काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ। अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन् भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका छन्। सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हार र एक खेलमा नतिजाविहीन रहेर ११ अंक जोड्दै पहिलो स्थानमा रहन सफल भयो भने सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ।
काठमाडौं गोर्खाजले चार जित र तीन हारसहित आठ अंक जोडेर तेस्रो तथा चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंकसहित चौथो स्थानमा छ।
लुम्बिनीले प्रतियोगिताको सुरुवातमै नै सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर विजय यात्रा प्रारम्भ गरेको थियो। त्यसपछि पनि लगातार राम्रो प्रदर्शन गरेको लुम्बिनीले काठमाडौं गोर्खाजसँग ३६ रनको हार बेहोर्नुअघि अपराजित यात्रा कायम राखेको थियो। अन्तिम चरणमा विराटनगर किङ्गसलाई चार विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा पुग्यो।
सुदूरपश्चिम रोयल्सले पनि सुरुवाती हारपछि लय समात्दै दोस्रो स्थान सुरक्षित ग¥यो। कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन टोलीका लागि महत्वपूर्ण रह्यो। काठमाडौं गोर्खाजले मध्य चरणमा लगातार तीन खेल जित्दै प्लेअफको दाबेदारी बलियो बनाएको थियो। चितवन राइनोजले पनि उतारचढावपूर्ण प्रदर्शनका बाबजुद अन्तिम चारमा स्थान बनाउन सफल भयो।
नयाँ खेलाडीको उदय
तेस्रो संस्करणको पहिलो चरणअन्तर्गतका खेलहरुमा टिमको विजय वा पराजयलाई अलग राखेर समग्र खेलको विश्लेषण गर्ने हो भने नयाँ खेलाडीले आफ्ना प्रदर्शनका कारण दर्शकबाट निकै माया पाएका थिए। यसमका सबैभन्दा बढी चर्चा पाउनेमध्येका एक हुन् जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव। १६ वर्षीय राहुलले आफ्नो पहिलो एनपीएल सहभागितामै प्रभावशाली प्रदर्शन गरे। उनले सात खेलमा १२ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बनेर आफ्नो दम देखाएका छन्।
काठमाडौं गोर्खाजविरुद्ध ३१ रन दिएर चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो। जनकपुरको समग्र प्रदर्शन कमजोर रहेपनि राहुलको बलिङले नेपाली क्रिकेटमा नयाँ सम्भावना देखाएको छ।
यस्तै, चितवन राइनोजका रिजन ढकाल, कमल सिंह ऐरी र काठमाडौं गोर्खाजका जहानदाद खानले पनि १२÷१२ विकेट लिए। यी खेलाडीको प्रदर्शनले यसपटक एनपीएलमा स्थापित नामसँगै आफूहरुको सम्भावना प्रमाणित गरेका छन र विदेशी खेलाडी सामु नेपाली खेलाडीपनि कम छैनन भन्ने देखाएका छन्।
सन्दीपको ह्याट्रिक
तेस्रो संस्करणको सबैभन्दा स्मरणीय प्रदर्शन व्यक्तिगत प्रदर्शनमध्ये एक रह्यो विराटनगर किङ्गसका कप्तान सन्दीप लामिछानेको ह्याट्रिक। पोखरा एभेन्जर्सविरुद्ध उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। सोही खेलमा उनले लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। उनको उत्कृष्ट बलिङकै कारण पोखरा १३२ रनमा समेटियो र विराटनगरले चार विकेटको जित निकाल्यो।
त्यसैगरी व्यक्तिगत प्रदर्शनकै हिसाबले पनि तेस्रो संस्करणमा केही खेलाडीले राम्रो प्रभाव छाड्न सफल भए। पोखरा एभेन्जर्सका युवा विदेशी ब्याटर युवराज सामराले कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रन बनाउँदै शतक पूरा गरे।
उनले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरेका थिए। प्रतियोगिताको अन्तिम लिग खेलमा पनि कुशल भुर्तेल र युवराज सामराले दोस्रो विकेटका लागि १८६ रनकै साझेदारी गरेपछि पोखराले काठमाडौंविरुद्ध २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनायो। यो एनपीएलको अहिलेसम्मकै उच्च योगफल बन्यो। पोखराले उक्त खेल ५५ रनले जित्यो। उक्त खेलमा भुर्तेलले ५१ बलमा व्यक्तिगत ९९ रन जोडे भने समाराले पनि ५५ बलमा ८९ रन जोड्न सफल भए। तर अघिल्ला खेलमा निराशाजनक प्रर्दशनका गरेका कारण पोखराले खेल जितेपनि प्रतियोगिताबाट भने बाहिरिनुपर्यो।
विदेशी खेलाडीको प्रदर्शन पनि प्रतियोगितामा चर्चामा रह्यो। काठमाडौं गोर्खाजका डेभिड वार्नरले लुम्बिनीविरुद्ध ६६ रन बनाएका थिए। कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिमविरुद्ध ५५ बलमा अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। विराटनगर किङ्सका आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा प्रभाव देखाएका थिए।
अघिल्लो संस्करणको तुलनामा के कमजोर देखियो ?
अघिल्ला संस्करणको तुलनामा यसपटक नेपाली युवा खेलाडीको व्यक्तिगत प्रदर्शन र नयाँ प्रतिभाको उद्य सकारात्मक पक्ष रह्यो। तर, टोलीहरूको प्रदर्शनमा निरन्तरता भने चुनौतीका रूपमा देखियो। केही टोलीले एक खेलमा उत्कृष्ट ब्याटिङ गरे पनि अर्को खेलमा सामान्य योगफलमै समेटिए। यसले ब्याटिङमा स्थिरताको अभाव देखायो।
त्यस्तै, कीर्तिपुरको पिचको अवस्थालाई लिएर पनि प्रश्न उठे। कतिपय खेलमा ब्याटिङ गर्न कठिन देखिएको पिचमा कम योगफल बने। अर्कोतर्फ, केही खेलमा भने ठूलो योगफलसमेत बने। यसले प्रतियोगिताभरि पिचको एकरुपता र ब्याटिङका लागि अनुकूल वातावरणबारे बहस सिर्जना गर्यो।
लिग चरणमा केही खेल निकै प्रतिस्पर्धात्मक बने। कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध १८७ रनको लक्ष्य एक बल बाँकी रहँदा पूरा गरेको थियो। सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए। त्यस्तै, विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले हराएको खेल पनि रोमाञ्चक बनेको थियो। वर्षाका कारण केही खेल प्रभावित भए भने लुम्बिनी र चितवनबीचको एक खेल रद्द भएको थियो।
लिग चरणका खेल सकिएसँगै अब प्लेअफमा शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन्। त्यसको विजेता सिधै फाइनलमा पुग्नेछ। तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको चितवन राइनोजबीच एलिमिनेटर खेल हुनेछ। एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायर भोली मंगलबार, एलिमिनेटर बुधबार हुनेछ। दोस्रो क्वालिफायर बिहीबार तथा फाइनल शनिबार हुने तालिका छ।