हुम्ला- हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाभित्र रहेका १६०० सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
चिसोको सिजन सुरु भएसँगै वार्म नेस्ट फाउन्डेसनको सहयोगमा पालिका भित्रका १२ वटा सामुदायिक विद्यालयका एक हजार, छ सय छात्रछात्रालाई ज्याकेट, मोजा, जुत्ता सहयोग गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए।
अध्यक्ष भण्डारीका अनुसार, कर्मफ्लाइट्स फाउन्डेसन, सिमकोट गाउँपालिका र वार्म नेस्ट फाउन्डेसनको सहकार्यमा यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई चिसोबाट बच्नका लाथि न्यानो कपडा सहयोग गरिएको हो।
अध्यक्ष भण्डारीले भने, ‘जिल्लामा तापक्रम माइनसमा झरेको छ, जाडोयाम बढ्दै गएको हुनाले बालबालिकालाई न्यानो र सुरक्षित राख्ने उद्देश्यले हामीले न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेका हौं।’
हिमाली क्षेत्रको कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिकालाई जोगाउँदै उनीहरूको स्वास्थ्य, सहजता र नियमित पठनपाठनमा सहयोग पुर्याउनु नै मुख्य उद्देश्य भएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए।
न्यानो पोशाक सहयोगले बालबालिकाहरुको अनुहारमा देखिएको खुसी र उत्साहले यस अभियानको महत्वलाई अझ बढी महत्त्व झल्काएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले बताइन्।
यस अभियानलाई सम्भव बनाउन सहयोग गर्ने वार्म नेस्ट फाउन्डेसनप्रति हार्दिक आभार व्यक्त गरिएको छ। साथै, यस अभियानमा सिमकोट गाउँपालिकाको निरन्तर सहकार्य, समन्वय र बालबालिकाको हितप्रतिको प्रतिबद्धता रहने उपाध्यक्ष रोकायाले बताइन्।
विद्यार्थीलाई चिसोबाट बचाउन र विद्यालयमा नियमित उपस्थितिदर वृद्धि गर्नका लागि उक्त सहयोग गरिएको हो।
वार्म नेस्ट फाउन्डेसनको आर्थिक सहयोगमा नेपाली उद्योगमा तयार भएका न्यानो कपडा यस गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको हो। मुख्यगरी गाउँपालिकाले माग गरेको सहयोगअनुसार उक्त सहयोग हुम्लामा पुगेको बताइएको छ।
यसका लागि २५ लाख रुपैयाँ वार्म नेष्ट फाउन्डेसनले लागत बेहोरेको छ भने पाँच लाख रुपैयाँ सिमकोट गाउँपालिकाले लागत बेहोरेको छ।
गाउँपालिका भित्र रहेका रामदेव, पञ्चमुखी, रलिङ्ग, कालाशिल्ता, भिमशेन, कैलाश, सनसाइन लगायत १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको हो।
