काठमाडौं- गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बाढीले बगाएको छ।
गत असोज २५ गते बिहान चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको थियो। खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएपछि पुल बगाएको प्रहरीले जनाएको छ। पुल बगाएसँगै उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ः४० बजे माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
प्रहरीले बिहीबार बिहान सूचना सार्वजनिक गर्दै दुवै सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।