सोमबार, कात्तिक २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्राकृतिक विपद्का बीच लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग व्यवस्थापन, ५८७ मेगावाट निर्यात

प्राकृतिक विपद्का बीच लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग व्यवस्थापन, ५८७ मेगावाट निर्यात

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं- प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ।

Machhapuchchhre

आन्तरिक माग पूरा गरी भारततर्फ ५८७.३० मेगावाट विद्युत्समेत निर्यात गरिएको छ।

प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। 

सो समयमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युत्को उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन्।

मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका अधिकारीसहित भार प्रेषण केन्द्र पुगेर विद्युत्को माग र आपूर्तिबारे जानकारी लिएका थिए। उनले विगत तीन वर्षको लक्ष्मीपूजाको माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए।

उनले विद्युत्को सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि खटिने कर्मचारीको योगदानको प्रशंसा गरे। आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन प्रतिबद्धताका साथ काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो।

प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण थियो।

प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट र २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो। त्यस्तै, काठमाडौँ उपत्यकाको विद्युत् माग यस वर्ष ४८९ मेगावाट पुगेको छ। गत वर्ष यो माग ४०२ मेगावाट थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणाली अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको थियो। कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए।

प्रकाशित: Nov 09, 2026| 11:03 सोमबार, कात्तिक २३, २०८३