मुगु। मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानी तर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा जिपमा सवार १२ जना मध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक मुगुको खत्याड गाउँपालिका–७ निवासी २९ वर्षीय उपेन्द्र परियार रहेका छन्। उनको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ।
त्यस्तै, सोरु गाउँपालिका–९ कालै निवासी १९ वर्षीय गणेश ऐडीको टाउको र निधारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सोही ठाउँकी १६ वर्षीया निर्मला ऐडीको कुम र छातीमा चोट लागेको छ भने १७ वर्षीया करिस्मा ऐडीको कम्मर र छातीमा चोट लागेको छ।
त्यसैगरी, १९ वर्षीय अन्तिम योगीको टाउको र बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कायालय मुयुका डिएसपी रबिराज थपलियाले जानकारी गराएका छन्।
दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोली दिउँसो १ः३५ बजे घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
घाइते पाँचै जनालाई उपचारका लागि सिप स्थित जिमा स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र उनले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटना पछि सडक अवरुद्ध नभएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी सोरुबर्माले जनाएको छ।