सोमबार, मंसिर ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

 |  सोमबार, मंसिर ७, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ७, २०८३

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्।

Machhapuchchhre

गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो।

नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले अस्पतालभित्रै विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।

प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

यसैबीच, थप उपचारका लागि सिमालाई राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पु¥याइएकोमा चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन्।

त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको छ।

अस्पतालमा तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 23, 2026| 12:10 सोमबार, मंसिर ७, २०८३