काठमाडौं । कञ्चनपुरका प्रसिद्ध फोटोग्राफर डीपी भट्टले आफ्नो जन्मदिन यस वर्ष पनि रक्तदान गरेर मनाएका छन्। उनले आफूसहित अन्य १० जना साथीहरूसँगै नेपाल रेडक्रसलाई रक्तदान गरेर जन्मदिन मनाएका हुन्।
भट्टले २९ वसन्त पार गरी तीसौँ वर्षमा प्रवेश गरेका छन्। प्रत्येक वर्ष जन्मदिनको अवसर पारेर उनी विभिन्न सामाजिक काम गर्दै आइरहेका छन्। मुख्यतः रक्तदान गरेर नै जन्मदिन मनाउने उनको परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ।
सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सक्रिय भट्टले यहाँका विभिन्न प्रसिद्ध ठाउँहरूलाई क्यामरामा कैद गर्दै संसारसामु चिनाउने काम गर्दै आइरहेका छन्। आँखाभन्दा टाढा रहेका प्रसिद्ध तीर्थस्थल तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि उनी निरन्तर क्रियाशील छन्।
भट्ट विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन्। उनी पावर अफ युथ कञ्चनपुर र दाह्री ग्याङमा आबद्ध रही सामाजिक कार्यमा सक्रिय छन्। प्रत्येक वर्ष जन्मदिनको अवसरमा विभिन्न युवाहरूलाई एकीकृत गर्दै सामाजिक काम गर्ने उनको अभियानले युवाहरूमा सकारात्मक सन्देश फैलाउँदै आएको छ।
आफ्नो जन्मदिन ठूलो भोज वा तडकभडक गरेर मनाउनुभन्दा जन्मेपछि आफ्नो जन्मदिन समाजका लागि फलदायी होस् भन्ने चाहना रहेको भट्ट बताउँछन्।