखियो। पौडीमा कर्णाली पदकविहीन रह्यो भने बागमती प्रदेशले नौ स्वर्णसहित १९ पदक जितेर अग्रता लियो। प्रारम्भिक नतिजामा विभागीय टोली र बागमती प्रदेशको उपस्थिति बलियो देखिएको छ।

घरेलु मैदानमा दर्शकको समर्थन र परिचित वातावरणको फाइदा लिन सकिने अपेक्षा भए पनि पदकका लागि खेलाडीले अझै कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। प्रतियोगिता आयोजना गर्ने क्षमता र पदक जित्ने खेल क्षमता फरक कुरा हुन् भन्ने यसले देखाएको छ।

७२ करोडसम्म खर्च हुने अनुमान, पदक विजेतालाई नगद पुरस्कार

राखेपले प्रतियोगिता सञ्चालनका लागि ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ। तर खेलाडी संख्या, खेलस्थल, आवास, यातायात, प्राविधिक जनशक्ति र उद्घाटन तथा समापन समारोहका कारण खर्च ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने राखेपले जनाएको छ। यसपटक पदक विजेतालाई नगद पुरस्कार दिइनेछ। रजत र कांस्य विजेतालाई समेत नगद दिने व्यवस्था यस संस्करणको नयाँ विशेषता हो।

अवसरसँगै दीर्घकालीन उपलब्धिको प्रश्न

दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि ऐतिहासिक अवसर हो। यसले खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता प्रदर्शन, स्थानीय व्यवसाय प्रवद्र्धन र पर्यटन विकासमा योगदान दिन सक्छ। विभिन्न जिल्लामा खेल हुँदा होटल, यातायात, खानपान र स्थानीय व्यापारमा आर्थिक गतिविधि बढ्ने अपेक्षा छ।

तर प्रतियोगिताको सफलता उद्घाटन समारोह कति भव्य भयो भन्नेमा मात्र निर्भर हुँदैन। खेलाडीले पाएको सुविधा, खेल सञ्चालनको समयतालिका, खेलस्थलको अवस्था, निर्णायकको निष्पक्षता, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन र दर्शकको सहभागिता पनि उत्तिकै महत्वपूर्ण छन्।

दीर्घकालीन लाभका लागि कर्णालीले खेल पूर्वाधारको संरक्षण, खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रशिक्षकको व्यवस्था र जिल्लास्तरमा खेलकुद गतिविधि विस्तार गर्नुपर्नेछ। रंगशालालाई प्रतियोगितापछि प्रयोगविहीन हुन नदिई स्थानीय खेलाडीको नियमित अभ्यासस्थल बनाउने जिम्मेवारी पनि प्रदेश सरकारकै हो।

मुख्यमन्त्री शाहीले प्रतियोगितालाई प्रदेशको प्रतिष्ठासँग जोडेर सफल बनाउनुपर्ने बताउँदै आएका छन्। राखेपका सदस्यसचिव मेहताले पनि तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै निकायबीचको समन्वय र व्यवस्थापकीय क्षमताले प्रतियोगिताको अन्तिम सफलता निर्धारण गर्नेछ।

सबै खेल आफ्नै प्रदेशमा गर्न नसक्नु र घरेलु मैदानमा सुरुका पदक प्रदर्शन कमजोर हुनु आयोजकका लागि चुनौती बनेका छन्। त्यसैले दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता सम्पन्न गर्ने मात्र होइन, खेलकुदको भविष्य निर्माण गर्ने अवसर र आफ्नो क्षमता प्रमाणित गर्ने प्रतिष्ठाको परीक्षा पनि हो।  

प्रकाशित: Nov 26, 2026| 12:16 बिहीबार, मंसिर १०, २०८३