सिरहा- सिरहामा ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर ५ गते राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ज १ त ८३११ नम्बरको ट्र्याक्टरलाई शंका लागेर प्रहरीले रोकेको थियो।
चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स र टेलरमा फल्स बटम बनाई प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्लास्टिकसहित ३६ पोका उक्त पदार्थको तौल गर्दा ७२ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्र्याक्टर चालक सिरहा नगरपालिका–१२ सारश्वर टोल निवासी अन्दाजी ३३ वर्षीय अनिलकुमार महतोलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका महतो र बरामद पदार्थलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।