विराटनगर- मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बुको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ फेला परेको हो।
स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ र शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए।
विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्।
मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरी उपरीक्षक कटवालले बताए।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।