सोमबार, कात्तिक २३, २०८३

तिहारमा पनि रोकिएन विदेशिनेको लर्को

 |  सोमबार, कात्तिक २३, २०८३

मनिषा बस्नेत

मनिषा बस्नेत

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेटिएका राकेश परियारको अनुहारमा खुसी देखिएको थिएन। यद्यपी, उनमा विदेश जाने उत्साह भने थियो। 

Machhapuchchhre

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) गइरहेका परियार भाइटिकाको पूर्वसन्ध्यामा विदेश जाने बाध्यताका कारण दुःखी देखिन्थे। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले तिहारको दिन विदेशिनुपर्दा दुःख लागेको बताउँदै पढाइ सकिएपछि रोजगारीको लागि विदेश जाने निर्णय गरेको बताए।

‘दुःख लागेको छ, तिहारको दिन जान परेको छ। पढाइ सकिएपछि अब जाउँ जस्तो लागेर जान लागेको छु,’ उनले भने। 

रोजगारीका लागि विदेश जानेमा परियार मात्र छैनन् परियार जस्ता नेपालीको लर्को नै लागेको छ। नेपालीको महान् चाड तिहारको तेस्रो दिन पनि विदेशिने नेपालीहरूको लर्को रोकिएको देखिएन। विमानस्थलमा देखिएको त्यही लर्कोको एक पात्र हुन् परियार।

वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि सोमबारसमेत विदेशिनेहरूको चहलपहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य भावुक बनेको थियो।

चाडपर्वको समयमा परिवार र आफन्तसँग रमाइलो गर्दै तिहार मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र अध्ययनका लागि विदेशिनुपर्ने धेरै नेपालीको बाध्यता छ।

तिहारको उल्लासमय समयमा विमानस्थलमा देखिएका यस्ता दृश्यले परदेशिने नेपाली र उनीहरूका परिवारको भावनात्मक अवस्थालाई झल्काएको छ।

विमानस्थल प्रशासनका अनुसार चाडपर्वका बेलामा विदेशिने नेपालीको संख्यामा थोरै कमी आएको जस्तो देखिए पनि बन्द नै भएको छैन। यस चाडपर्वको बेलामा पनि अध्ययन रोजगारी र अन्य व्यक्तिगत प्रयोजनका लागि नेपालीहरु विदेश गइरहेका छन्। 

प्रकाशित: Nov 09, 2026| 17:14 सोमबार, कात्तिक २३, २०८३