बिहीबार, मंसिर ३, २०८३

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुँदै

 |  बिहीबार, मंसिर ३, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ३, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिकाले यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ।

Machhapuchchhre

जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्यको थालनी गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार पत्रकार सम्मेलनमार्फत जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराउने तयारी गरिएको जानकारी दिए।

उनले भने, ‘जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहका प्रमुखदेखि युवा, विद्यार्थी, वैज्ञानिक, निजी क्षेत्र र नागरिक समाज एकै मञ्चमा राख्ने हामीले प्रयत्न गरेका छौँ।’

उनका अनुसार साताव्यापी कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा कार्यक्रमको थालनी गरिनेछ।

‘सहर केन्द्रित जलवायुका असर घटाउने सहरस्तरीय यो नेपालकै पहिलो प्रयास हो,’ उनले भने।

तीव्र सहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको कमी तथा फोहोरमैला व्यवस्थापनजस्ता पर्यावरणीय चुनौती सामना गरिरहेको छ। यी समस्या कुनै एउटा निकायको प्रयासबाट मात्रै समाधान गर्न नसकिने भएकाले तीनै तहका सरकार, समुदाय, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, विकास साझेदार, युवा, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको मानन्धरले बताए।

‘यस कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्ने मात्र नभई त्यसका असरको सामना गर्न तत्काल अवलम्बन गर्नुपर्ने कार्य तथा विज्ञानसम्मत क्रियाकलापलाई समुदायको सहभागितामा प्रारम्भ गर्ने लक्ष्य राखिएको छ,’ उनले भने।

सप्ताहको पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्वसँग उच्चस्तरीय संवाद र जनप्रतिनिधिहरूको राउन्ड टेबल आयोजना गरिनेछ। यसमा काठमाडौं उपत्यका तथा प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख, सरकारी निकायका विज्ञ र सरोकारवालाबीच सहरी उत्थानशीलता, जलवायु परिवर्तन तथा साझा प्राथमिकताका विषयमा छलफल हुनेछ।

दोस्रो दिन जलवायु वित्तमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ। जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गरिनेछ। यस अवसरमा महानगरपालिकाले लगानी आवश्यक भएका प्राथमिकताप्राप्त जलवायु परियोजना प्रस्तुत गर्नेछ।

तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम सञ्चालन हुनेछ। ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनर्भरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन गरिनेछ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा छलफल हुनेछ। स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहोरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन गरिनेछ। यसै दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ।

पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ। यसअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा सिर्जनात्मक सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ। विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधि पनि प्रदर्शन गरिनेछ।

यसै अवसरमा जलवायुका लागि बालबालिका भिडियो प्रतियोगिता आयोजना गरिएको छ। काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा काठमाडौं महानगरपालिकाको स्थायी ठेगाना भई हाल अन्यत्र अध्ययन गरिरहेका बालबालिकाले प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने ६० जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट १० जनालाई महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूतको उपाधिसमेत प्रदान गरिने मानन्धरले जानकारी दिए।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा कार्यक्रम केन्द्रित हुनेछ। सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ। यस दिन राष्ट्रिय जीन बैंक, खुमलटारलगायतका कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन, कृषकसँग अन्तरक्रिया र कौसी खेतीसम्बन्धी सिकाइ कार्यक्रम सञ्चालन हुनेछ।

सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल हुनेछ। जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रभाव तथा हिमाली क्षेत्रमा हुने क्षति र नोक्सानीका विषयमा पनि संवाद गरिनेछ।

प्रकाशित: Nov 19, 2026| 16:27 बिहीबार, मंसिर ३, २०८३