शनिबार, कात्तिक २८, २०८३

नयाँ पुस्ताबीच आत्मीयता बढाउन गडसेरी युवा समाजको जमघट

 |  शनिबार, कात्तिक २८, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २८, २०८३

धनगढी । पुर्ख्यौली घर डोटी जिल्लाको गडसेरा भई हाल धनगढीमा बसोबास गर्दै आएका युवाहरूले पारिवारिक सम्बन्ध र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले आज पारिवारिक बनभोज कार्यक्रम आयोजना गरेका छन्।

Machhapuchchhre

गडसेराका शैलकोटिला, भुल्खेत, ज्युनेबस्ता, माणिखेत, धौलाकाणा र भामगाउँ पुर्ख्यौली थलो भएका भट्ट, भण्डारी, ओझा र खडायत परिवारका युवाहरूको सामूहिक पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको परिकल्पना सुभाष चन्द्र भण्डारीले गरेका थिए भने कार्यक्रम संयोजन पुष्पराज भट्टले गरेका थिए।

पछिल्लो समय एउटै पुर्ख्यौली थलो र पारिवारिक पृष्ठभूमि भएका युवापुस्तासमेत कामको सिलसिलामा घरबाहिर रहने, व्यस्त जीवनशैलीका कारण एकअर्कासँग परिचित हुन नपाउने तथा एउटै परिवारका सदस्यहरूबीच समेत चिनजान र घनिष्ठता कम हुँदै जाने अवस्था देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै नयाँ पुस्ताबीचको दूरी घटाउने, पारिवारिक चिनजान विस्तार गर्ने र आपसी आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा मौलिक डोटेली परिकार बटुक र डुप्कालगायतका परिकार तयार गरी सहभागीहरूले सामूहिक रूपमा भोजन गरेका थिए। साथै, बालबालिका र युवाहरूका लागि छुट्टाछुट्टै मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएका थिए। म्युजिकल चेयर, घैँटो फोड, बटुक दौड र बेलुन रेसलगायतका खेलहरूले कार्यक्रमलाई थप रोचक र मनोरञ्जनात्मक बनाएका थिए।

यस्ता पारिवारिक जमघट तथा बनभोज कार्यक्रम केवल मनोरञ्जन र खानपिनमा मात्र सीमित हुँदैनन्। यिनले परिवारका सदस्यहरूबीच आपसी चिनजान, सद्भाव, सहयोग र विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छन्। विशेषगरी बालबालिका र युवा पुस्ताले आफ्ना पुर्ख्यौली थलो, पारिवारिक इतिहास, नाता सम्बन्ध, मौलिक संस्कृति र परम्पराबारे बुझ्ने अवसर प्राप्त गर्छन्।

त्यसैगरी, नयाँ पुस्ताबीच मित्रता र सहकार्यको भावना विकास हुनुका साथै सुखदुःखमा एकअर्कालाई साथ दिने सामाजिक सम्बन्धको आधारसमेत तयार हुन्छ। आजको व्यस्त र प्रविधिमैत्री जीवनशैलीमा परिवारका सदस्यहरूलाई मोबाइल र सामाजिक सञ्जालभन्दा बाहिर प्रत्यक्ष भेटघाट, संवाद र सामूहिक गतिविधिमा जोड्ने यस्ता कार्यक्रमको महत्व अझ बढ्दै गएको छ।

यस्ता कार्यक्रमले पुस्तान्तरण हुँदै आएको पारिवारिक सम्बन्ध र पुर्ख्यौली पहिचानलाई जीवन्त राख्न, बालबालिकामा पारिवारिक संस्कार र अपनत्वको भावना विकास गर्न तथा समाजमा एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रम संयोजक पुष्पराज भट्टले आगामी दिनमा पनि हरेक वर्ष यस्ता पारिवारिक जमघट तथा बनभोज कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभएको छ।
बालबालिका तथा युवायुवतीसहित ६० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमले गडसेरी परिवारबीच आपसी चिनजान, आत्मीयता र एकताको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: Nov 14, 2026| 19:13 शनिबार, कात्तिक २८, २०८३