बझाङ- बझाङले जिल्लाका ८ वटा स्थानीय तहलाई भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य रूपमा स्थानीय तहमै सञ्चालन गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई स्थानीय तहबाटै सञ्चालन गर्न कार्यालयले पत्राचार गरेको हो। जिल्लामा दुइ वटा भूमि प्रशासन कार्यालय भएकाले १२ स्थानीय तह मध्य ८ वटा पालिकामा मात्र पत्राचार गरीएको भूमि प्रशासन कार्यालय बझाङका कार्यालय प्रमुख कृष्ण बहादुर बोहराले बताए।
कार्यालयले जिल्लाका साइपाल गाउपालिका ,तल्कोट,मष्टा, जयपृथ्बी नगरपालिका, सुर्मा, खप्तड, छबिसपाथीभेरा गाउपालिका र बुङगल नगरपालिकाको साबिक दहबगर गाबिस हाल १ र २ नमबर वडामा पत्र पठाएको कार्यालय प्रमुख कृष्ण बहादुर बोहराले बताए।
मन्त्रालयको च.नं. ४३६, मिति २०८३÷०७÷१६ को पत्रअनुसार भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको पत्रमा उल्लेख छ। मन्त्रालयले एक महिनाभित्र उक्त सेवा सञ्चालन गरिसक्नुपर्ने भन्दै सूचना प्रकाशित गरेकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै स्थानीय तहलाई तोकिएको समयभित्र आवश्यक व्यवस्था मिलाउन भूमि प्रशासन कार्यालयले आग्रह गरेको हो।
त्यस्तै, सेवा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक सहजीकरण तथा समन्वयका लागि भूमि प्रशासन कार्यालयका नायब सुब्बा यज्ञ रतालालाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।