सर्लाही- सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुई तले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।
आगलागी हुँदा घरधनी बलको परिवार खेतमा काम गर्न गएको र घरमा कोही पनि नभएको बताइएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट नागरिकता, विवाह दर्ता, जन्म दर्ता तथा पासपोर्टलगायतका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन्।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। घटना स्थल विकट चुरेक्षेत्र भएका कारण घटनाबारे इलाका प्रहरी कार्यालय कर्मैयामा सोमबार साझ जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।