जनकपुर- छठपर्व विधिवत आजबाट सुरु भएको छ। आज पर्वको प्रारम्भ गर्दै बर्तालुले ‘नहाय–खाय’ विधि गर्दैछन्।
आज बर्तालुले पोखरी वा जलाशयमा पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ुनहाय–खायु भन्ने गरिन्छ।
आज ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि दिनभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
त्यसपछि पर्सी (तेस्रो दिन) निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ।
यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली भोली पल्ट (अन्तिम दिन) बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ।
मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ। पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ। यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ।