आइतबार, कात्तिक २९, २०८३

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो

 |  आइतबार, कात्तिक २९, २०८३

दानबहादुर बुढा

दानबहादुर बुढा

आइतबार, कात्तिक २९, २०८३

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

Machhapuchchhre

आइतबार साँझ करिब ४ः४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनापछि उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएका तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

जिप चालक ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित प्रहरी सुरक्षा गार्डबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलबाट मृतक तथा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो।

उक्त जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। चालकले मादक पदार्थ सेवन गरे/नगरेको लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Nov 15, 2026| 19:47 आइतबार, कात्तिक २९, २०८३