चितवन- चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणमा परी बेपत्ता भएका स्थानीय ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो।
गत सोमबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी लगेको थियो। उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा घटनाबारे जानकारी गराएका थिए।
घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी र वनका कर्मचारीको संयुक्त टोलीले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा मंगलबार बिहान १०ः५५ बजे निकुञ्जभित्र महतोको शव फेला परेको हो।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।