सुनसरी- सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी ६ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन्।
त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्।
घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।