मंगलबार, कात्तिक २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • साहित्य चौतारीको सडक देउसी : दुई दशकदेखि साहित्य र संस्कृतिको संरक्षणमा निरन्तरता

साहित्य चौतारीको सडक देउसी : दुई दशकदेखि साहित्य र संस्कृतिको संरक्षणमा निरन्तरता

 |  मंगलबार, कात्तिक २४, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २४, २०८३

झापा। शुभ दीपावलीको सांस्कृतिक रौनकसँगै साहित्य, संगीत र सिर्जनालाई सडकमा जोड्दै आएको साहित्य चौतारी झापाले यस वर्ष पनि परम्परागत दक्षिणा रहित सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ।

Machhapuchchhre

साहित्य चौतारी झापाले वरिष्ठ संगीतकार डा. टीका भण्डारीको विशेष आतिथ्यतामा बिर्तामोडमा सडक देउसी–भैलो कार्यक्रम आयोजना गरेको हो। साहित्य र संगीत क्षेत्रका सर्जक, साहित्यकार तथा गायकहरूको सहभागितामा आयोजित कार्यक्रमले तिहारको सांस्कृतिक उत्सवसँगै नेपाली मौलिक कला र परम्पराको संरक्षणमा जोड दिएको थियो।

साहित्य चौतारीले बिर्तामोडको मुक्तिचोकबाट सुरु गरेको देउसी–भैलो टोलीले बीएण्डसी मेडिकल कलेज हुँदै एसियन हाइवेको इलाका प्रहरी कार्यालय आसपासका क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा सहभागी साहित्यकार तथा कलाकारले देउसी–भैलोमार्फत नेपाली मौलिक संस्कृति, साहित्य र संगीतको महत्व उजागर गरेका थिए।

साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठको अगुवाइमा विगत दुई दशकदेखि निरन्तर सडक देउसी–भैलो कार्यक्रम आयोजना हुँदै आएको छ। परम्परागत देउसी–भैलोलाई केवल मनोरञ्जनमा सीमित नराखी साहित्य, संगीत र सामाजिक सद्भावसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निरन्तरता पाउँदै आएको हो।

साहित्य चौतारीले साहित्यिक तथा सांगीतिक सिर्जनाको प्रवद्र्धन, सर्जकबीच आपसी सम्बन्ध विस्तार र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणलाई आफ्नो गतिविधिको महत्वपूर्ण पक्ष बनाउँदै आएको छ। साहित्यकार, गीतकार, संगीतकार तथा गायकहरूलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले नयाँ पुस्तालाई समेत साहित्य र सिर्जनात्मक क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी तिहारका अवसरमा आयोजना गरिने सडक देउसी–भैलो साहित्य चौतारीको पहिचानसँग जोडिएको सांस्कृतिक अभियानका रूपमा स्थापित हुँदै गएको छ। दुई दशकसम्म निरन्तरता पाउनु यस अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ।

पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यमको प्रभाव बढ्दै जाँदा परम्परागत सांस्कृतिक अभ्यास ओझेलमा पर्न थालेको अवस्थामा साहित्य चौतारीको यस्तो प्रयासले मौलिक संस्कृति र पुस्तान्तरणको महत्वलाई समेत स्मरण गराएको छ।

साहित्य र संगीतलाई समाजसँग जोड्दै सडकबाटै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने साहित्य चौतारीको यो अभियानले स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिमा छुट्टै पहिचान बनाएको छ।

प्रकाशित: Nov 10, 2026| 21:00 मंगलबार, कात्तिक २४, २०८३